कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लन्डनमा प्रधानमन्त्री : गोर्खा, एनआरएन र व्यापारीसँग बेग्लाबेग्लै भेट

नबिन पोखरेल

लन्डन — बेलायत भ्रमणको दोश्रो दिन प्रधानमन्त्री केपी शर्मा ओली भेटघाटमा निकै व्यस्त रहे । ओलीले एकै दिन समकक्षी टेरेजा मे, राजकुमार ह्यारी, प्रतिपक्षी दलका नेता जेरेमी कोर्बिनसहित भूतपूर्व गोर्खा, एनआरएन र व्यापारीको बेग्लाबेग्लै समूहसँग छलफल गरेका हुन् । 

लन्डनमा प्रधानमन्त्री : गोर्खा, एनआरएन र व्यापारीसँग बेग्लाबेग्लै भेट

प्रधानमन्त्री ओलीसँग एनआरएनहरुले हाल संसदमा विचाराधिन नागरिकता सम्बन्धी विधेयकमा रहेको गैर आवासीय नेपाली नागरिकताको प्रावधान छिटो, छरितो र झन्झटमुक्त बनाउन आग्रह गरेका थिए ।


एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्यले ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने मुलमन्त्र अनुरुप भावी पुस्तालाई पनि नेपालसँग जोडी राख्न गैर आवासीय नेपाली नागरिकता ऐनलाई उदार र व्यवहारिक बनाउन आग्रह गरेका थिए ।


गैर आवासीय नेपाली संघ यूकेले प्रधानमन्त्री ओलीलाई उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको कदर गर्दै बेलायतवासी नेपालीका तर्फबाट नागरिक अभिनन्दन समेत गर्‍यो ।


उता, प्रधानमन्त्री ओलीले भूतपूर्व गोर्खाहरुको समस्यामा गम्भीर चासो देखाउँदै गोर्खा भर्ती नेपाल, भारत र बेलायतबीचको त्रिपक्षीय सम्झौताका आधारमा हुँदै आएकामा अब नेपाल र बेलायतबीच द्विपक्षीय सम्झौताबाट हुनुपर्ने धारणा राखेका थिए ।


प्रधानमन्त्री ओलीले समकक्षी मेसँग पनि सन्धी पुनरावलोकन गर्न जोड दिएको बताइएको छ ।


भेटघाटमा गोर्खा भूतपूर्व सैनिकका संस्थाहरु गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), गोर्खा सत्याग्रह र नेपाल भूतपूर्व सैनिक संघ (नेसा) सहभागी थिए । ब्रिटिश गोरखा वेलफेयर सोसाइटी भने भेटघाटमा सहभागी थिएन ।


सो अवसरमा गेसो सभापति कृष्णकुमार राई र गोर्खा सत्याग्रहका तर्फबाट निर्देशक ज्ञानराज राईले गोर्खा भूतपूर्व सैनिकका समस्याबारे प्रधानमन्त्री र उनको टोलीलाई अवगत गराएका थिए ।


भूतपूर्व गोर्खाहरुले गतवर्ष प्राविधिक समितिले बनाएको १३ बुँदे प्रतिवेदन कार्यान्वयनका लागि दुईपक्षीय उच्चस्तरीय समिति गठनका लागि प्रधानमन्त्री ओलीसित माग गरेको गेसो सभापति कृष्णकुमार राईले जनाए ।


प्रधानमन्त्री ओलीसँग नेकपाका यूकेस्थित भातृसंगठनको नेतृत्वले पनि भेटघाट गर्‍यो । भेटघाटमा नेकपाका यूकेस्थित भातृसंगठनहरु प्रवासी नेपाली मञ्च यूके र जनप्रगतिशील मञ्च यूकेका नेतृत्वको उपस्थिति थियो ।


त्यसपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसित दुवै संगठनको टोलीले छलफल गरेको थियो । छलफलका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेकपाका प्रवासस्थित संगठनहरुको एकता केही हप्तामै टुंगिने जानकारी दिएका थिए ।


छलफलका सहभागीले प्रवासस्थित विज्ञहरुबाट लाभ लिन, प्रवासी नेपालीहरुको नागरिकता निरन्तरता, पुस्तान्तरण, पछिल्लो पुस्ता विदेशमै पलायन हुनसक्ने चिन्ता, गोर्खा समस्या, वैधानिक बाटोबाट रेमिट्यान्स नेपाल भित्र्याउने लगायत विषय उठाएका थिए ।


उता, बेलायतका लगानीकर्ताहरुले प्रधानमन्त्री ओलीसँग दोहोरो कर प्रणाली चाँडो हटाउन अनुरोध गरेका छन् ।


ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेलको नेतृत्वमा ब्रिटिस, भारतीय मूलका ब्रिटिस र नेपाली डायस्पोराका करिब २० जनाको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसित मंगलबार नेपाली दूतावास लण्डनमा भेटी सो अनुरोध गरेको हो ।


भेटपछि प्रतिक्रिया दिंदै अध्यक्ष कँडेलले नेपालमा लगानी गर्ने ब्रिटिश कम्पनीले अहिले नेपाल र बेलायत दुवै देशमा कर तिर्नु परिरहेको उल्लेख गर्दै दुई देशबीच हुन लागेको डबल ट्याक्स अभोइडेन्स एग्रिमेण्ट (डीटीएए) मा छिटो हस्ताक्षर गर्न प्रधानमन्त्रीलाई अनुरोध गरिएको जनाए ।


ओलीले बेलायती लगानीकर्तालाई स्वागत गर्न आफूहरु तयार रहेको र दोहोरो कर लगायतका अन्य झमेला चाँडै सल्टाउने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।


प्रकाशित : जेष्ठ २९, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?