कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बेलायत भ्रमण उपलब्धिमूलक : प्रधानमन्त्री

नवीन पोखरेल

लन्डन — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन दिने बेलायत भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । भ्रमणको अन्तिम दिन आफ्नो सम्मानमा दूतावासमा आयोजित रिसेप्सनमा ओलीले भने, 'समकक्षी टेरेजा मेसहित ब्रिगेड अफ गोर्खाज् मुख्यालय, विभिन्न सांसद र अन्य वरिष्ठ राजनीतिज्ञहरुसँगको भेटले सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुकसँगको सम्बन्ध थप प्रगाढ बनेको छ ।'

बेलायत भ्रमण उपलब्धिमूलक : प्रधानमन्त्री

ओलीले मंगलबार समकक्षी मे, प्रिन्स ह्यारी, प्रमुख प्रतिपक्षी दल लेबर नेता जेरेमी कोर्बिन लगायत नेता, व्यापारी र गोर्खा समुदालाई भेटेका थिए ।


सत्र वर्षपछि नेपालका प्रधानमन्त्री बेलायत आए पनि बेलायती प्रधानमन्त्रीले राजीनामा दिएकाले कुनै सम्झौता भएन । ओलीले बेलायत नेपाल दुई शताब्दी भन्दा लामो कूटनीतिक सम्बन्ध भएको स्मरण गर्दै उच्चस्तरीय भ्रमण श्रृंखला निरन्तर बनाउन पनि आग्रह गरेका थिए । बेलायत-नेपाल सम्बन्ध बहुआयामिक र विभिन्न कोणबाट अगाडि बढेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अप्ठेरो परिस्थितिमा बेलायतको सहयोग निरन्तर प्राप्त भएको पनि जनाए । बेलायतको सहयोग नेपालको लोकतन्त्र र समृद्धि संस्थागत गर्न कोशेढुंगा भएको उनले बताए।


विदेशी र नेपाली गरी झण्डै पाँच सयमाझ उनले गोर्खाहरु बेलायत-नेपाल सम्बन्धको प्रमुख कडी भएको बताए । 'नेपाली वीर छन् भन्ने कुरा सबैभन्दा पहिला बेलायतले थाह पायो'', मजाक गर्दै प्रधानमन्त्री ओलीले थपे, 'गोर्खाहरु ब्रिटिस सेनामा आएपछि त वीर नेपालीबारे अन्तर्राष्ट्रिय रुपमै थाह भयो ।' उनले नेपाली कर्तव्यपरायण र अनुशासित भएको प्रसंग उल्लेख गर्दै नेपाली जहाँ पुगेका छन् त्यहाँ पीडा र अप्ठेरो होइन, बरु नेपालको प्रतिष्ठा उँचो बनाएका बताए । ओलीले नेपालीलाई आफ्नो कारोबार मिलाएर नेपाल फर्कन पनि आग्रह गरे ।


प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलसहित बुधबार नै रेल चढेर पेरिसतर्फ लागेका छन् ।

प्रकाशित : जेष्ठ २९, २०७६ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?