कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देशभित्र र बाहिरका सबैको साथ र विश्वास आवश्यक छः प्रधानमन्त्री

रासस

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले विगतमा ठूलो संघर्ष तथा संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार यो जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गरे ।


लामो बलिदानपूर्ण संघर्षपछि जनताले ठूलो विश्वास यो सरकारलाइ सुम्पेको उल्लेख गर्दै प्रधानमन्त्रीले सुशासन र तीव्र आर्थिक वृद्धि नै सरकारको मुख्य ध्येय रहेको बताए । उनले भने, 'जनताको विश्वासलाई मर्न नदिई प्रविधिको प्रयोग गरेर देशलाई सुशासन र आर्थिक गतिका साथ अगाडि बढाउन देशभित्र र बाहिर रहेका सबैको साथ, सहयोग र विश्वास आवश्यक छ ।' गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषयको माग र भावनाप्रति आफू जानकार रहेको प्रधानमन्त्रीले उल्लेख गरे ।


प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई तथा नियोगका अधिकारीले स्वागत गरेको भ्रमणमा सहभागी रेडियो नेपालका नरेश फुयाँलले जानकारी दिए ।


प्रधानमन्त्री ओलीले त्यस अवसरमा स्वीट्जरल्याण्डमा रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गरेका थिए । गैरआवासीय नेपाली नागरिक सं गठन स्वीट्जरल्याण्डका अध्यक्ष मणिराज गुरुङसहितका वक्ताले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य साकार पार्ने प्रयास गर्दै मातृभूमिको सेवा र निकटतालाई प्रवासमा रहेका नेपालीले निरन्तरता दिन चाहेको बताए ।

प्रकाशित : जेष्ठ २७, २०७६ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्

बजेटको प्रभावकारी कार्यान्वयनमा शंका छः सांसद

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रियसभाका सदस्यले बजेट जनमुखी भए पनि प्रभावकारी कार्यान्वयनमा चुनौती हुने शंका व्यक्त गरेका छन् ।   राष्ट्रियसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०७६/०७७ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफलमा भाग लिँदै सांसद खिमलाल भट्टराईले बजेटले गरीब किसान र मजदूरलगायत सबै समुदायलाई समान रुपमा समावेश गरेकाले बजेट उत्कृष्ट आएको टिप्पणी गरे ।  

सांसद सरिता प्रसाईंले सरकारले हचुवाका भरमा बजेटको आकार बढाएको भन्दै प्रभावकारी कार्यान्वयनमा चुनौती हुने आशंका गरिन् । सांसद उदया शर्मा पौडेलले बजेटले महिला, वृद्धवृद्धा, अपाङ्गता र अशक्तलाई सम्बोधन गरेको छ, विद्यार्थीलाई स्कूलमै सेनेटरी प्याडको व्यवस्था गर्नुका साथै महिला स्वयंसेवीलाई समेत सम्बोधन गर्नु अत्यन्त सुखद् कुरा भएको र बजेट समाजवादउन्मुख रहेको बताइन् ।
सांसद वृषेशचन्द्र लालले सरकारले अघि सारेको समृद्धिको नारामा मधेशको मूल समस्या नसमेटिएको भन्दै बजेटको विरोध गरे । सांसद राजकुमार कुँवरले बजेट समग्रमा सकारात्मक रहेको भन्दै निम्न आयबाट मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य सकारात्मक रहेको बताए । उनले बजेटले सहिद, बेपत्ता र घाइतेको उपचार र सुरक्षाका पक्षमा पनि मौन रहेको भन्दै तिनलाई सम्बोधनका लागि आग्रह गरे ।
सांसद सिंहबहादुर विश्वकर्माले बजेट नेपाली जनताको संबैधानिक अधिकार रक्षा गर्दै राज्यको चौतर्फी विकासमा केन्द्रित भएको छ बताए । उनले बजेट जनचाहनानुरुपको लोकप्रिय रहेको भन्दै शिक्षा क्षेत्रले प्राथमिकता पाउनु सकारात्मक भएको बताए । सांसद प्रकाश पन्तले बजेट वितरणमुखी र सस्तो लोकप्रियता मात्रै भएको टिप्पणी गरे।

प्रकाशित : जेष्ठ २७, २०७६ १४:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×