६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको साबिक भसेढवा गाविसका तत्कालीन प्राविधिक सहायक अखिलेन्द्रकुमार यादवसहित ३ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक सुरक्षा भत्तालगायत सरकारी बजेट भ्रष्टाचार गरेको पुष्टि भएकाले यादवसहित तत्कालीन गाविस सचिवद्वय जवाहरलाल झा र जयचन्द्रप्रसाद जयसवालविरुद्ध मुद्दा चलाइएको अख्तियारले जानकारी दिएको छ ।


उनीहरूले सामाजिक सुरक्षा भत्ता आफ्नै वा अरू कसैको औंठाछाप प्रयोग गरी आफैंले बुझेर अनियमितता गरेको भेटिएको अख्तियारले उल्लेख गरेको छ । उनीहरूले अर्धसरकारी अनुदान रकम र स्थानीय पूर्वाधार विकास निर्माणको रकम पनि दुरुपयोग गरी ४१ लाख ७७ हजार ६ सय ५१ रुपैयाँ भ्रष्टाचार गरेका थिए ।


प्राविधिक सहायक यादवले ३३ लाख २४ हजार ३ सय ९१, तत्कालीन गाविस सचिव झाले ५ लाख ८१ हजार ३ सय ८५ र जयसवालले २ लाख ७१ हजार ८ सय ७५ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको भनाइ छ । अख्तियारले अभियोगपत्रमा उनीहरूमाथि भ्रष्टाचार गरेबराबरको रकमलाई बिगो मानी जरिवाना र जेल सजाय गर्न मागदाबी गरेको छ ।


अख्तियारले सत्ती भन्सार कार्यालय, टीकापुर कैलालीका नायब सुब्बा दुर्गादत्त भट्टसहित २ जनाविरुद्ध शुक्रबारै विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको छ । भारतबाट सामान ल्याउने नेपाली व्यापारीको पूर्ण भन्सार महसुल काटी रसिद लिइसकेपछि पनि भन्सार छुट गराइदिएको भनी सेवाग्राहीसँग १५ हजार रुपैयाँ घूस लिएकाले नासु भट्ट र भन्सार एजेन्टका सहयोगी रामबहादुर साउदविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


झापाको दमक–१६ का व्यवसायी अभिषेक कार्कीविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरिएको छ । कार्कीले लागूऔषध मुद्दा दर्ता भई अनुसन्धान प्रक्रियामा रहेका प्रतिवादीलाई तारेखमा राखी थप अनुसन्धान नगर्ने प्रयोजनका लागि कर्मचारीलाई १० हजार रुपैयाँ घूस दिन खोजेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा चलाइएको अख्तियारको भनाइ छ ।

प्रकाशित : जेष्ठ ३१, २०७६ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?