मजदुर हडताल देखाएर हायात होटल बन्द

सुरज कुँवर

काठमाडौँ — श्रम ऐन पालनालगायत माग राख्दै मजदुरले आन्दोलन थालेपछि बौद्धस्थित पाँचतारे तारागाउँ (हायात) रिजेन्सी होटल बन्द गरिएको छ । तारागाउँका कम्पनी सचिव रमणकुमार कर्णले भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई आइतबार पत्राचार गर्दै होटल बन्द गरिएको जानकारी दिएका छन् ।


हायातमा रहेको अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघले बिहीबारदेखि सदस्य कामदारलाई भेला गराई धर्नालगायत कार्यक्रम राखेपछि व्यवस्थापनले अनिश्चितकालका लागि सेवा बन्द गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ । कम्पनी सचिवले लेखेको पत्रमा मजदुरहरूले जबर्जस्ती कामदारलाई साथमा लिई सम्पूर्ण सेवा र व्यवस्थापनको प्रशासनिक कामकारबाही अवरुद्ध गरेकाले अतिथिलाई सेवा–सुविधा पुर्‍याउन नसक्ने जनाएका छन् । उनले पत्रमा ‘होटलको रिजर्भेसनसमेत बन्द गर्न व्यवस्थापन बाध्य भएको’ उल्लेख गरेका छन् ।

अत्यावश्यक सेवा सञ्चालन ऐनअनुसार होटल हडताल निषेधित क्षेत्र भएको उल्लेख गर्दै तारागाउँले मजदुरको हडतालका कारण बन्द गर्नुपरेको जनाएको छ ।

आन्दोलनमा उत्रिएको संघका अध्यक्ष मुक्ति दाहालले होटल बन्द गर्ने व्यवस्थापनको निर्णय मजदुरका कारण नभई व्यवस्थापनको आन्तरिक मामिलाका कारण भएको दाबी गरे । आधिकारिक युनियनका अध्यक्ष दाहालले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छानबिनले अनियमितता भएको निष्कर्ष निकालेपछि व्यवस्थापनले सरकारसँग तुसका कारण होटल बन्द गरेको दाबी गरे । ‘अख्तियार र सरकारले एकैसाथ छानबिन गरिरहेका छन्, बन्द राज्यको यही कदमसँग जोडिएको विषय हो,’ उनले कान्तिपुरसँग भने ।

श्रम तथा रोजगार कार्यालय, पर्यटन विभागलगायत दर्जन निकायलाई बोधार्थ दिइएको ट्रेड युनियनको मागपत्रले होटल व्यवस्थापनले श्रम ऐन, नियमावली तथा विगतमा गरिएका सामूहिक सम्झौतालगायत दर्जन विषय पालना नभएको उल्लेख गर्दै ती निकायलाई कार्यान्वयनका लागि पहल गराइदिन अनुरोध गरिएको छ ।

२ सय ९० कोठा भएको होटल बन्द गर्ने व्यवस्थापनको निर्णय सार्वजनिक भएपछि होटल व्यवसायीको छाता संगठन होटल संघ (हान) ले मजदुर र होटल सञ्चालकसँग समन्वय गरी सञ्चालन प्रयास गरिरहेको छ । हानका एक उच्च अधिकारीले होटल बन्द हुनुपर्ने कारण नभएको बताए । ‘मजदुर र व्यवस्थापनको द्वन्द्व ठूलो विषय होइन,’ ती पदाधिकारीले भने, ‘हाम्रो अध्ययनले व्यवस्थापनले अन्य कारणले होटल बन्द गर्ने निर्णय गरेको देखिन्छ ।’ उनका अनुसार हायातले सेवा बन्द गरेको विज्ञप्तिमार्फत सार्वजनिक गरे पनि यसका सञ्चालकमध्येका मुख्य सर्राफ समूहको दरबारमार्गस्थित याक एन्ड यती होटलमा अतिथिलाई सारिएको छ ।

यो होटल पर्यटन मन्त्रालयमातहत तारागाउँ विकास समितिको स्वामित्वमा रहेको ३ सय ४ रोपनीमध्ये १ सय ५० रोपनी जग्गा रजिस्ट्रेसन पास गरेर तथा १ सय ५४ रोपनी भाडामा लिएर सञ्चालन गरिएको छ । यसको स्वामित्वमा तारागाउँबाहेक निजी घरानाअन्तर्गत आईसीटीसी प्रालि, सर्राफ तथा श्रेष्ठ परिवारलगायत छन् । यी समूहले ०५१ मा गरेको जग्गा भाडा सम्झौताको अवधि ४९ वर्ष छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा सांसद अग्निप्रसाद सापकोटाको नेतृत्वमा गठित ५ सदस्यीय उपसमितिले चैतमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले जग्गा, लिज, सेयर र भवन निर्माणमा अनियमितता भएको ठहर गर्दै गैरकानुनी निर्णय सच्याउन सरकारलाई निर्देशन दिएको थियो । उसले अनियमितता छानबिन गरी संलग्नमाथि भ्रष्टाचार मुद्दा चलाउन अख्तियारलाई पनि निर्देशन दिइसकेको छ ।

त्यसताका उपसमितिलेमन्त्रिपरिषद्लाई १५० रोपनी जग्गा तत्काल सरकारका नाममा फिर्ता ल्याउनुपर्ने, १४८ रोपनी जग्गा हक हस्तान्तरणको सम्झौता रद्द गर्नुपर्ने, वैदेशिक लगानी ल्याउने क्रममा भएको निर्णय र प्रक्रियाबारे छानबिन गर्नुपर्ने भनेको थियो । त्यस्तै जग्गा गैरकानुनी रजिस्ट्रेसन पास गरिदिएको, जग्गा दिने गरी लिज सम्झौता गरेको, सरकारको ४० प्रतिशत सेयर ९ प्रतिशतमा झारेको, भवन निर्माणमा अस्वाभाविक खर्च गरेको, छुट्टाछुट्टै लेखापरीक्षण प्रतिवेदन बनाएको, घाटा देखाई सरकारलाई नोक्सानी र आफूलाई लाभ पुर्‍याएका विषयमा अनुसन्धान गर्न उपसमितिले अख्तियारलाई निर्देशन दिएको थियो ।

प्रकाशित : असार ३, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अछामबाट भारतीय प्रहरी नियन्त्रणमा

कान्तिपुर संवाददाता

अछाम — भारतको छत्तिसगढबाट खानतलासीका लागि आएका तीन जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । दुई महिनाअघि भागी विवाह गरेका किशोरकिशोरीलाई पक्राउ गर्न आएको भारतीय प्रहरी अधिकारी अशोक पाण्डे नेतृत्वको टोलीलाई जिल्ला प्रहरी कार्यालयमा निगरानीमा राखिएको छ । 

भारतको छत्तिसगढ राज्यको कोबार जिल्लाकी एक १५ वर्षीया किशोरीलाई अछामको बान्नीगढी जयगढ गाउँपालिका– ६ दर्नाका १९ वर्षीय केशव सोनीले भगाएर ल्याएका थिए । किशोरीको परिवारले छोरी खोजीको निवेदन दिएपछि छत्तिसगढ प्रहरी महानिरीक्षकले भारतको पञ्जाव, हरियाणा, उडिसा र अछाम (नेपाल) मा खानतलासी गर्न अनुमति दिएको थियो । त्यही अनुमतिका आधारमा पाण्डे नेतृत्वको टोली नेपालगन्जको रुपडिया नाका हुँदै अछाम पुगेको थियो ।

आइतबार अछाम आएको भारतीय प्रहरी टोली नेपाल प्रहरीलाई भेटी सोमबार बन्नीगढी जयगढ गाउँपालिकामा पुगेको थियो । त्यहाँबाट किशोरकिशोरीलाई पक्राउ गरी लैजान खोजेपछि मुद्दा गाउँपालिकाको न्यायिक समितिले छिनोफानो गर्ने भन्दै स्थानीयले रोकेका थिए । विवाद नमिलेपछि भारतीय प्रहरीसहित किशोरकिशोरीलाई नेपाल प्रहरीले जिल्ला सदरमुकाम ल्याएको छ ।

भारतीय प्रहरीले किशोरकिशोरी दुवैलाई लैजान पाउनुपर्ने अडान राखेको छ । तर नेपाल प्रहरीले अभिभावकबिना किशोरीलाई भारतीय प्रहरीको मात्र जिम्मा नछाड्ने र नेपाली नागरिक भएकाले सोनीलाई पठाउनै नमिल्ने धारणा राखेको छ । भारतीय प्रहरीले जिद्दी गर्दै दुवैलाई लैजाने भनेपछि नेपाल प्रहरी सशंकित भएको छ । ‘अहिले नै केटाकेटीलाई पठाउन मिल्दैन, उनीहरू केटाकेटी दुवै लिएर जाने कुरा गर्छन्,’ प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले भने, ‘जसरी पनि लैजाने भनेकाले उनीहरूलाई पनि सोधपुछका लागि अनौपचारिक नियन्त्रणमा राखिएको छ ।’ उनले यो विषयमा गृह मन्त्रालयबाटै निर्णय हुनुपर्ने बताए ।

गृह मन्त्रालयको आदेश नआउँदासम्म भारतीय प्रहरी नेपाल प्रहरीकै नियन्त्रणमा हुनेछन् । निमित्त जिल्ला प्रहरी प्रमुख कलेन्द्रविक्रम शाहीले यो विषयमा मंगलबार थप छलफल हुनेजानकारी दिए ।

आपत्तिजनक कार्य : रावल
नेकपाका नेता एवं पूर्वगृहमन्त्री भीम रावलले भारतीय प्रहरीले नेपालभित्र छिरेर कारबाही प्रक्रिया अघि बढाएको भन्दै आपत्ति जनाएका छन् । गृहजिल्ला अछाममै रहेका नेता रावलले भारतको एउटा राज्यको प्रहरीले नेपालको भूभागमा खानतलासीको आदेश जारी गर्नु र त्यसका आधारमा भारतीय प्रहरी भित्रिनु गम्भीर विषय भएको बताए ।

‘कुनै विषयमा खानतलासी नै गर्नुपर्ने भए पनि इन्टरपोलमार्फत आउनुपर्छ, नेपाललाई भारतको एउटा राज्यको हैसियतमा पत्र बनाएर खानतलासी गर्न पठाइएको छ । यो गम्भीर विषय हो,’ उनले कान्तिपुरसँग भने, ‘नेपालको सार्वभौसत्तामाथिको यो गाईजात्रा हो ।’

भारतीय प्रहरी रुपडिया हुँदै अछामसम्म आइपुग्दा पनि कुनै खानतलासी नहुनुले नेपालको सुरक्षा प्रणालीमाथि पनि प्रश्न उब्जिएको रावलले बताए । उनले नेपालको अछामलाई भारतीय राज्यकै हैसियतमा खानतलासी गर्ने क्षेत्रका रूपमा गणना गरिएको भन्दै छानबिनको माग गरेका छन् ।

उनले भारतीय प्रहरीको प्रवेशलगत्तै गृहसचिव प्रेम राईलाई टेलिफोन गरी जानकारी गराएका थिए । गाउँपालिकामा भारतीय प्रहरी आएपछि जिल्लामै रहेका पूर्वगृहमन्त्री रावललाई स्थानीय नेताहरूले जानकारी गराएका थिए ।

प्रकाशित : असार ३, २०७६ ०७:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×