२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

खेमा लिपि युनिकोडमा

गणेश गुरुङ

काठमाडौँ — तमु (गुरुङ) भाषाको खेमा लिपिलाई युनिकोडमा लेख्न मिल्ने बनाइएको छ । व्यवहारमा लागू भएको करिब ४६ वर्षपछि प्रविधिमैत्री हुनेगरी युनिकोडमा लेख्न मिल्ने बनाइएको हो ।

खेमा लिपि युनिकोडमा

तमु ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद्द्वारा सोमबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा भाषाशास्त्री योगेन्द्र यादवले युनिकोड फर्म्याट सार्वजनिक गरे । ‘भाषा बोलीचालीमा बाँच्ने हो,’ उनले भने, ‘खेमा लिपिलाई युनिकोडमा बदल्नु भनेको अन्तर्राष्ट्रिय महत्त्व बढाउनु हो । अब गुगलको माध्यमबाट विश्वभरि प्रयोग गर्न सकिन्छ ।’


तिलक गुरुङले नौ महिना लगाएर खेमा लिपिको युनिकोड निर्माण गरेका हुन् । ‘देश संघीयतामा बदलिएका बेला गुरुङ समुदायको भाषा, लिपि, संस्कृतिप्रति चौतर्फी चासो बढेको छ,’ उनले भने, ‘अब कम्प्युटर, मोबाइलबाटै खेमा लिपि सिक्ने आधार बनेको छ ।’


परिषद् अध्यक्ष रेशम गुरुङले खेमा लिपिलाई ०५२ सालदेखि साझा लिपिका रूपमा अघि बढाइएको बताए । ‘समुदायमा प्रचलित ‘खेमा लिपि’ लाई राष्ट्रिय मान्यता दिलाउन भाषा आयोगको ध्यानाकर्षण गराइसकेका छौं,’ उनले भने । २०७३ कात्तिकमा धरानमा सम्पन्न तमु सार्क सम्मेलनले खेमा लिपिलाई गुरुङ जातिको लिपि घोषणा गरेको उनले बताए । भने, ‘अब युनिकोड निर्माण भइसकेकाले लिपिप्रति चासो राख्ने हरेक व्यक्तिले मोबाइलमै खेमा लिपिको एप्लिकेसन चलाउन सक्नेछन् ।’


लिपिविज्ञ तथा प्रवर्द्धक बालनरसिंह गुरुङका अनुसार पच्यु (गुरु) पिमबहादुर गुरुङले २०३० सालतिर खेमा लिपि प्रतिपादन गरेका हुन् । गुरुङ भाषामा पुरुष पुर्खालाई ‘खे’ र महिला पुर्खालाई ‘मा’ भनिन्छ । जन्मेदेखि मृत्युपर्यन्तसम्म खेमाको नाममा प्रार्थना गरिन्छ ।


त्यही पुर्खाको नाममा सिर्जना गरिएको लिपि नै ‘खेमा लिपि’ हो । खेमा लिपि अभियन्ता भीमप्रसाद गुरुङका अनुसार तमु भाषामा २९ वटा व्यञ्जन वर्ण, ८ वटा स्वरवर्ण र ६ वटा सहयोगी वर्ण छन् ।


प्रकाशित : जेष्ठ २७, २०७६ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?