१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सगरमाथा नचढी चढेको दाबी

सुरज कुँवर

काठमाडौँ — पाँच नेपाली र चार विदेशी नागरिकले यो सिजनमा सगरमाथा आरोहण नै नगरी झूटो विवरण पेस गरेको फेला परेको छ । 

सगरमाथा नचढी चढेको दाबी

पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार काठमाडौंमा रहेको प्रेस्टिज एड्भेन्चर प्राइभेट लिमिटेडबाट गएकामध्ये ९ जनाले जेठ १२ गते सगरमाथा आरोहण गरेको दाबी गर्दै प्रतिवेदन बुझाएका थिए । विभागमा उजुरी परेपछि उनीहरूमाथि छानबिन गर्दा सगरमाथा आरोहण नगरेको प्रमाण भेटिएको उनले बताइन् । ‘आरोहणको प्रमाणपत्र माग गर्दै आएको प्रतिवेदनमा उनीहरूले सगरमाथा आरोहण गरेको दाबी गरे पनि प्रमाण जुटाउन सकेनन्,’ आचार्यले कान्तिपुरसँग भनिन् ।


झूटो विवरण पेस गर्ने विदेशी आरोहीमा यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना र अंकुश छन् । पर्यटन विभागले हरेक आरोहण दलसँग सम्पर्क अधिकृत पनि खटाउने गरेको छ । यी आरोहीका लागि विश्वबन्धु रेग्मीलाई सम्पर्क अधिकृत खटाइएको थियो । तर, रेग्मी आधार शिविरमा एक दिनमात्रै बसेर काठमाडौं फर्किएका थिए । उनले स्वास्थ्यमा समस्या आइपरेकाले आधार शिविरमा बस्न नसकेको बताए । चार विदेशी र ५ नेपाली शेर्पाले सगरमाथा आरोहण गरेको प्रतिवेदन रेग्मीले भृकुटीमण्डपस्थित विभागमा बुझाएका थिए ।

‘मलाई फोनबाट सगरमाथा आरोहण गरेर फर्कियौं भनी टिपाए,’ उनले कान्तिपुरसँग भने, ‘मलाई जे भनियो, त्यही प्रतिवेदनमा लेखेको हुँ ।’ रेग्मीको जिम्मामा १० जना सदस्य थिए । तीमध्ये २ जना गएनन्, ८ जना मात्रै सगरमाथातर्फ लागेका थिए । ‘एक जनाले मात्रै चढेको रहेछ, बाँकीले चढ्दै चढेका रहेनछन्,’ उनले भने ।

यसै विषयमा विभागले आरोहण जिम्मा लिएको कम्पनीलाई पनि सोधपुछ गरेको थियो । उक्त कम्पनीले मंगलबार चार विदेशी र ५ शेर्पाले सगरमाथा आरोहण नगरेको प्रतिवेदन बुझाएको छ । प्रेस्टिज एड्भेन्चरका लेखा अधिकृत यज्ञराज उप्रेतीले सम्पर्क अधिकृत र

आफ्नो कम्पनीलाई विदेशी आरोहीले झुक्याएको बताए । ‘सगरमाथा चढ्यौं भने, हामीले उनीहरूको कुरा सुनेर विभागमा प्रतिवेदन बुझायौं तर प्रमाण दिन सकेनन्,’ उनले भने ।

ती विदेशीले चुचुरोमा पुगेको तस्बिरलगायत प्रमाण पेस गर्न नसकेकाले विभागले उनीहरूको प्रतिवेदनलाई झूटो मान्दै कारबाही गर्ने भएको छ । विभागको कानुनअनुसार यसरी फर्जी प्रमाण पेस गर्नेलाई नेपालका हिमाल आरोहणमा रोक लगाइन्छ ।

यसैबीच शेर्पाहरूले आफूहरूलाई नसोधी आरोहण गरेको भनी नाम टिपाइदिएको विभागलाई बयान दिएका छन् । यसपटकको सिजनमा ३ सय ८१ जनाले सलामी दस्तुर तिरेर सगरमाथा आरोहणको अनुमति लिएका थिए । यीमध्ये २ सय ८१ ले मात्रै आरोहण गरेका छन् । सलामी दस्तुर नतिरेर आरोहणमा जाने ३ सय ७८ सहयोगी शेर्पाहरूले पनि सगरमाथा आरोहण गरेका छन् ।

दस्तुर तिरेर जाने स्वदेशी/विदेशी तथा शेर्पासहित यसपटकको वसन्तकालीन सिजनमा ६ सय ५९ ले सगरमाथा आरोहण गरे । यिनमा ५ सय ९४ पुरुष र ६५ महिला छन् ।

प्रकाशित : जेष्ठ २९, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?