कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिवि सेवा आयोगका अनशनकारी प्रहरी नियन्त्रणमा

सुदिप कैनी

काठमाडौँ — ३० दिनदेखि त्रिभुवन विश्वविद्यालय सेवा आयोग परिसरमा अनशनमा बसेका अखिल क्रान्तिकारीका नेता कार्यकर्ताहरुलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल सहित १६ जनालाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ ।

त्रिवि सेवा आयोगका अनशनकारी प्रहरी नियन्त्रणमा

‘अनशन बसेको ठाउँबाट हामीलाई जबरजस्ती उठाएर कुटपिट गर्दै कालिमाटीमा ल्याएर राखिएको छ,’ उनले टेलिफोनमा कान्तिपुरसँग भने । अनशनकारीले सोमबार बिहानबाट आयोगका पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।


किर्तिपुरस्थित आयोग कार्यालयको मुलगेटमा तालाबन्दी गरेर विद्यार्थीले पदाधिकारीलाई प्रवेशमा रोक लगाएका हुन् । मोहन वैद्य निकट अखिल क्रान्तिकारीको तालाबन्दीका कारण आयोगका पदाधिकारी र कर्मचारीहरु कार्यालय प्रवेश गर्न पाएका थिएन ।


कार्यालय समय सकिनै लाग्दा अनशनस्थलमा प्रहरीले हस्तक्षेप गरेको हो । आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल र सदस्य सचिव परशुराम कोइरालालाई कार्यालय प्रवेशमा रोक लगाइएको क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिए । ‘३० दिनसम्म अनशन बस्दा मागहरुको कुनै सुनुवाइ भएन ।, आन्दोलनको स्वरुपअनुसार पदाधिकारी प्रवेशमा रोक लगाएका हौं,’ उनले भने । ३० दिनदेखि क्रान्तिकारीका विद्यार्थी आयोग कार्यालय परिसरमा रिले अनशन बसेका थिए । उनीहरुको अनशनमा शिक्षाविद् र विभिन्न विद्यार्थी संगठनका नेताहरुले ऐक्यबद्धता छ ।


सेवा आयोगले अनियमित तरिकाले लिएको परीक्षा रद्दको माग गर्दै विद्यार्थीहरु आन्दोलित बनेका हुन् । अध्यक्ष शर्मा, सदस्य पोखरेल र सदस्य सचिव कोइरालाले सेटिङ मिलाएर नातेदार, पहुँचवाला नेता, त्रिविका पदाधिकारी, प्राध्यापक र कर्मचारीका आफन्तहरुलाई मात्र खुल्लातर्फको परीक्षामा पास गराएको आरोप छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षाका कागजात नियन्त्रणमा लिएर एकमहिनादेखि छानबिन गरिरहेको छ । अख्तियार स्रोतका अनुसार छानबिनको क्रममा परीक्षामा त्रुटी गरेको समेत भेटिएको हो । ‘त्रिवि र आयोगका पदाधिकारीको मिलेमतोमा पहुँचवाला र आफन्तलाई पास गराएको परीक्षा रद्द गर्न आन्दोलित बनेका हौँ,’ गजुरेलले भने, ‘छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ ।’


त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री वा सहकुलपति एंव शिक्षामन्त्रीको तहबाट छानबिन गरी कारबाही गर्नुपर्ने क्रान्तिकारीको माग छ । ‘त्रिवि कार्यकारी परिषद्ले छानबिन समिति बनाउने आश्वसन दिएर वार्तामा बोलाएको थियो,’ उनले भने, ‘जो दोषी छ, उसैले बनाउने छानबिन कमिटिको अर्थ छैन, भनेर वार्तामा बस्न मानेनौं, कुलपति वा सहकुलपतिले नै चासो दिएर कारवाही प्रक्रिया अघि बढाउनु पर्छ ।’ ३० औं दिनसम्म मागहरुको वेवास्ता गरेर वार्ताको समेत प्रयास नगरिएको भन्दै क्रान्तिकारी सम्बद्ध विद्यार्थी आक्रोशित बनेका हुन् ।


विद्यार्थीले त्रिवि सेवा आयोग खारेज गर्नुपर्ने, आयोगका भ्रष्ट पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने र अवैधानिक रुपमा प्रकाशित नतिजा खारेज गर्नुपर्ने ३ सुत्रीय माग राखेका छन् । ‘सेवा आयोगकै अध्यक्ष, प्रशासकीय प्रमुख र त्रिविका उच्च तहका पदाधिकारीले आफ्ना नातागोतालाई जागिर खुवाउन अपारदर्शी तरिकाले पास गराएका छन्,’ गजुरेलले भने ।


लोकसेवा आयोगका प्रतिनिधिको उपस्थिति बिनै उनीहरुले मनोमानी रुपमा परीक्षा सञ्चालन गरेको यसअघि नै खुलासा भइसकेको छ । शाखा अधिकृत लगायत विभिन्न १६ पदको आन्तरिकतर्फको लिखित परीक्षामा अनियमितता गरिएको हो ।

यो पनि पढ्नुहोस्ः

त्रिवि आयोगका पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक

प्रकाशित : असार २, २०७६ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?