कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चार्ली युनिफर्म भेटिएको दाबी

१७ वर्षअघि मकालु आधारशिविरबाट यात्रुसहित उडेको रसियन हेलिकप्टर कहाँ गयो, पत्तो थिएन
कुम्भराज राई

ओखलढुंगा — २०५९ जेठ १७ गते । मकालु आधारशिविरबाट ६ जना भरिया लिएर फर्कंदै गरेको चार्ली युनिफर्म हेलिकप्टर बिहान १० बजेतिर अचानक बेपत्ता भयो । सुरक्षा टोलीले मकालु क्षेत्रका हिमाली खोचहरूमा खोज्नुसम्म खोज्यो ।

चार्ली युनिफर्म भेटिएको दाबी

न हेलिकप्टर भेटियो न त त्यसमा सवार यात्रु । चार महिनासम्म केही पत्तो नलागेपछि नागरिक उड्डयन मन्त्रालयले हेलिकप्टर दुर्घटना भएको निचोड निकाल्यो । खोजी बन्द भयो ।

रेस्क्यु फ्लाइटको उक्त हेलिकप्टरमा सोलुखुम्बुका वाङछु शेर्पा, निमादोर्जी तामाङ, प्रकाश कार्की, सिन्धुपाल्चोकका कर्मा तामाङ, ओखलढुंगाका प्रमोद सुनुवार, ताप्लेजुङका सार्की शेर्पा सवार थिए । चार सदस्यीय चालक दलमा क्याप्टेन रसियन ग्रेभिनिकोभ, कोपाइलट सोलुखुम्बुका सोनाम टासी शेर्पा, फ्लाइट इन्जिनियर रसियन नागरिक ए गुमार र फ्लाइट एटेन्डेन्ट डी अमात्य थिए ।

१७ वर्षपछि आएर सोलुखुम्बुका एक युवाले उक्त रसियन एमआई १७ हेलिकप्टरको अवशेष भेटेका छन् । महाकुलुङ गाउँपालिका–३, छेस्कामका चतुर कुलुङ राईले मकालु–बरुण राष्ट्रिय निकुञ्जनजिकै करिब ५ हजार मिटर उचाइलाई दुर्घटनास्थल दाबी गरेका छन् ।

उनका अनुसार हेलिकप्टर खसेकै स्थानमा पुग्न नसके पनि प्रमाणका लागि हेलिकप्टरको अवशेषका रूपमा करिब सय किलो हाराहारी तारको गुजुल्टो फेला परेको छ, जसमा रसियन अक्षर अंकित छन् । कुलुङले ‘वातेल्मा पिक’ छेउबाट बगेर आएका दुइटा हिमनदीको मुनिपट्टि पाखामा तार भेटेका हुन् । उक्त तार वातेल्मा खोलाले बगाएर ल्याएको अनुमान गर्दै उनले त्यही पिक नजिकैको खोचमा हेलिकप्टर खसेको दाबी गरेका छन् ।

‘मकालु आधारशिविरबाट सोलुतर्फ लाग्नेबित्तिकै दुइटा ठूला पिक छन् । एउटा अग्लो छ, अर्को अलि होचो,’ उनले भने, ‘ती दुइटा पिकको खोचमा हेलिकप्टर खसेको छ । त्यही खोचबाट आएको हिमनदीले तार बगाएर ल्याएको देखिन्छ ।’ कुलुङका अनुसार उनले यसअघि मेरापिक जाने पदमार्ग निर्माणका क्रममा हेलिकप्टरका अन्य स–साना भाग बगेर आएको देखेका थिए । सोही आधारमा हेलिकप्टर त्यहीं खसेको अनुमानसहित खोजीमा निस्केका हुन् ।

घटनास्थल दाबी गरिएको स्थान अत्यन्त दुर्गम छ । छेउछाउ बस्ती छैन । कुलुङ गाउँकै ज्ञानबहादुर कुलुङ, निश्चल कुलुङ र पदमबहादुर कुलुङलाई सहयोगी लिएर गएका हुन् । उनीहरू महाकुलुङको छेस्कामबाट पाँच दिन पैदल यात्रापछि त्यहाँ पुगेका हुन् । जेठ ९ गते घटनास्थल पुगेर १४ गते गाउँ आइपुगेको राईले बताए ।

गत चैतमा कान्तिपुरको कोसेलीमा प्रकाशित ‘कहाँ हरायो चार्ली युनिफर्म ?’ लेख पढेपछि उनलाई खोज्न जाने हुटहुटी लागेको रहेछ । ‘मेरा दाजु भेडा चराउन निकै माथि हिमालका काखहरूमा पुग्नुहुन्थ्यो । त्यही क्रममा वातेल्मा पिकनजिकै पुग्दा फलामका ठूला टुक्रा, तारहरू भेटेको सुनाउनुहुन्थ्यो,’ कुलुङले भने, ‘कान्तिपुरको लेख पढेपछि उहाँका कुरा सम्झिएँ र त्यो पक्कै चार्ली युनिफर्मकै अवशेष हुनुपर्छ भन्ने लागेर खोज्न निस्किएको हुँ ।’

कुलुङ टोली ज्यानको बाजी राखेर अक्करे भीर छिचोल्दै त्यहाँ पुगेको थियो । उनले प्रमाणका लागि अवशेषको तस्बिर, भिडियो र तार लिएर आएका छन् । हेलिकप्टर बेपत्ता भएको समयमा पत्ता लगाउनेलाई २ लाख रुपैयाँ पुरस्कार दिने आह्वान गरिएको थियो । सोही सूचनालाई आधार मानेर हेलिकप्टर कम्पनीका मालिकलाई जानकारी गराए पनि कुनै प्रतिक्रिया नपाएको कुलुङले बताए । अब नागरिक उड्डयन प्राधिकरणलाई औपचारिक रूपमा जानकारी गराउने उनको तयारी छ ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?