पानीकै लागी घण्टौं धाउनुपर्ने समस्याबाट मुक्ति !
सालवास(धादिङ) — भूकम्प पछि खानेपानी चर्को समस्या झेलिरहेका ज्वालामुखी चैनपुरवासीहरुलाई हाईसन्चो भएको छ । पानीको मुहानै नभएका डाँडाका १ सय ६१ घरधुरीलाई घरघरमै धारा पुगेपछि उक्त वस्तीका महिलाहरु खुसी भएका हुन् ।
विश्व बैंकको लगानीमा ग्रामिण खानेपानी तथा सरसफाई कोष समिति (फण्ड बोर्ड)को आर्थिक सहयोगमा ज्वालामुखीको चैनपुर, धारापानी, डाँडाथोक, कोटथोकमा एक घर एक धारा पुर्याउन १६ सय मिटर तलको टुहुरेखोला देखि अनकन्या मन्दिरसम्मको टाकुरासम्म पानी पुर्याउन ३ वटा रिजर्भवायर टंकी र पम्पसेट जडान गरिएको छ ।
एक करोड ३४ लाख ४२ हजार ३६ रुपैयाँको लागतमा निर्मित उक्त खानेपानी आयोजनामा विद्युतको प्रयोग गरी पानी वितरण गरिएको छ । उक्त आयोजनाले ६२ घर दलित र ३९ घरधुरी जनजातीसहित १ सय ६१ घरधुरीका आठसय ८७ जनालाई खानेपानी सुविधा पुगेको छ ।
जंगल विनास र अत्यधिक रुपमा सडक निर्माणका लागी डोजर प्रयोगका कारण यसै पनि खानेपानीका मुहान सुक्दै गएका छन् । भूकम्प पछि भएका खोलाखोल्सीका मुहान पनि सुकेर भूकम्प पछिका ४ वर्ष निकै सास्ती व्यहोर्नु परेको स्थानीय दलित महिला कृपा विक बताउँछिन् ।
फण्ड बोर्डको सहयोगमा निर्माण गरिएका खानेपानी आयोजना अनुगमनका क्रममा विश्व बैंकका नेपाल निर्देशक फेरिससहित सोमबार चैनपुर पुगेकी खानेपानी मन्त्री बीना मगरले ग्रामिण महिलाहरुको अधिकांस सिर्जनशिल समय पानीका लागी धारापधेंरा धाउँदैमा बित्ने बताइन् ।
‘हाल नेपालमा ८८ प्रतिशतले पाईपद्वारा स्वच्छ खानेपानी प्रयोग गरिरहेको र आगामी आर्थिक वर्षमा यो संख्यालाई ९२ प्रतिशत पुर्याई सन २०३० सम्ममा शत प्रतिशत स्वच्छ खानेपानी देशैभरका वस्तीमा पुर्याउने सरकारले लक्ष्य लिएको छ,’ उनले भनिन् ।
फण्ड बोर्डले निर्माण गरेका नयाँ आयोजना अनुगमन गर्न पुगेका विश्व बैंकका नेपाल निर्देशक फेरिसले विश्वमै स्वच्छ खानेपानीको समस्या दिनहुँ बढ्दै गएकोले विश्व बैंकको चासो ग्रामिण भेगका बासिन्दाहरुसम्म खानेपानीको सरल पहुँच पुर्याउनु रहेको बताए ।
फण्ड बोर्डका कार्यकारी निर्देशक लिलाप्रसाद ढकालले भूकम्प पछि मात्रै फण्ड बोर्डले निर्माण थालेका ५ सय ३७ आयोजनाहरु मध्ये ३ सयवटा सम्पन्न भैसकेका र बाँकी आयोजनाहरु पनि तत्काल सम्पन्न गरी ८ लाख बासिन्दाहरुका धारासम्म स्वच्छ खानेपानी पुग्ने बताए ।