सडक विस्तारको क्रममा फाइबर अप्टिक भएको पाइप फुट्यो
काठमाडौँ — अमलेखगन्ज–रक्सौल–मोतीहारी तेल पाइपलाइन परियोजनाअन्तर्गत नेपालतर्फको वीरगन्ज पथलैया व्यापारिक मार्गमा परेको फाइबरको पाइपलाइन परवानीपुर नजिक सडक विस्तारको क्रममा फुटेको छ ।
विरगन्ज पथलैया व्यापारिक सुधार आयोजनाले सडक विस्तारको क्रममा लगाएको डोजरले फाइबरको पाइप फुटाइदिएको हो । उक्त पाइपमा रहेको अप्टिकल फाइलबरले भारतबाट नेपाल आउने तेलबारे विभिन्न प्रकारको तथ्यांक तथा सूचना दिने गर्छ ।
नेपाल आयल निगमका जीएम सुरेन्द्र पौडेलका अनुसार सो पाइप लाइन फुटेसँगै जुन ३० मा गरिने भनिएको परिक्षणको मिति परसर्ने भएको छ । उनको अनुसार विगतमा पनि सडक विस्तारको क्रममा सो पाइपलाइन यसरी नै फुटेको थियो । 'घरीघरी सडक खन्दा पाइप फुट्नु भनेको सुरक्षा चुनौती पनि हो,' उनले भने, 'पाइप मात्रै ७-८ मिटर फुटेको हो । तर, तेल जस्तो संवेधनशिल वस्तु भएकोले त्यति पनि ठूलै मान्नुपर्छ । किनभने त्यो भन्दा केही मुनी मुख्य पाइप छ ।'
उनको अनुसार बुधबार परिक्षणको अन्तिम तयारीबारे जानकारी लिन भारतीय आयल निगमका अधिकारी नेपाल आउन लागेको बेला भएको यो घटनाले केही जटिलता निम्त्याएको छ ।
'हामी मुख्य सचिव र मन्त्रीलाई यसबारे जानकारी दिनका लागि जाँदै छौं,' उनले भने ।
इन्डियन आयल कर्पोरेसनको लगानीमा सञ्चालित यो परियोजनाका लागि नेपालले पाइप लाइन ओछ्याउने स्थान र वीरगन्जका केही स्थानमा नेपाल आयल निगमले मुआब्जा वितरणको कामबाहेक नेपाल सरकारको लगानी छैन । परियोजनाको लागत प्रतिकिमि भारु ४ देखि ५ करोड रुपैयाँ रहेकाले परियोजनाको कुल लागत झन्डै ३ सय ५० करोड रहेको छ ।
तस्बिर स्रोत : एनओसी