१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

'आरोहीको मृत्यु अधिक अनुमतिले होइन’

सुरज कुँवर

काठमाडौँ — यसपटकको वसन्तकालीन सगरमाथा आरोहणमा ८ जनाको मृत्यु हुनुको कारण ट्राफिक जाम र अधिक अनुमति नभएको सरकारले प्रस्ट्याएको छ । 

बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बीबीसीले यस विषयमा सोधेको भोलिपल्ट उनैको जिम्मामा रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहत रहेको पर्यटन विभागले बुधबार विज्ञप्ति जारी गर्दै यसबारे दोस्रोपटक धारणा सार्वजनिक गरेको हो ।


अन्तर्वार्ताबारे सर्वत्र चर्चा भएपछि पर्यटन सचिव मोहनकृष्ण सापकोटाले विभागका महानिर्देशकलाई यस विषयमा विज्ञप्ति जारी गर्न निर्देशन दिएको सम्बद्ध एक अधिकारीले कान्तिपुरलाई बताए । यसअघि जेठ १२ पनि विभागले आरोहीको मृत्युलगायत विषयमा प्रस्ट्याउन विज्ञप्ति जारी गरेको थियो ।


‘सञ्चार माध्यममा उठिरहेको सगरमाथामा ट्राफिक जाम र अधिक अनुमतिपत्रका कारण आरोहीको मृत्यु भएको तथा हराइरहेको भन्ने विषयप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको छ,’ विभागका महानिर्देशक डन्डुराज घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


विभागले आरोहीको मृत्युको कारण हाई अल्टिच्युट, प्रतिकूल मौसम र आरोहीको शारीरिक कमजोरी भएको उल्लेख गरेको छ ।

आरोहण दल व्यवस्थापन गर्ने एक्सपिडिसन एजेन्सी र आरोहण दलमा खटिने सरकारी सम्पर्क अधिकृतले विभागमा पेस गरेको प्रतिवेदनमा मृत्यु र हराउनुको कारणबारे यही उल्लेख भएको महानिर्देशक घिमिरेले जनाएका छन् ।


यस सिजनमा सगरमाथा आरोहणमा ३ सय ८१ जनाले दस्तुर तिरेर अनुमति लिएका थिए । तीमध्ये २ सय ८१ जना मात्रै सफल भए । ८ जनाको मृत्यु भएको थियो भने एक जना हराइरहेका छन् । यस सिजनमा विभागले ४४ वटा आरोहण दलमा रहेका आरोहीलाई सघाउन ६ सय ४२ जना सरदार, गाइड र शेर्पाले इजाजत पाएका थिए । विभागले सन् २०१७ मा ३ सय ६६ र सन् २०१८ मा ३ सय ४६ आरोही सदस्यलाई अनुमति दिएको जनाएको छ ।


प्रधानमन्त्री ओलीलाई बीबीसीले सम्पर्क अधिकृतबारे सोधेको थियो तर उनले अन्तर्वार्तामा सम्पर्क अधिकृतबारे प्रस्ट्याएका छैनन् । बीबीसीले ६० हाराहारी सम्पर्क अधिकृत खटाइएकामा ५ जना हाराहारी मात्रै सगरमाथा आधार शिविरमा रहेको भनी प्रधानमन्त्रीलाई सुनाएको थियो ।


विभागले पर्वतारोहणका क्षेत्रमा देखा परेका नीतिगत, कानुनी, संरचनागत कार्यविधि सुधारका लागि सुझाव दिन गत शुक्रबार प्रधानमन्त्रीस्तरीय निर्णयबाट सुझाव समिति गठन गरेको जनाएको छ । मन्त्रालयको जनशक्ति व्यवस्थापन तथा पर्यटन प्रवर्द्धन महाशाखा प्रमुखको संयोजकत्वमा ५ सदस्यीय गठन गरिएको हो ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?