१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

जुम्लाको गुठीचौर जग्गा प्रकरण : ३ सरकारी कर्मचारी सहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ — जुम्लाको गुठीचौरस्थित भेडाबाख्रा फार्मको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ सरकारी कर्मचारी सहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

जुम्लाको गुठीचौर जग्गा प्रकरण : ३ सरकारी कर्मचारी सहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले अनुसन्धान गर्दा करिब ३ लाख वर्गमिटर(५९० रोपनी जग्गा) व्यक्तिको नाममा दर्ता गरेको खुलेको हो । सरकारी जग्गा दुरुपयोग गरेको आरोपमा अख्तियारले मालपोत कार्यालय जुम्लाका तत्कालीन प्रमुख गोविन्द प्रसाद न्यौपाने लगायत विरुद्ध मुद्दा दायर गरेको हो । उनीहरूले गुठीचौरको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको खुलेको हो ।


जुम्ला मालपोत कार्यालयका कर्मचारीले नापी र भेडा बाख्रा फार्मका कर्मचारीसँग मिलेमतो गरी जग्गा व्यक्तिका नाममा दर्ता गरेका थिए । सरकारी जग्गा गलत नियतले हदबन्दीभन्दा बढी दर्ता गर्नुका साथै जग्गा बिक्री वितरण समेत गरेको अख्तियारको दाबी छ । निर्णय हुँदा न्यौपाने निमित्त कार्यालय प्रमुख(नासु) थिए ।


अख्तियार स्रोतका अनुसार जुम्लाको गुठीचौर गाविस वडा नम्बर ६–द को कित्ता नम्बर ३ को उक्त जग्गा फिल्डबुकमा भेडा तथा बाख्रा कार्यक्रमको नाममा दर्ता छ । द्वन्दकालमा जलेर नष्ट भएको सक्कल फाइललाई स्थानीय हरिहर न्यौपानेको निवेदनबाट फेरी खोलेर ‘मिलेमतो’मा दर्ता गरिएको थियो । अख्तियारले भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख प्राविधिक कर्मचारी यमुनाकुमार श्रेष्ठमाथि पनि मिलेमतोको आरोप लगाएको छ । यी तीनै जनालाई अख्तियारले ४५ लाख रुपैयाँका दरले बिगो माग दाबी गरेको छ ।


गुठीचौरको जग्गा हरिहर न्यौपाने सहित १५ जनाको नाममा हक हस्तान्तरण भएको थियो । उनीमाथि अख्तियारले दुई लाख २५ हजार रुपैयाँ बिगो कायम गरेको छ । साथै अख्तियारले जग्गा नामसारी गरी लिने मुनिशचन्द्र न्यौपाने, मायालाल न्यौपाने, विष्णु न्यौपाने, विष्णु ऋषि न्यौपाने, विष्णुलाल न्यौपाने, पार्वती न्यौपाने, नवऋषि न्यौपाने, धन प्रसाद न्यौपाने, देवेन्द्र प्रसाद उपाध्याय, जानकीदत्त देवकोटा, गोमा न्यौपाने, केशवराज न्यौपाने, कविदत्त न्यौपानेलाई पनि मुद्दा दायर गरेको छ । यी सबैमाथि ३० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म बिगो मागदाबी छ ।


मालपोत कार्यालयका प्रमुख न्यौपानेले त्यो जग्गा श्रीमती, छोरी र नातागोताको नाममा पास गराएको खुलेको हो । उनले हाल अवकाश पाइसकेका छन् । उनले २०६६ सालमा गुठीचौरको जग्गा दर्ता गराएका थिए । उक्त फार्मको करिब ३५ सय रोपनी जग्गा नापी भएको मध्ये करिब एक हजार रोपनीको फिल्डबुक बनेको छ । त्यसमध्येको जग्गा न्यौपानेले व्यक्तिका नाममा हत्याएका हुन् ।

प्रकाशित : असार २, २०७६ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?