कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

प्रधानमन्त्री ओलीद्वारा बेलायती समकक्षीसँग भेट [भिडियोसहित]

नवीन पोखरेल

लन्डन — प्रधानमन्त्री केपी शर्मा ओलीले तीनदिने बेलायत भ्रमणका क्रममा मंगलबार समकक्षी टेरेजा मेसँग भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा भएको करिब आधा घण्टा लामो भेटमा दुई देशबीच सम्बन्ध सुदृढबारे छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीद्वारा बेलायती समकक्षीसँग भेट [भिडियोसहित]

बेलायती प्रधानमन्त्री मेले राजीनामा दिइसकेकाले नेपालका प्रधानमन्त्रीको १७ वर्षपछिको बेलायत भ्रमणमा कुनै पनि किसिमको सम्झौता हुन सकेन । 'सहयोगभन्दा पनि मित्रराष्ट्रबीच सहयोग सुदृढ गर्ने कुरा महत्त्वपूर्ण हो,' परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, 'बेलायतको सहयोग निरन्तर भई नै रहेको छ । हामीले यसपटक प्रविधि हस्तान्तरण र लगानीका क्षेत्रमा सहयोग गर्न जोड दिएका छौँ ।'


प्रधानमन्त्री ओलीले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिको व्याख्या गर्दै राजनीतिक संक्रमणपछि नेपाल आर्थिक विकासमा केन्द्रित रहेको बताएका थिए । परराष्ट्रमन्त्रीका अनुसार उनले नेपालको विकास प्रयासमा अझ बृहत्तर सहयोग गर्न बेलायतसँग आग्रह गरेका थिए । विकासका साथै प्राकृतिक विपत्ति जस्तै भूकम्पका बेला बेलायतको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।


बेलायती समकक्षी मेले परिवर्तनका लागि नेपाललाई बधाई दिँदै बेलायतको सधैँ दृढ समर्थन र ऐक्यबद्धता रहेको विश्वास दिलाएकी थिइन् । दुवै मुलुक राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्य भएका नाताले मानवअधिकारका विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्री ओलीले गोर्खा समस्याबारे कुरा उठाएका थिए । उनले नेपाल, भारत र बेलायतबीचको त्रिपक्षीय सन्धि पुनरावलोकन गरी गोर्खा सरोकारलाई गम्भीरतापूर्वक सम्बोधन गर्न मेलाई ध्यानाकर्षण गराएका थिए । गोर्खाहरू बेलायत-नेपाल सम्बन्धको अत्यन्त महत्त्वपूर्ण कडी भएकाले उनीहरूको समस्याबारे छलफल गरेर अगाडि बढ्ने आश्वासन मेले दिएको मन्त्री ज्ञवालीले बताए ।


भेटमा ओलीले कूटनीतिक सम्बन्ध स्थापनाको दुई शताब्दी बढी समयमा पनि बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण नभएकोप्रति ध्यानाकर्षण गराउँदै उच्चस्तरीय भ्रमण शृंखला जोड्न आग्रह गरेका थिए । प्रत्युत्तरमा मेले आफ्ना उत्तराधिकारीले भावी दिनमा भ्रमणलाई प्राथमिकता दिने जनाएकी थिइन् ।


यसैबीच, प्रधानमन्त्री ओलीले बेलायती राजकुमार हयारीसँग पनि मंगलबार भेट गरे । केन्जिङटन प्यालेसमा भएको आधा घण्टा लामो भेटमा द्विपक्षीय सम्बन्धबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । भेटमा ओलीले प्रिन्स हयारीलाई भूकम्पका बेला गरेको सहयोगप्रति धन्यवाद दिएका थिए । करिब दुई वर्षअघि नेपाल भ्रमण गरेका हयारीले नेपाल अत्यन्तै चित्ताकर्षक मुलुक भएको बताउँदै आएका छन् ।


अफगानिस्तानमा गोर्खा सैनिकहरूसँगै बसेका हयारीले गोर्खालीको बहादुरी र आतिथ्यको खुलेर प्रशंसा गर्दै आएका छन् । भूकम्प गएको झन्डै एक वर्षपछि नेपाल पुगेका हयारीले आफ्नो बसाइ लम्ब्याएर उत्तरी गोरखामा गाउँलेहरूसँगै ढुंगा र माटो बोकेर विद्यालय पुनर्निर्माणमा सघाएका थिए ।


ओली र बेलायतका प्रमुख प्रतिपक्षी दल लेबरका नेता जेरेमी कोर्बिनबीच पनि भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीसँग भूपू ब्रिटिस गोर्खा र गैरआवासीय नेपालीले दूतावासमा बेग्लाबेग्लै भेट गरी समान पेन्सन मुद्दा र दोहोरो नागरिकताका सवालमा छलफल गरेका थिए ।

भिडियो

प्रकाशित : जेष्ठ २८, २०७६ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?