हुरीपीडितलाई गर्मीको मार

निर्मला खडायत

(धनगढी) — पश्चिम तराईका कैलाली र कञ्चनपुरमा वैशाख पहिलो सातादेखि नै अत्यधिक गर्मी छ । हरेक दिन तापक्रम ४० डिग्री नाघेको छ । 

हुरीपीडितलाई गर्मीको मार

हावाहुरीले घरको छानो उडाएर खुला आकाशमुनि बसेका परिवार बिचल्लीमा छन् । राति लामखुट्टे र दिनमा चर्को गर्मीले बसिनसक्नु पारेको उनीहरूले बताए । ‘केहीबेर अरूको घर गएर बस्छौँ, कुनै बेला रूखको छहारीमा बसेर बिताउँछौँ,’ कैलालीको फूलबारी–१४ की अञ्जु समालले भनिन्, ‘हरेक दिन बढदै गएको गर्मीले बसिसक्नु छैन ।’


गर्मी बढेपछि निम्न आय भएका मजदुर, रिक्सा चालक, ठेला चालकलगायतलाई निकै समस्या छ । त्यसभन्दा बढी समस्या बिहीबार छानो उडाएका परिवारलाई भएको छ ।


‘हुरीले जस्तापाता उडाएर लगेपछि अहिले खुला आकाशलाई छानो बनाएर बस्नुपरेको छ,’ फूलबारीकै ईश्वरी बुढाले भनिन् । धनगढी बजारमा सानो नास्ता पसल चलाएर बसेकी ईश्वरीले गर्मीले दिउँसो काम गर्नसमेत गाह्रो हुने गरेको बताइन् ।


हुरीले पोल ढालेर बिजुली गएपछि घरभित्र बस्न पनि गाह्रो भइरहेको बैयाबेहडीका मिलन रैकाले बताए । ‘धेरै ठाउँमा बत्ती पुगेको छैन, हाम्रो एरियामा शनिबार बत्ती आयो, आयो के भन्नु समय समयमा गइरहन्छ,’ उनले भने, ‘काम गर्न त गाह्रो छ नै, घरभित्र बस्न पनि मुस्किल छ यो गर्मीले ।’


गर्मीले दिउँसोको समयमा सर्वसाधारण घरबाहिर निस्कन सकिरहेका छैनन् । पक्की घरमा समेत पंखाले तातो हावा फ्याक्न थालेपछि सास्ती खेप्नुपरेको धनगढी, हसनपुरका स्थानीय राजेन्द्र आदित्य क्षेत्रीले बताए ।


अटोरिक्सा चलाएर गुजारा गर्नेहरू पनि दिउँसो रूखको छायामा बसेका हुन्छन् । ‘दिउँसो कोही रिक्सामा बस्नै चाहन्न, गर्मीले रिक्सा चलाउने साहस पनि जुटाउन सकिन्न,’ रिक्साचालक बानाश्रम कठरियाले भने । उनले गर्मीमा रिक्सा चलाउन नसकेर आम्दानी घटेको बताए ।


अत्तरियास्थित जलवायु तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालयका अनुसार बिहीबारयता कैलालीको तापक्रम बढदै गएको छ । सोमबार कैलालीको अधिकतम तापक्रम ४०.५ डिग्री थियो । मंगलबार अधिकतम तापक्रम ४० डिग्रीसम्म पुग्न सक्ने अनुमान छ ।


गत वर्ष जेठ दोस्रो साता अधिकतम तापक्रम ४१.२ डिग्री थियो । यस वर्ष सबैभन्दा बढी तापक्रम ४२.६ डिग्री पुगेको छ । कार्यालयका अनुसार अझै एक सातासम्म मौसम परिवर्तन हुने संकेत छैन ।


सेती अञ्चल अस्पताल इमर्जेन्सी शाखाका इन्चार्ज डा. जगदीश जोशीले गर्मीका कारण बिरामीको संख्या बढिरहेको भन्दै जोगिएर बस्न सुझाव दिएका छन् । उनले यस बेला खानपान र कपडामा विशेष ध्यान दिनुपर्ने बताए । झोलिलो कुरा, चिसो पेय पदार्थ बढी खान, पातलो र सुतीको कपडा लगाउन सुझाए । जोशीका अनुसार अहिले अस्पतालमा ज्वरो, झाडापखाला, टाउको र पेट दुख्ने, रिँगटा लाग्ने, बान्ता हुनेलगायत समस्याका बिरामी आउन थालेका छन् ।


‘गर्मीसँगै बिरामीको चाप बढेर दैनिक डेढ सय जना पुगेको छ,’ उनले भने, ‘अत्यावश्यक कामबाहेक गर्मीमा जथाभावी हिंडडुल गर्नुहुँदैन ।’ गर्मीका कारण टिनले छाएका विद्यालयका छात्रछात्रा र शिक्षकलाई झन् गाह्रो भएको छ ।

प्रकाशित : जेष्ठ २९, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?