लाेकसेवा विज्ञापन : अन्योलमा विद्यार्थी 

माया श्रेष्ठ

काठमाडौँ — मुगुका विशाल शाही लोकसेवा आयोगको परीक्षाका लागि तयारी गर्न काठमाडौं आएको ३ महिना भयो । अस्थायी शिक्षकको जागिर छाडेर आएका उनी संसदीय समितिले स्थानीय तहमा पदपूर्तिका लागि निकालिएको विज्ञापन रद्द गर्न निर्देशन दिएपछि अन्योलमा छन् । ‘भएको अस्थायी जागिर छाडेर आएँ,’ उनले भने, ‘खुलेको विज्ञापन पनि रद्द भयो भने कहिले प्रतिस्पर्धा गर्न पाइने हो ।’


बझाङका दीपक रोकायालाई समयमै प्रतिस्पर्धामा सामेल हुन पाइयोस् भन्ने लागेको छ । ‘एक वर्षदेखि दत्तचित्त भएर पढिरहेको छु,’ उनले भने, ‘अहिले रद्द भयो भने फेरि कहिले विज्ञापन खुल्ने हो !’

५ सय १५ स्थानीय तहका लागि आयोगले ९ हजार १ सय ६१ जना नियुक्ति गर्न जेठ १५ देखि असार ३ सम्मका लागि आवेदन मागेको छ । करिब दुई लाखले आवेदन दिइसकेका छन् । ‘स्थानीय तहमा कर्मचारी धेरै माग भएकाले ६ लाखसम्म आवेदन आउने अनुमान गरेका छौं,’ आयोगका प्रवक्ता किरणराज शर्माले बताए ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएपछि भने आवेदन गर्नेक्रम घटेको आयोगले जनाएको छ । ‘विगतमा जस्तै अन्तिम दिनमा आवेदन दिनको संख्यामा वृद्धि हुन सक्छ,’ शर्माले भने, ‘दोब्बर दस्तुरको समय ७ दिनको अवधिमा पनि आवेदन धेरै आउने गर्छ ।’

युवाले राजधानीको बानेश्वर, शंखमूल, कीर्तिपुर, बागबजार र पुलतीसडकलगायत दर्जनौं इन्स्टिच्युटमा तयारी कक्षा लिइरहेका छन् । ‘हाम्रोमा मात्रै नियमित रूपमा ६ हजारले कक्षा लिइरहेका छन्,’ पुतलीसडकस्थित सिइडिपका संयोजक माधव पाण्डेले भने, ‘ऋण गरी काठमाडौं आएर साढे ३ महिनासम्म तयारी गर्छन् ।’ कीर्तिपुरस्थित कीर्तिपुर भ्याली इन्स्टिच्युटका मित्र न्यौपानेले लोकसेवा आयोगले स्थानीय तहको विज्ञापन खुलाएपछि विद्यार्थीबाट पाठ्यक्रम छिटो सकाउन दबाब आएको बताए ।

विज्ञापन रद्द नगर्न चेतावनी
लोकसेवा तयारी गरेका विद्यार्थीले समयमै परीक्षा दिन पाउनुपर्ने भन्दै प्रदर्शन गर्दै आएका छन् । राजधानीका विभिन्न इन्स्टिच्युटमा अध्ययन गरिरहेका विद्यार्थीले संघर्ष समिति बनाएर प्रदर्शन पनि गर्दै आएका छन् ।

संघर्ष समितिले विज्ञापन रद्द भए युवामा डिप्रेसन बढ्न सक्ने जनाएको छ । समितिले विज्ञापन रोकिए आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । ‘राजनीतिक स्वार्थका लागि लाखौंको भविष्य बर्बाद पार्ने चलखेल गर्नु हुँदैन,’ संघर्ष समितिका संयोजक मंगल थापाले शनिबार पत्रकार सम्मेलनमा भने, ‘संसदीय समितिले विज्ञापन रोक्ने निर्देशन फिर्ता लिनुपर्छ ।’

प्रकाशित : असार १, २०७६ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्

गोकर्णेश्वरमा सुनको छाना

माया श्रेष्ठ

काठमाडौँ — लिच्छविकालीन गोकर्णेश्वर महादेव मन्दिरको छाना सुनले छाउने काम धमाधम भइरहेको छ । स्थानीयवासीको सक्रियतामा घरघरबाट तामाका भाडा संकलन गरेर मन्दिरको छानामा तामाको पातामा २३ किलो सुनको लेपन लगाएर छाउन सुरु गरिएको गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर ४ का अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार पशुपतिनाथ, मनकामना मन्दिरको जस्तो पानी नचुहिने छाना छाउन १७ करोड रुपैयाँ बराबरको लागत लाग्ने अनुमान छ । ०७२ सालको भूकम्पले मन्दिरलाई जीर्ण भएपछि झिँगटीको सट्टामा सुनको जलप भएको छानाले प्रतिस्थापन गर्न लागिएको हो । मन्दिर गोकर्णेश्वर–४ मा अवस्थित छ । ‘पुरातात्त्विक महत्त्वका काठ अनि दुई तलाको झिँगटीको छाना जीर्ण बन्यो,’ उनले भने, मन्दिरको दुरावस्था हेरेर हामी बस्न सकेनौँ अनि जीर्णोद्धार अभियान सुरु गर्‍यौँ ।’

गोकर्णेश्वरको स्थापना सत्ययुगमा ब्रह्माले गरेका हुँदा यस स्थानमा आई पितृलाई तर्पण, दान र पिण्ड दिनाले अगति परेका पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ । गोकर्णेश्वर नगरपालिकाको धार्मिक तथा पर्यटकीय विकासका लागि गोकर्णेश्वर महादेव मन्दिरले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष श्रेष्ठको छ ।

सुनको जलपसहितको छाना फेर्न स्थानीयको सहयोगमा महायज्ञ सञ्चालन गरिएको जानकारी श्री गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङ्गीण विकास समन्वय समितिका अध्यक्ष कोमलबहादुर विष्टले दिए । उनका अनुसार महायज्ञबाट तीन करोड रकम संकलन गरिएको थियो । ‘स्थानीयवासीले घरघरबाट तामाका अम्खरा मन्दिरका लागि सहयोग गरे,’ उनले भने, ‘तामाका भाँडावाट मात्रै ४६ लाख उठ्यो ।’ यस्तै नगरपालिकाले १ करोड रुपैयाँ सहयोग गरेको छ ।

‘सुनको लेपनसहितको २ तलामा छाना लगाउन १६ करोड लाग्छ ’ उनले भने, ‘४ करोड ५० लाख त उठ्यो अन्य खर्च जुटाउन सहयोगी हातको आवश्यकता छ ।’ धार्मिक तथा पर्यटकीय क्षेत्र राज्यको मात्रै नभएर सबैको साझा सम्पत्ति भएकाले संरक्षण र दायित्व नागरिकको पनि भएको उनले बताए । तीनतले प्यागोडा शैलीको मन्दिरमा दुई तला छानामा सुनले छाउने काम ०७७ असारसम्ममा सकिने समितिका सचिव इर्श्वर पाण्डे बताउँछन् ।

‘पहिलो र दोस्रो तलामा झल्लर, कुपा र म्हुठल तलामा राख्ने काम सकियो,’ उनले भने, ‘दोस्रो तलामा २४ सय स्क्वायर फिटमध्ये १७ सय २८स्क्वायर फिटमा सुनको लेपनको छाना राखिएको छ ।’

गोकर्णेश्वर महादेवको मन्दिरको जीर्णोद्धार पुरातत्त्व विभागले पनि गरीरहेको छ । मन्दिरको छानामा तामाको पातामा सुनको लेपन लगाउने कामबाहेक अन्य मर्मत सम्भार कार्य पुरातत्त्व विभागले गर्ने भएको छ ।

विभागले मन्दिरको जोर्णोद्धार गर्नका लागि ४ करोड ७३ लाख ९५ हजार सहयोग गर्ने श्री गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङ्गीण विकास समन्वय समितिका अध्यक्ष कोमलबहादुर विष्टले बताए । पुरातत्त्व विभागले आर्थिक वर्ष २०७५ र ०७६ मा १ करोड बजेट विनियोजन गरेको छ ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्