१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

डेंगु परीक्षण किटको परल मूल्य भन्दा बढी लिए कारबाही गर्ने चेतावनी

कालोबजारी कसुरमा कारबाही गर्ने चेतावनी  
अतुल मिश्र

काठमाडौँ — पूर्वी नेपालमा डेंगु परीक्षण किटको परल मूल्य भन्दा निजी स्वास्थ्य संस्थाले ६ गुणासम्म बढी लिन थालेपछि स्वास्थ्य मन्त्रालयले कालोबजारी कसुरमा कारबाही गर्ने चेतावनी दिएको छ । प्रदेश नम्बर १ मा डेंगु परीक्षण किटको मूल्य करिब ४ सय रुपैयाँ पर्नेमा १८ सयदेखि २४ सय रुपैयाँसम्म लिएको गुनासो स्वास्थ्य मन्त्रालयमा आएको थियो ।

डेंगु परीक्षण किटको परल मूल्य भन्दा बढी लिए कारबाही गर्ने चेतावनी

मुलुकको पूर्वी भागमा डेंगु प्रकोपको रूपमा देखिन थालिएको फाइदा मेडिकल कलेज, अस्पताल लगायतका निजी स्वास्थ्य संस्थाले उठाउन थालेपछि स्वास्थ्य मन्त्रालयले कालोबजारी कसुरमा कारबाही गर्ने चेतावनी दिएको हो ।

यति मात्र नभई स्वास्थ्य मन्त्रालयले यस्ता निकायहरूमा अनुगमन, सुपरिवेक्षण गराउने व्यवस्था समेत गरेको जनाएको छ ।


‘केही निजी मेडिकल कलेज, अस्पताल, क्लिनिकहरूले ४ सय पर्ने किटको मूल्य १८ सय देखि २४ सयसम्म लिएको गुनासो हामी समक्ष समेत आएको हो’, स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर-१ का निर्देशक भोगेन्द्रराज डोटेलले कान्तिपुरसँग भने,‘ऐनमा २० प्रतिशत भन्दा बढी फाइदा लिने नपाइने उल्लेख छ ।’


केन्द्रको स्वास्थ्य मन्त्रालय जस्तै प्रदेश नम्बर १ को स्वास्थ्य निर्देशनालयले समेत निजी स्वास्थ्य निकायको प्रतिनिधिहरूलाई भेला गराएर डेंगु परीक्षण किटको मूल्य भूलवश बढी लिएमा अब उप्रान्त लिन नपाउने जनाइसकेको डोटेलले बताए । उसो सरकारी स्वास्थ्य निकायमा डेंगु परीक्षण निःशुल्क हुने गर्छ । तर चिकित्सकले डेंगु परीक्षण गराउन उपयुक्त ठानेर प्रस्तावित गरेको बिरामीको मात्र यस्तो परीक्षण निःशुल्क हुने गर्छ । हाल मुलुकको पूर्वी भागको धरान, विराटनगर, झापामा डेंगु मुख्य रूपले देखिएको छ ।


डेंगु एडिस एजेप्टाई र एडिस एल्वोपिक्टस नाम गरेको पोथी लामखुट्टेले टोकेर हुने भाईरल संक्रमण हो । दिउँसो टोक्ने यो लामखुट्टेले नै चिकनगुनिया, यलो फिभर, जिका संक्रमण समेत फैलाउँछ । वर्षायाम यो लामखुट्टेको विस्तारको लागि अनुकूल समय हो ।


विश्व स्वास्थ्य सङ्गठन(डब्लूएचओ) को अनुसार यो भाइरसको कुनै खास उपचार छैन, यसमा लक्षणको आधारमा उपचार गरिन्छ । तर छिटो रोग पत्ता लगाउनुको साथै उचित चिकित्सकीय हेरचाहले मृत्युदर १ प्रतिशत भन्दा कम हुन्छ । एक अध्ययनको आकलन अनुसार विश्वको १२८ मुलुकका ३ अर्ब ९० करोड जनसंख्या डेंगुको जोखिममा छ ।

प्रकाशित : असार २, २०७६ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?