कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपालीलाई मृत्युदण्डको फैसला

होम कार्की

काठमाडौँ — आफ्नै नातेदारको हत्यामा दोषी ठहरिएर १२ वर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई साउदी अरेबियाको पुनरावेदन अदालतले मृत्युदण्ड सजाय सुनाएको छ ।

उदयपुरको बसाहा–७, बैकडाँडाका दाहालले मोरङ, बबियाबिर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेका थिए । उनलाई जुवेलस्थित हायल जेलमा राखिएको छ ।


सार्वजनिक कानुनअनुसार मृत्युदण्डको फैसला सुनाएको तल्लो तहको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको हो । अदालतले पीडित पक्षलाई निजी अधिकारसम्बन्धी कानुन प्रयोग गर्न दिन अस्वीकार गरेको छ ।


दाहालको जीवन बचाउन रियादस्थित नेपाली दूतावासले निजी कानुनअनुसार पीडित पक्षलाई ‘ब्लडमनी’ रकम दिई माफी दिन अदालतसमक्ष अनुरोध गरेको थियो । पुनरावेदनका तीन न्यायाधीशको संयुक्त इजलासले मृत्युदण्डको फैसला सुनाएको हो । ‘दुई जना न्यायाधीश मृत्युदण्ड नै दिनुपर्नेमा मतमा उभिए । एक जना न्यायाधीश निजी कानुनअनुसार पीडित परिवारलाई फैसला गर्न दिनुपर्ने पक्षमा उभिएका थिए,’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले कान्तिपुरसँग भने, ‘पुनरावेदनले मृत्युदण्डको सजाय नै तोक्यो ।’


दाहाल, विष्ट र एक जना सुडानी जुवेलको मरुभूमिमा ऊँट गोठाला थिए । विष्ट दाहालका नातेदार पनि हुन् । ‘विष्ट र सुडानी राति सुतिरहेका बेला दाहालबाट आक्रमण भएको मिसिलमा उल्लेख छ । आक्रमण हुनेबित्तिकै विष्टको ज्यान गयो । सुडानी घाइते भए,’ राजपुतले भने, ‘प्रतिकार नै गर्न नसक्ने अवस्थामा हत्या गरेको हुँदा अदालत पीडित पक्षलाई ब्लडमनी दिलाई माफी दिने पक्षमा देखिएन ।’


पीडित पक्षले पीडकलाई माफी दिइसकेको पत्र दूतावासले अदालतलाई बुझाएको थियो । ‘यो केसमा न्यायाधीशले निजी कानुनभन्दा बढी सार्वजनिक कानुनअनुसार फैसला गरेको देखियो,’ उनले भने । दूतावासले पुनरावेदन अदालतको फैसला चित्त नबुझेपछि सर्वोच्च अदालतमा निवेदन दिएको छ ।


राष्ट्रपति विद्यादेवी भण्डारीले झन्डै १३ वर्ष जेलमा बसिसकेको र पीडित पक्षले माफी दिइसकेको हुँदा दाहाललाई माफी दिन साउदीका राजासमक्ष पत्र पठाइसकेकी छन् । ‘हामीले राष्ट्रपतिको पत्र साउदीको परराष्ट्र मन्त्रालयमा बुझाइसकेका छौं,’ उनले भने ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?