२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री बीच भेटवार्ता, नेपालमा लगानी गर्न आग्रह

ददि सापकाेटा

पेरिस — प्रधानमन्त्री केपी शर्मा ओली र फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्ड बीच बिहीबार भेटवार्ता भएको छ । वार्तामा प्रधानमन्त्री ओलीले द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्दै फ्रान्सेली लगानीकर्ताहरुलाई नेपालमा लगानीकालागि प्रेरित गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री बीच भेटवार्ता, नेपालमा लगानी गर्न आग्रह

नेपाल र फ्रान्स सरकारबीच लगानीका बारेमा कुनै निश्चित एजेण्डा नभए पनि प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।

फ्रान्सका प्रधानमन्त्रीसित भेटघाट गर्नु अघि ओली तीनवटा कार्यक्रममा उपस्थित भएका थिए । बिहान उनले प्रवासस्थित नेकपाकाे भातृ संगठन नेपाली प्रवासी मञ्चका कार्यकर्ताहरुसित होटेल ओरिसामा छलफल गरेका थिए । छलफलका क्रममा उनले दुई पार्टीको एकता, सरकारको नीति तथा कार्यक्रम र आगामी योजना सुनाए । आफ्ना कार्यकर्तालाई प्रवासबाटै भए पनि देश विकासमा जुत्नुपर्ने बताए ।

मञ्चको कार्यक्रम सकेपछि ओलीले पेरिसमा नेपाली ब्यापारीहरुको बीचमा छलफल गरे । विदेशी लगानी भित्र्याउन सबैभन्दा महत्वपूर्ण सुरक्षा रहे पनि हाल नेत्रविक्रम चन्द समूहले आतंक मच्चाएकाले नेपाली ब्यापारीहरु सशंकित रहेको बताएका थिए ।

नेपाली ब्यापारीहरुको सुरक्षाको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले चन्द समूहलाई पेरुका अकम्युनिस्ट नेता गोन्जालोसित तुलना गरे । 'पेरुमा कुनै दिन गोन्जालो भन्ने नेता थिए । तिनलाई पक्राउ गरेर जेल हालेपछि त्यहाँको कम्युनिस्ट नामको पार्टीनै सक्कियो,' उनले भने, 'यो विप्लव समूह भन्ने पनि त्यस्तै हो । केही ब्यक्ति छुट्टिएर गएर पार्टी भनेका छन्, अस्तित्व रहन एक दुई वक्तब्य जारी गर्छन् । लुटपाट मच्चाउँछन् । धेरैलाई पक्राउ गरिसकियो । अब केही बाँकी छन्, तिनलाई पक्राउ गरेपछि त्यो पार्टी सक्किन्छ ।'

नेपालमा संविधान बनिसकेकाे र कम्युनिस्ट सरकारको बहुमत समेत रहे पनि चन्द समूहले कम्युनिस्टका नाममा बद्नाम गरेकाे पनि ओलीले सुनाए । 'कम्युनिस्टको सरकार चाहिएको भए कम्युनिस्टको सरकार छ । जननिर्वाचित सरकार चाहेको भए त्यो पनि छ । अनि कम्युनिस्टको नाममा बदनाम गरेर लुटपाट गर्ने ? सरकारले नियन्त्रणमा लिन्छ ।'

फ्रान्सेली उद्याेगी र लगानीकर्ताहरुसितको छलफलमा ओलीले नेपालमा द्वन्द्व सक्किएर दुई तिहाईको निर्वाचित सरकार बनेको, स्थायी शान्ति कायम भएको, सरकारले वैदेशिक लगानीकालागि उचित नीति बनाएको, कानुनी झन्झटहरु हटाएर लगानीका लागि सहज वातावरण बनाएकाले फ्रान्सेली लगानीकर्ताहरुलाई निर्धक्क भएर लगानी गर्न आव्हान गरेका थिए । 'तपाईहरुको लगानी सुरक्षित हुन्छ । सरकारका तर्फबाट म जिमेवारी लिन्छु । ढुक्कले लगानी गर्नुस् । नाफा पूँजी कमाउनुस्, कमाएको धन लैजानुस्,' उनले भने ।

पेरिसमा लोकतन्त्र र गणतन्त्रको संघर्ष पूर्खाले गरिदिएको, मेट्रो, रेल, सडक, यातायात, विकासका आधार सबै पूर्खाले बनाइदिएकाले अहिलेको पुस्ताले सजिलोसित काम गर्न पाएको तर नेपालमा लोकतन्त्र र गणतन्त्रकालागि पटक–पटक अहिलेकै पुस्ताले संघर्ष गर्नु परेको, संविधान र नितिनिर्माण अहिलेकै पुस्ताले बनाएर सम्बृद्धिका लागि लाग्नुपरेकोले देश विकासमा केही ढिला भएको उल्लेख गरे ।

नेपालले फ्रान्ससित खरिद गरेको वाइड बडी विमानलाई अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै ल्याण्डिङ गर्न नदिएपछि प्रधानमन्त्री ओलीले त्यसको आलोचना गर्दै आएका थिए । यस पटकको फ्रान्स भ्रमणका क्रममा उनले त्यो प्रावधान हटाउन फ्रान्सेली विमान उत्पादक कम्पनी र उद्याेगीहरुसित माग गरेका छन् । 'फ्रान्सबाट किनेको विमान उसैको विमानस्थलमा ल्याण्ड गर्न नपाउने भनेपछि त हामीलाई समस्या भयो । यो प्रावधान हटाउनका लागि प्रधानमन्त्रीले आग्रह गर्नु भएको छ । वआन कम्पनी उत्पादकहरुलाईपनि भन्नुभएको छ र हामी युरोपेली परिषदमार्फत यो प्रावधान हटाउन लागेका छौं,' परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ।

केबुलकार अवलोकन गर्न प्रधानमन्त्री हिमाली क्षेत्रतिर

प्रधानामन्त्री ओली शुक्रबार युरोपकै सर्बाधिक अग्लो हिमाल (४८१० मि)रहेको फ्रान्सको सामोनी जाने भएका छन् । त्यहाँ उनले सगरामाथा लगायत अन्य हिमाल आरोहण गरेका आरोहीहरुलाई भेट्ने कार्यक्रम छ ।

उनको सम्मानमा सामोनी नगरपालिका प्रमुख एरिक फुर्नियले स्वागत कार्यक्रम राखेका छन् । सामोनी र नेपालको हिमाली क्षेत्रका बीचमा समानता रहे पनि सामोनीमा प्रत्येक दिन एकलाख देखि एकलाख ३० हजार पर्यटक आउने हुनाले पनि प्रधानमन्त्री ओलीले त्यस क्षेत्रको अवलोकन गर्न खोजेको फ्रान्सका लागि नेपाली राजदूत दिपक अधिकारीले बताए । प्रधानमन्त्रीले त्यहाँ नेपालले आव्हान गरेको भ्रमण वर्ष सन् २०२० सफल पार्न सहयोगको आव्हान गर्नेछन् ।

नेपालमा हिमाली क्षेत्र अवलोकनकालागि बिभिन्न क्षेत्रमा केबुलकार निर्माणको योजना र चाख रहेकाले सामोनी हिमालसम्म पुर्‌याउने उच्च प्रबिधिको केबुलकार हेरेर प्रधानमन्त्री ओलीले नेपालकालागि शिक्षा लिन खोजेको सामोनीको स्थानीय पत्रिका ल दोफिनले उल्लेख गरेको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?