२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रश्नपत्र चुहावटमा १२ जनाविरुद्ध मुद्दा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रश्नपत्र चुहावटमा संलग्न भएको आरोपमा सिरहाका प्रहरी जवान दीपेन्द्रकुमार मण्डलसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको छ ।

प्रश्नपत्र चुहावटमा १२ जनाविरुद्ध मुद्दा

२०७५ चैत १० देखि सुरु भएको एसईईमा अनिवार्य विज्ञान, सामाजिक अध्ययनलगायत विषयका प्रश्नपत्र परीक्षाअघि नै बाहिरिएका थिए ।


अख्तियारले सिरहाका प्रहरी जवान दीपेन्द्रकुमार मण्डल, ब्रह्मदेव सुनरैत र शिक्षक मनोजकुमार यादव, अरोध यादव, विष्णुदेव यादव, राजेशकुमार यादव, श्रवण यादव र इन्दल यादवविरुद्ध मुद्दा चलाएको छ । उक्त प्रकरणमा जोडिएका १६ वर्षमुनिका चार विद्यार्थीलाई पनि अख्तियारले मुद्दा चलाएको छ । प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्डको छानबिन समिति र प्रदेश २ सरकारले गठन गरेको छानबिन समितिले छुट्टाछुट्टै छानबिन थालेका थिए ।


केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि दुई प्रहरी नियन्त्रणमा लिएको थियो । उनीहरू अन्य धेरै परीक्षार्थीबीच प्रश्नपत्र पुर्‍याउने काममा खटिएको अख्तियार स्रोतको भनाइ छ । उनीहरू कार्यरत इलाका प्रहरी कार्यालय कल्याणपुरमा जनता मण्डल मावि र रादु माविका प्रश्नपत्र राखिएको थियो । जनतामा २ सय ४१ र रादुमा २ सय ५० परीक्षार्थी थिए । प्रश्नपत्रको सजिलै पहुँचमा रहेका उनीहरूमध्ये एकले सिल खोलेर प्रश्नपत्रको फोटो खिचेको स्रोतको दाबी छ ।


परीक्षार्थी प्रहरीका लागि ड्युटीमा रहेका अर्का प्रहरीले कार्यालयबाटै सिलबन्दी तोडेर प्रश्नपत्रको फोटो खिचेका थिए । उनले परीक्षार्थी रहेका प्रहरी साथीलाई फेसबुक म्यासेन्जरबाट फोटो पठाएका थिए ।


बाहिरिएको प्रश्नपत्रको तस्बिर नजिकै ब्लेडसमेत भेटिएको थियो । अनुसन्धान अधिकारीहरूले तस्बिरका आधारमा ब्लेडले सिलबन्दी काटेर प्रश्नपत्र निकालिएको निष्कर्ष निकालेका छन् । यसरी बाहिरिएको प्रश्नपत्रको फोटो सामाजिक सञ्जाल फेसबुक, भाइबर र ह्वाट्स एपमार्फत मोबाइलमा छ्यापछ्याप्ती भएको थियो ।

प्रकाशित : जेष्ठ २९, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?