कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अछामबाट भारतीय प्रहरी नियन्त्रणमा

अछाम — भारतको छत्तिसगढबाट खानतलासीका लागि आएका तीन जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । दुई महिनाअघि भागी विवाह गरेका किशोरकिशोरीलाई पक्राउ गर्न आएको भारतीय प्रहरी अधिकारी अशोक पाण्डे नेतृत्वको टोलीलाई जिल्ला प्रहरी कार्यालयमा निगरानीमा राखिएको छ । 

भारतको छत्तिसगढ राज्यको कोबार जिल्लाकी एक १५ वर्षीया किशोरीलाई अछामको बान्नीगढी जयगढ गाउँपालिका– ६ दर्नाका १९ वर्षीय केशव सोनीले भगाएर ल्याएका थिए । किशोरीको परिवारले छोरी खोजीको निवेदन दिएपछि छत्तिसगढ प्रहरी महानिरीक्षकले भारतको पञ्जाव, हरियाणा, उडिसा र अछाम (नेपाल) मा खानतलासी गर्न अनुमति दिएको थियो । त्यही अनुमतिका आधारमा पाण्डे नेतृत्वको टोली नेपालगन्जको रुपडिया नाका हुँदै अछाम पुगेको थियो ।

आइतबार अछाम आएको भारतीय प्रहरी टोली नेपाल प्रहरीलाई भेटी सोमबार बन्नीगढी जयगढ गाउँपालिकामा पुगेको थियो । त्यहाँबाट किशोरकिशोरीलाई पक्राउ गरी लैजान खोजेपछि मुद्दा गाउँपालिकाको न्यायिक समितिले छिनोफानो गर्ने भन्दै स्थानीयले रोकेका थिए । विवाद नमिलेपछि भारतीय प्रहरीसहित किशोरकिशोरीलाई नेपाल प्रहरीले जिल्ला सदरमुकाम ल्याएको छ ।

भारतीय प्रहरीले किशोरकिशोरी दुवैलाई लैजान पाउनुपर्ने अडान राखेको छ । तर नेपाल प्रहरीले अभिभावकबिना किशोरीलाई भारतीय प्रहरीको मात्र जिम्मा नछाड्ने र नेपाली नागरिक भएकाले सोनीलाई पठाउनै नमिल्ने धारणा राखेको छ । भारतीय प्रहरीले जिद्दी गर्दै दुवैलाई लैजाने भनेपछि नेपाल प्रहरी सशंकित भएको छ । ‘अहिले नै केटाकेटीलाई पठाउन मिल्दैन, उनीहरू केटाकेटी दुवै लिएर जाने कुरा गर्छन्,’ प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले भने, ‘जसरी पनि लैजाने भनेकाले उनीहरूलाई पनि सोधपुछका लागि अनौपचारिक नियन्त्रणमा राखिएको छ ।’ उनले यो विषयमा गृह मन्त्रालयबाटै निर्णय हुनुपर्ने बताए ।

गृह मन्त्रालयको आदेश नआउँदासम्म भारतीय प्रहरी नेपाल प्रहरीकै नियन्त्रणमा हुनेछन् । निमित्त जिल्ला प्रहरी प्रमुख कलेन्द्रविक्रम शाहीले यो विषयमा मंगलबार थप छलफल हुने जानकारी दिए ।

आपत्तिजनक कार्य : रावल

नेकपाका नेता एवं पूर्वगृहमन्त्री भीम रावलले भारतीय प्रहरीले नेपालभित्र छिरेर कारबाही प्रक्रिया अघि बढाएको भन्दै आपत्ति जनाएका छन् । गृहजिल्ला अछाममै रहेका नेता रावलले भारतको एउटा राज्यको प्रहरीले नेपालको भूभागमा खानतलासीको आदेश जारी गर्नु र त्यसका आधारमा भारतीय प्रहरी भित्रिनु गम्भीर विषय भएको बताए ।

‘कुनै विषयमा खानतलासी नै गर्नुपर्ने भए पनि इन्टरपोलमार्फत आउनुपर्छ, नेपाललाई भारतको एउटा राज्यको हैसियतमा पत्र बनाएर खानतलासी गर्न पठाइएको छ । यो गम्भीर विषय हो,’ उनले कान्तिपुरसँग भने, ‘नेपालको सार्वभौसत्तामाथिको यो गाईजात्रा हो ।’

भारतीय प्रहरी रुपडिया हुँदै अछामसम्म आइपुग्दा पनि कुनै खानतलासी नहुनुले नेपालको सुरक्षा प्रणालीमाथि पनि प्रश्न उब्जिएको रावलले बताए । उनले नेपालको अछामलाई भारतीय राज्यकै हैसियतमा खानतलासी गर्ने क्षेत्रका रूपमा गणना गरिएको भन्दै छानबिनको माग गरेका छन् ।

उनले भारतीय प्रहरीको प्रवेशलगत्तै गृहसचिव प्रेम राईलाई टेलिफोन गरी जानकारी गराएका थिए । गाउँपालिकामा भारतीय प्रहरी आएपछि जिल्लामै रहेका पूर्वगृहमन्त्री रावललाई स्थानीय नेताहरूले जानकारी गराएका थिए ।

प्रकाशित : असार ३, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?