कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

डेथ जोनमा जबर्जस्ती

उकालो जाँदा आरोहीको शरीर कमजोर भइसकेको हुन्छ । फर्कने क्रममा शक्ति सञ्चय नहुँदा कतिले बाटैमा ज्यान गुमाउँछन् । अक्सिजन नपुगेर मानसिक सन्तुलन गुमाउने पनि हुन्छन् । वर्षौं हिमालमा बिताएका सहयोगी शेर्पाहरुको बुझाइमा अधिकांश आरोही आफ्नै शारीरिक प्रतिकूलताका कारण ज्यान गुमाउँछन् । धेरैजसोले सामान्य स्वास्थ्य परीक्षणकै आधारमा आरोहण गर्ने भएकाले पनि जोखिममा पर्छन् । 
कुम्भराज राई

ओखलढुंगा — लाक्पारिन्जी शेर्पासँग सगरमाथा आरोहण गर्न गएका भारतीय युवक निहाल वागवान साउथकोल (चौथो शिविर) सम्म ठिकै थिए । मे २२ का दिन शिखरतर्फ जाने तयारी भए पनि बेलुकी मौसम राम्रो नभएपछि उनीहरू त्यहीँ बसे । २३ तारिखका दिन राति नै बाटो लागेका उनीहरू बिहान साढे ९ बजेतिर शिखर पुगे ।

डेथ जोनमा जबर्जस्ती

निहालमा एक्कासि कमजोरी देखियो । शिखर पुग्न दुई पाइला मात्र चाल्नुपर्ने अवस्थामा उनी नसकेर हिउँमै फ्यात्त बसे । बोली बुझ्न छाडियो । लाक्पाले उनको अक्सिजन चेक गरे । अक्सिजन नपुगेको हो कि भनी आफ्नो साटेर पनि ख्वाए । बाल्कोनीदेखि गाह्रो होला भनेर नयाँ सिलिन्डर फेरिदिएका थिए ।


झन्डै १५ मिनेटजति शिखरमा बसेर फर्किन खोज्दा उनले पाइला टेक्नै छोडे । शारीरिक कमजोरीसँगै मानसिक सन्तुलन गुमाइसकेका थिए । लाक्पारिन्जीले उनलाई तान्दै साउथकोलसम्म ल्याइपुर्‍याए । साउथकोलदेखि शिखर पुगेर फर्कंदा २६ घण्टा बितिसकेको थियो । निहाललाई ल्याउँदा लाक्पा आफैलाई गाह्रो भइसकेको थियो ।


उनले निहाललाई लगेर शिविरको टेन्टभित्र हाले । आफूले चिनेको अर्को शेर्पाको सहयोग मागेर आफू ओरालो लागे । टेन्टभित्र सुताउँदासम्म निहाल जीवितै थिए । एकछिनपछि उनको निधन भएको अरू शेर्पाहरूले पछि सुनाए लाक्पारिन्जीलाई । ‘अब म आफैं मर्छु भन्ने अवस्थामा पुगिसकेको थिएँ,’ उनले सम्झिए, ‘उसकै कारणले मर्ने स्थितिमा पुगेपछि मैले साउथकोलभन्दा तल ल्याउन सकिनँ । मैले अझै कोसिस गरेको भए सँगै मर्ने थिएँ ।’


लाक्पारिन्जीको समेत हातको औंला चिसोले खाएको छ । उनी अहिले राजधानीमा उपचाररत छन् । डाक्टरले एउटा औंला काट्नुपर्ने बताएपछि चिन्ता थपिएको छ । ‘अस्ति काट्नुपर्छ भनेका थिए । अहिले फेरि पर्दैन कि भनेका छन् । हेरौं के हुन्छ,’ लाक्पाले भने, ‘तर यसपालि त्यही केटाको कारणले मलाई निकै गाह्रो भयो । रेस्क्युमा आधारशिविर झर्नुपर्‍यो ।’


उनीहरू लामै ट्राफिक जाममा परेका हुन् । तर निहालको मृत्यु ट्राफिक जामकै कारण भएको उनलाई लाग्दैन । ‘उसको एनर्जी लेभल कम भएकाले गर्दा हो,’ उनले भने, ‘ट्राफिक जामकै कारण मेरो आरोही (क्लाइन्ट) मरेको भने पटक्कै हैन । मैले बचाउने कोसिस गरेको हुँ तर सकिनँ ।’ ट्राफिक जाममा धेरै बेर पर्दा चिसोले भने अत्यधिक असर गर्ने उनले स्विकारे । ट्राफिक जामकै कारण आरोहीले ज्यान गुमाएको हल्लाचाहिँ सरासर गलत भएको अधिकांश शेर्पा आरोहीको भनाइ छ ।


हिमपहिरो, हिमखाडलमा पर्नेबाहेक अधिकांश आरोही निहालकै जस्तो शारीरिक समस्याको कारणले मृत्युवरण गर्न पुग्छन् । आरोहण अनुमतिकै बेला स्वास्थ्य जाँच गरेर बुझाउने प्रावधान छ । आरोहीको स्वास्थ्य समुद्री सतहदेखि ८ हजार मिटरमाथि पुग्दा कस्तो अवस्थामा हुन्छ भन्ने अनुमानका लागि चिकित्सकले विशेष परीक्षण गर्नुपर्ने हुन सक्छ । प्रायः आरोही सामान्य स्वास्थ्य परीक्षणकै आधारमा अनुमति लिइदिन्छन् ।


निराधार सूचना

बीबीसीलगायत अन्तर्राष्ट्रिय मिडियाले आरोहण सकिएलगत्तै सगरमाथामा ११ जनाको मृत्यु भएको समाचार प्रकाशन–प्रसारण गरे । तर तीमध्ये ९ जना मात्र नेपालतर्फबाट गएका हुन् । बाँकी दुईले तिब्बती मोहडाबाट जाँदा ज्यान गुमाएका हुन् । यो संख्यामा एक जना बेपत्ता पनि छन् ।


सामाजिक सञ्जालमा केही विदेशी आरोहीले सर्वोच्च शिखरमा अश्लील हर्कत गरेको समाचारसमेत फैलिए । तर त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण थिएन । यही कारण धेरैको मनमा भ्रम पैदा भयो । सगरमाथामा फोहोरको थुप्रो मात्रै छ भनेर पनि नेपाली मिडियाले प्रकाशन–प्रसारण गरे तर आरोहीहरू हल्ला भएजति फोहोर नभएको, पहिलेको तुलनामा घटेको दाबी गर्छन् । आरोही संख्यासँगै फोहोर बढ्नु स्वाभाविक हो तर जसरी फोहोरकै कारण सगरमाथा पग्लिएको समाचार प्रसारण भइरहेछ, त्यो शतप्रतिशत यथार्थ नभएको अनुभवी आरोहीहरू बताउँछन् ।


'डेथ जोनमा मृत्यु स्वाभाविक’

सगरमाथामा आरोहीले ज्यान गुमाउनु नौलो विषय होइन । ‘जसरी हल्ला फैलाइन्छ, के–के न भयो भनेर त्यो अनावश्यक हो,’ पाका आरोही छिरिङजाङ्बु शेर्पा भन्छन्, ‘सगरमाथा आफैंमा त्यति सजिलो हुन्थ्यो त यसको महत्त्व किन रह्यो र ?’ सगरमाथामा ८ हजार मिटरभन्दा माथिलाई डेथ जोन (मृत्यु क्षेत्र) भनिन्छ ।


‘डेथ जोनमा मौसमको कुनै भर हुँदैन । कतिखेर ढुंगा उडाउने हावा चल्छ भनेर पत्तै हुँदैन,’ वर्षौंदेखि सम्पर्क अधिकृतका रूपमा खटिँदै आएका र आफैं पनि सगरमाथा आरोहण गरेका ज्ञानेन्द्र श्रेष्ठ भन्छन्, ‘मरे पनि मर्छु भनेर आफैं आरोहणमा जाने अनि मरेपछि के–के न भयो भनेजसरी अफवाह फैलाउन हुँदैन । सकेसम्म मर्न नपरोस् भनेर व्यवस्थापन गर्नुचाहिँ पर्छ ।’


कुनै पनि क्लाइम्बिङ (सहयोगी) शेर्पाले आरोहणमा हेलचेक्य्राइँ नगर्ने शेर्पाहरूको भनाइ छ । नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षकसमेत रहेका छिरिङजाङ्बुले भने, ‘बरु शेर्पाले भनेको नमान्दा आरोहीको ज्यान जान्छ, शेर्पाले आफ्नो आरोहीलाई सकेसम्म आरोहण गराएरै फर्काऊँ भन्ने सोचेरै काम गरेका हुन्छन् ।’ कतिपय आरोहीहरू एकल आरोहणका कारण पनि ज्यान गुमाउँछन् ।


बिनासहयोगी आरोहण गर्न जानेहरू लडेर वा बिरामी भएर मृत्युको मुखमा पर्ने गरेका छन् । त्यस्ता घटनाको दोषसमेत मिडियाले तथ्य नबुझी आफूहरूलाई दिने गरेको गुनासो शेर्पाहरूको छ । गत वर्ष एक नेपाली महिला आरोहीले क्लाइम्बिङ शेर्पाको झन्डै ज्यान लिएको आरोही दिकी शेर्पाको अनुभव छ ।


दिकी आफैं पनि आरोहणका लागि गएकी थिइन् । उनले ती महिला र उनका सहयोगीलाई दुई दिनदेखि साउथकोल (चौथो शिविर) मा बसेको भेटिन् । साउथकोलमा दुई दिन बस्नु आफैंमा जोखिमपूर्ण मानिन्छ । तिनै आरोहीको जबर्जस्तीले क्लाइम्बिङ शेर्पा पनि सँगै बसेका थिए । ‘हामी त्यहाँ पुग्दा क्लाइम्बिङ शेर्पा आफैं हरियो भइसकेका थिए । उनलाई पनि गाह्रो भएको थियो,’ दिकीले सम्झिइन्, ‘हामीले दुवैलाई गाली गरेर फर्किन भन्यौं तर आरोही मानिनन् । जबर्जस्ती गरेर अलि माथि गइन् र नसकेपछि फर्किइन् ।’


अधिकांश आरोही ‘समिट फिभर’ अर्थात् जसरी पनि शिखर चुम्ने नशाले गर्दा ज्यान गुमाउँछन् । यस वर्षका ९ जनाले पनि शिखर पुगेर फर्किंदा ज्यान गुमाएका हुन् । ‘सकिनँ भने फर्किन्छु । हिमाल त्यहीँ छ । अर्को पटक आउँला भन्ने कसैले सोच्दैनन्,’ आरोही खिमलाल गौतमले भने, ‘मानसिक दबाब र खर्चका कारण आरोही एकैपटकमा चढेर फर्किनैपर्छ भन्ने स्थितिमा पुग्छन् ।’


उकालो जाँदा उनीहरूको शरीर कमजोर भइसकेको हुन्छ । फर्किंदा सिञ्चित शक्ति नभएपछि धेरैले बाटामै ज्यान गुमाउँछन् । अक्सिजन नपुग्दा मानसिक सन्तुलन गुम्ने गर्छ । त्यसपछि सहयोगी शेर्पाले पनि आरोहीलाई नियन्त्रणमा राख्न सक्दैनन् । यसै वर्ष कञ्चनजंघा आरोहणमा दुई भारतीयले मानसिक सन्तुलन गुमाएपछि शेर्पाहरूले बल्लतल्ल नियन्त्रणमा लिएर आधारशिविर झारेका थिए ।


मौसम नखुल्दा ट्राफिक जाम

सगरमाथामा ट्राफिक जामको प्रमुख कारण मौसम नखुल्नु (वेदर विन्डो क्लोज) हो । विगत वर्ष आरोहण सुरु भइसक्ने बेला यसपालि रोप फिक्सिङ (शिखरसम्म डोरी टाँग्ने काम) समेत भएको थिएन । ‘फानी’ हुरीले यहाँ पनि ठूलो असर पुर्‍यायो । बल्ल मे १४ तारिखमा रोप फिक्सिङ भयो ।


त्यतिखेरसम्म दोस्रो शिविर पुगिसकेकाले जोखिम मोलेर १६ तारिखका दिन शिखर चुमे । त्यसपछिका दिनमा मौसम खुल्नै सकेन । मौसम पूर्वानुमानको नतिजा हेर्दै आरोहीहरू आधारशिविरमै बसिरहे । अधिकांशको लक्ष्य २१ देखि २४ तारिखसम्म चढ्ने थियो । यसै कारण ट्राफिक जाम हुने अधिकांश आरोहण कम्पनी र शेर्पाहरूलाई थाहा थियो । ‘मैले त आरोहीहरू कुन–कुन मितिमा जाँदै छन् भनी सबै टेन्टमा पुगेर प्रारम्भिक तथ्यांक संकलन गरी फेसबुकमा पोस्ट गरेको थिएँ,’ सम्पर्क अधिकृत श्रेष्ठले भने, ‘तर त्यो पोस्टका

आधारमा कसैले ट्राफिक जाममा नपर्न के गर्नुपर्ला भनेर योजना बनाएनन् ।’


दबाबमा आरोहण

पछिल्लो समय नेपालका हिमाल आरोहण गर्ने विदेशीको सूचीमा भारतीयको संख्या बढेको छ । आरोहीसँगै मृत्यु हुनेको संख्या पनि बढेको हो । आरोहणको प्रमुख कारण उनीहरूलाई सरकारले दिने सम्मान र सुविधाको लोभ हो । अन्य दक्षिण एसियाली मुलुकमा समेत यस्तो प्रचलन छ ।


भारतको पश्चिम बंगाल सरकारले ८ हजार मिटर माथिको हिमाल चढ्नेलाई जागिरमा एक तह बढुवाका साथै नगद ५ लाखसम्म दिने प्रावधान राखेको छ । ‘यस्तै कारणले उनीहरू जसरी पनि चढ्नुपर्छ भन्ने मानसिक दबाबमा हुन्छन्,’ पिक प्रमोसन प्रालिका प्रमुख आङ्बाबु शेर्पाले भने, ‘फेक प्रमाणपत्र बनाउनुको पछि पनि यही कारण लुकेको छ ।’


अस्वस्थ प्रतिस्पर्धा

आरोही मृत्युको कारणमा आरोहण कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धासमेत जोडिएको छ । सस्तो मूल्यमै आरोहण गराउने जिम्मा लिने प्रतिस्पर्धाले कतिपय साना कम्पनीले गुणस्तरहीन गिअर (आरोहणमा प्रयोग हुने कपडा र सामग्री) प्रयोग गरिदिन्छन् । यसका कारण छिट्टो चिसो लाग्नेजस्ता समस्या निम्तिन्छन् । कतिपयले सुविधाका नाममा पैसा कमाउनेसमेत गरेका छन् ।


आरोहणलाई साहसिकभन्दा सुविधाजनक बनाउन थालिएको नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष जिम्बाजाङ्बु शेर्पाले बताए । ‘यस्तो प्रतिस्पर्धाले आरोहीलाई सुविधा दिने कुरामा फाइदा नै होला तर एडभेन्चरका लागि आरोहण गर्ने भन्ने कुराको चाहिँ अन्त्य नै गरिदियो,’ उनले भने, ‘तत्कालका लागि फाइदा देखिए पनि यसबाट दीर्घकालीन रूपमा फाइदा देखिन्न ।’


अन्तर्राष्ट्रिय चासो

बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बीबीसी टेलिभिजनसँगको अन्तर्वार्तामा सगरमाथामा ट्राफिक जामकै कारण आरोहीको मृत्यु नभएको स्पष्ट पारे । अनुमति धेरैलाई दिएर नभई लामो समय मौसम नखुल्दा ट्राफिक जाम भएको उनले दाबी गरे ।


पर्यटन विभागले पनि बुधबार विज्ञप्ति जारी गर्दै यही आशय दोहोर्‍यायो । संख्याका हिसाबले यसपालि गत वर्षभन्दा ३५ जना मात्रै बढीले अनुमति लिएको विज्ञप्तिमा उल्लेख छ । विभाग महानिर्देशकले भ्रममा नपर्न सबैलाई आह्वानसमेत गरेका छन् । यी दुवै प्रसंग सगरमाथा आरोहणको पछिल्लो सिजनमा ९ आरोहीले ज्यान गुमाएको घटनासँग जोडिएका छन् । प्रधानमन्त्रीको अन्तर्वार्ताले सगरमाथाबारे अन्तर्राष्ट्रिय जगतको पनि गहिरो चासो रहेको प्रस्ट्याएको छ ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?