कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

चुचुरोमा ४३ देशका आरोही

सुरज कुँवर

काठमाडौँ — यसपटकको सिजनमा ४३ देशका आरोही सगरमाथा चुचुरो टेक्न सफल भएका छन् । पर्यटन विभागबाट ४९ मुलुकका १ हजार २४ जनाले अनुमति लिएकामा ४३ मुलुकका ६ सय ४४ जनाले मात्रै सफल आरोहण गरेका हुन् ।

चुचुरोमा ४३ देशका आरोही

आरोहण सफल नहुनेमा यूएई, स्पेन, रिपब्लिक अफ बोत्स्वाना, पेरु, कोरिया र डोमिनिकन रिपब्लिकका आरोही छन् । यी मुलुकबाट नौ जना आरोहणका लागि आएका थिए ।


३७ विदेशी र ७ नेपाली गरी ४४ वटा आरोहण दल सहभागी थिए । विभागकी निर्देशक मीरा आचार्यका अनुसार यिनमा ९ सय ४४ पुरुष र ८० जना महिला थिए । ५ सय ७७ पुरुष र ६७ महिला शिखर पुग्न सफल भए । सबभन्दा धेरै आरोहण गर्ने नेपाली छन् । विभागबाट सलामी दस्तुर तिरेर आरोहण दल सदस्यको हैसियतमा ८ पुरुष र ६ महिला गरी १४ जना नेपाली सगरमाथा गएका थिए । एक पुरुषबाहेक १३ जनाले सफलता हात पारे । त्यसैगरी गाइड (कामदार), सरदार र शेर्पाको भूमिकामा २ महिलासहित ६ सय ४२ जनाले अनुमति पाएका थिए । यीमध्ये ३ सय ६४ जनाले मात्रै सफल आरोहण गरे ।


सर्वाधिक आरोहण गर्ने विदेशीमा भारतीय ६१, चिनियाँ ५४, अमेरिकी ४२, बेलायती २९, क्यानडेली तथा नर्वेली ७/७, जापानी ६, हङकङका ५, लेबनानी ५, आयरल्यान्डका ४ जना छन् । यस सिजनमा ८ आरोहीको मृत्यु भएको छ भने एक जना हराइरहेका छन् । विभागले मृत्युको कारण हाई अल्टिच्युट, प्रतिकूल मौसम, मौसमको सीमित अनुकूलता, अचानक मूर्च्छा पर्ने र आरोहीको शारीरिक कमजोरीलाई औंल्याएको छ । आरोहण दल व्यवस्थापन गर्ने एक्सपिडिसन एजेन्सी र आरोहण दलमा खटिने सरकारी सम्पर्क अधिकृतले विभागमा पेस गरेको प्रतिवेदनमा यस्तो उल्लेख छ ।


यस सिजनमा सगरमाथासहित ल्होत्से, मकालु, कञ्चनजंघालगायत हिमालमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । विभागले ३२ वटा हिमालका लागि १ सय १६ आरोहण दललाई अनुमति दिएको थियो । यसबापत ४९ करोड ६४ लाख रुपैयाँ सलामी दस्तुर संकलन भएको थियो । सरकारले ४ सय १४ हिमाल आरोहणका लागि खुला गरेको छ ।

प्रकाशित : असार २, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?