३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कुष्ठरोगीखानाले बदल्यो गाउँ

प्रतीक्षा काफ्ले

स्याङ्जा — रिस उठदा गाली गरिन्थ्यो, ‘तँलाई मालुंगा पठाइदिम्ला ।’ मालुंगा गाउँको नाम सुन्नासाथ सबैले ‘दूरदूर’ गर्थे । यसको कारण थियो, सरकारले कुष्ठरोगीलाई उपचार गराएर बसोबास गराउने गाउँ थियो मालुंगा । त्यसबेला कुष्ठरोगी समाजबाट ‘बहिष्कृत’ थिए । ‘कसैले गाउँको नाम नसोधिदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो,’ ६४ वर्षीय टंकप्रसाद पाण्डेले सुनाए । 

कुष्ठरोगीखानाले बदल्यो गाउँ

साविकको मालुंगा टुनीबोट गाविस । अहिले गल्याङ नगरपालिका–१ मा पर्ने मालुंगामा १९९६ सालमा कुष्ठरोगी खाना खोलिएको थियो । त्यहाँ कुष्ठरोगी ल्याएर राखिन्थ्यो । ‘देशभरि कुष्ठरोगको महामारी थियो । सहज उपचार थिएन । यहाँ ३ ठूला भवन र एउटा गोदामघर थिए,’ स्थानीय गोविन्दप्रसाद बस्यालले भने, ‘पूर्वाधार भएकै कारण रोगीलाई यहाँ ल्याएर राखिएको थियो ।’


उनका अनुसार यहाँ बस्ती थिएन, कालीगण्डकी नदी नजिकै रहेकाले दाहसंस्कार गर्न सहज हुन्थ्यो । मालुंगामा बालबालिकादेखि बूढाबूढीसम्मका बिरामी ल्याइन्थे । कुष्ठरोगीको उपचार र पालनपोषणको जिम्मा सरकारले लिएको थियो । भवनहरू १९५७ सालमा बनेका थिए । स्थानीयका अनुसार कमेरे पानी खाए कुष्ठरोग निको हुन्छ भन्ने मान्यता थियो । मालुंगामा अझै पनि कमेरे पानी देख्न सकिन्छ । यसैकारण पनि बिरामी यहाँ ल्याइएको अनुमान स्थानीयको छ ।


अरूतिरकाले गाली गर्दा मालुंगा पठाइदिने र कटाइदिने भन्ने गरे गाउँको अवस्था सामान्य नै रहेको स्थानीय विष्णु बस्यालले बताइन् । ‘घरगाउँको जिम्मा कुष्ठरोगीलाई दिएर मानिस बाहिर जान्थे,’ उनले भनिन्, ‘मै पनि हप्ता दस दिन उनीहरूकै विश्वासमा घर छाडेर गएकी थिएँ ।’ नबुझासम्म सर्छ कि भनेर गाउँले डराएका थिए । ‘नियमित औषधि खाए कुष्ठरोग निको हुने र अरूलाई नसर्ने बुझेपछि कुष्ठरोगी र स्थानीयबीच हेलमेल भयो,’ वडा सदस्यसमेत रहेका पाण्डेले सुनाए, ‘गाउँलेले दूध, दही र मही दिन्थे । कुष्ठरोगीले उब्जाएका सागसब्जी दिन्थे ।’


बस्यालका अनुसार ३० जोडी कुष्ठरोगीले यहीँ बिहे गरे । उनीहरूले जन्माएका छोराछोरीलाई रोग सरेन । बढी सन्तान नजन्माऊन् भनेर सरकारले परिवार नियोजन गराइदिन्थ्यो । ‘छोराछोरी निरोगी भएका कारण केही हुँदो रहेनछ भन्ने विश्वास हामीलाई पनि भयो,’ बस्यालले भने । सुरुमा ४ स्थानीयलाई पनि कुष्ठरोग लागेको थियो । रोगीहरूलाई सरकारले ठेक्कामार्फत रासनपानी व्यवस्था गरेको थियो । बिरामी महिला र पुरुष बराबरी थिए । कुन ठाउँबाट रोगी ल्याइएको भन्ने स्थानीयलाई जानकारी थिएन ।


बदलियो गाउँ

कुष्ठरोगी खाना सञ्चालन हुने बेला गाउँभरि डेढ सय घर थिए । अहिले ७ सय ५० पुगेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र छ । १२ कक्षासम्म पढाइ हुने मावि, सडक, आँप, कटहर, लिचीलगायत फलफूलको बगैंचा छन् । ७६ वर्षीय कृष्णबहादुर रानाले गाउँको विकासमा कुष्ठरोगीको विशेष सहयोग र भूमिका रहेको बताए ।


‘हातखुट्टा ठुटा भए पनि पाटीपौवा, चौतारा, बाटो बनाउनमा उनीहरूको ठूलो योगदान थियो,’ उनले भने, ‘छिमेकी गाउँभन्दा मालुंगा विकसित हुनुको जस उनीहरूलाई नै दिन्छौं । उनीहरूले रोपेका फलफूलले अहिले हामी आत्मनिर्भर बनेका छौं ।’ कुष्ठरोगीले ५ फिटसम्मका ढुंगा कुँदेर विभिन्न योजनाका काम उनले सुनाए । यहाँको बसिनडाँडा–टुनिबोट ग्रामीण सडक कुष्ठरोगीले नै निर्माण गरेको स्थानीयको भनाइ छ ।


वडासदस्य पाण्डेका अनुसार मालुंगादेखि राम्दीसम्म पुग्ने सिँढी पनि रोगीहरूले बनाएका हुन् । सिद्धार्थ राजमार्ग खन्ने समयमा पनि यहाँका रोगीले धेरै सहयोग गरेका थिए । अहिले उनीहरूलाई राखिएको ठाउँमै प्राथमिक स्वास्थ्य केन्द्र बनाइएको छ । चिकित्सकले सेवा दिन्छन् ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?