कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदलाई ल्यापटप

काठमाडौँ — संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३ सय ३४ सांसदलाई एकएकवटा ल्यापटप दिने भएको छ । सांसदहरूलाई ‘पेपरलेस’ र ‘सूचना प्रविधिमैत्री’ बनाउन सचिवालयले अत्याधुनिक ल्यापटप दिन लागेको हो ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदलाई ल्यापटप

सचिवालयले आर्थिक वर्षको अन्त्यमा अर्थ मन्त्रालयको सहमतिमा बजेट रकमान्तर गरी ल्यापटप खरिद प्रक्रिया अघि बढाएको छ । सचिवालयले प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदका लागि ल्यापटप खरिद गर्न गत जेठ १९ मा बोलपत्र आह्वान गरिसकेको छ ।


बोलपत्रबाट छनोट हुने प्रस्तावक कम्पनीले एक महिनाभित्रै ३ सय ३४ ल्यापटप उपलब्ध गराउने सचिवालय स्रोतले जानकारी दिएको छ । राज्यकोषबाट करिब साढे ३ करोड रुपैयाँ खर्चेर सांसदका लागि ल्यापटप दिन लागिएको हो ।


सबै सांसदलाई ल्यापटप उपलब्ध गराइसकेपछि सचिवालयको पेपर, प्रिन्ट र फोटोकपीका लागि हुने खर्च कटौती हुने सचिवालय स्रोतको दाबी छ ।


‘सांसदले आफ्नो प्रस्ताव र टिपोट ल्यापटपमै तयार गर्नेछन् । आफूलाई चाहिने डकुमेन्टसमेत त्यसमै राख्नेछन्,’ सचिवालय स्रोतले भन्यो, ‘सांसदबीच प्रस्ताव र डकुमेन्टको आदानप्रदान पनि त्यसबाटै हुनेछ ।’


सचिवालयले सांसदहरू सूचना प्रविधिमैत्री हुँदै गएपछि उनीहरूलाई संसद्मा दर्ता हुने विधेयक, प्रस्ताव र अन्य डकुमेन्टसमेत इन्टरनेटमार्फत पठाउने र त्यसबाट कागजमा हुने ठूलो खर्च बचत हुने स्रोतको दाबी छ । ‘बिस्तारै संघीय संसद् सचिवालय पेपरलेस हुँदै जानेछ,’ स्रोतले

कान्तिपुरसँग भन्यो ।


संघीय संसद्का सबै समितिका बैठकलाई समेत बिस्तारै प्रविधिमैत्री र पेपरलेस बनाउँदै लैजाने तयारी भइरहेको छ । त्यसलाई ल्यापटपले सहयोग पुर्‍याउने सचिवालय अधिकारीहरूको विश्वास छ ।


सांसदलाई पहिलो पटक ल्यापटप दिन लागिएको हो । सचिवालयले सांसदलाई ल्यापटप चलाउन पनि सिकाउनेछ । ‘ल्यापटप र इन्टरनेट चलाउन नजान्ने सांसदलाई सचिवालयले छोटो समयको तालिम दिनेछ,’ स्रोतले भन्यो । सचिवालयले ‘क्षमता अभिवृद्धि’ शीर्षकमा रहेको बजेटबाट सांसदलाई तालिम दिने तयारी गरेको छ । ल्यापटप चलाउन नजान्ने सांसदको संख्या संसद्मा ठूलो रहेको सचिवालयको अनुमान छ ।


सचिवालयले राज्यको ढुकुटीबाट ल्यापटप किनेर दिनुपर्ने सांसद कमै रहेको स्रोतले उल्लेख गरेको छ । ‘धेरैजसो सांसद ल्यापटप आफैं किन्ने हैसियतका छन् । जो सांसद इन्टरनेट र कम्प्युटरमैत्री छन्, उनीहरू सबैसँग ल्यापटप छ,’ सचिवालयकै एक अधिकारी भन्छन्, ‘जोजो सांसदले चलाउन जान्दैनन्, तिनलाई ल्यापटप र प्रशिक्षण दिए पनि चलाउँदैनन् । त्यस्ता सांसदलाई ल्यापटप दिनु राज्यको ढुकुटीको दुरुपयोग मात्र हो ।’


प्रकाशित : जेष्ठ २९, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?