यार्चा खोज्न ज्यानकै बाजी

यार्चा सिजनमा बर्सेनि सयौँ बिरामी हुन्छन्, केहीको मृत्यु हुन्छ । यो वर्षमात्रै नौ जनाको मृत्यु भइसकेको छ । व्यवस्थापन समितिले कर त असुल्छ तर सुरक्षाको सवालमा कुनै मतलब छैन ।
विष्णुलाल बुढा, राजबहादुर शाही, हरि गौतम, वसन्तप्रताप सिंह

(डोल्पा), (मुगु), (रुकुम पूर्व) र (बझाङ) — यतिबेला हिमाली जिल्ला डोल्पा, रुकुम पूर्व, बाजुरा, मुगु, दार्चुलाका बुकीपाटनमा महामेला छ । हजारौँ मान्छे महँगो जडीबुटी यार्चा खोज्न ज्यानकै बाजी लगाएर हिमालतिर उक्लेका छन् । प्रतिकिलोग्राम करिब २० लाखका दरले बिक्री हुने भएकाले जोखिम मोलेर यार्चा टिप्न बुकीपाटनतिर उक्लनेको तँछाडमछाड चलेको छ ।

बझाङको साइपाल गाउँपालिकाको माझावन क्षेत्रमा यार्चा टिप्दै संकलक । तस्बिर : कान्तिपुर

यार्चा टिप्न जाँदा अपनाउनुपर्ने आवश्यक सुरक्षाप्रति भने उनीहरू सचेत भएको देखिँदैन । समुद्र सतहको चार हजार मिटरदेखि ५ हजार ५ सय मिटर उचाइमा पाइने यार्चा चीनलगायत मुलुकमा निर्यात हुन्छ ।

यार्चा सिजनमा बर्सेनि सयौँ बिरामी हुन्छन्, केहीको मृत्यु हुन्छ । यो वर्षमात्रै यार्चा टिप्न जाँदा नौ जनाको मृत्यु भइसकेको छ । यी जिल्लाको यार्चा हरेक वर्ष करिब साढे ५ अर्ब रुपैयाँमा बिक्री हुन्छ । यार्चा किन्न व्यापारी बुकीपाटनमै पुग्छन् । ठूला व्यापारीहरू हेलिकप्टर लिएर जान्छन् । चीनसँग सीमा जोडिएका हिमाली जिल्लामा यार्चा पाइने भएकाले केही यार्चा बुकीपाटनबाटै चीनतर्फ बिक्री हुन्छ । सिधै चीनतिर जाने यार्चाको राजस्व दाखिला नहुने स्थानीयले बताएका छन् ।

जोखिम मोलेर कमाइ
किशोरवय जाजरकोटका कृष्ण नेपाली र रमेश चलाउनेको धेरै यार्चा टिप्ने र पैसा कमाउने सपना पूरा हुन पाएन । यार्चा टिप्नका लागि डोल्पाको फूलबारी पाटन गएका उनीहरूको गत शनिबार लेक लागेर मृत्यु भयो ।

धन कमाउने लालसामा सावधानी नअपनाउँदा लेक लागेर, हिमपहिरोमा परेर वा अन्य कारणले बर्सेनि यार्चा संकलकको मृत्यु हुने गरेको छ । यस वर्ष दुई साताभित्र मृत्यु हुनेमा डोल्पाका तीनजना, जाजरकोट र जुम्लाका दुई/दुई र रुकुमका एकजना छन् ।

हिउँमा चिप्लिएर डोल्पाको ठूलीभेरीकी ३८ वर्षीया बुद्धि कार्कीको मृत्यु भयो । उनको गत बिहीबार दुना पाटनबाट रमाना जाने क्रममा भीरबाट खसेर मृत्यु भएको ठूलीभेरी नगरपालिका ११ का वडाध्यक्ष लक्ष्मी कार्कीले बताए । ‘यो वर्ष अत्यधिक हिमपात भएकाले पाटनमा अझैसम्म हिउँ पग्लिसकेको छैन,’ उनले भने, ‘ख्याल नगर्दा चिप्लिएर लड्ने जोखिम बढी छ ।’

हिमपहिरोले पनि यार्चा संकलकको ज्यान लिने गरेको छ । यार्चा यात्राकै क्रममा २०६४ जेठ १५ मा डोल्पाको टाङटुङे लेकमा पुरिएर १६ जना मारिएका थिए । चिकित्सकका अनुसार यार्चा संकलकका लागि सबैभन्दा ठूलो जोखिम हो, लेक लाग्नु । एक्कासि लेकमा पुग्दा अक्सिजनको मात्रा कम भई बिरामी पर्छन् । समयमै उपचार नपाउँदा मृत्यु हुने गरेको छ । कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खडका सरकार र सरोकारवालाले सम्भावित स्वास्थ्य जोखिमबाट बचाउन ठाउँठाउँमा तालिमप्राप्त स्वास्थ्यकर्मी र यार्चा सिजनका लागि अस्थायी स्वास्थ्य शिविर राख्नुपर्ने बताउँछन् । ‘यार्चा संकलकलाई उपचारसम्बन्धी सामान्य ज्ञान दिएर औषधि दिन पनि सकिन्छ,’ उनले भने, ‘त्यसो गर्न सकियो भने लेक लागेर हुने जोखिमबाट बचाउन सकिन्छ ।’

यार्चा पाइने क्षेत्रमा कहीँ पनि यस्तो व्यवस्था छैन । स्थानीय र प्रदेश सरकारले पनि यसमा चासो दिएका छैनन्, न त संघीय सरकारले नै यसमा ध्यान दिएको छ । यार्चा संकलनका लागि १२ वर्षका बालबालिकादेखि ५० वर्षसम्मका महिला–पुरुष पाटन जाने गर्छन् । ‘यार्चा टिप्न नगए पेट भरिँदैन, घर बन्द गरेर जानुपर्छ,’ मुगुमकार्मारोङ गाउँपालिकास्थित रिउस गाउँका छिरिङ तोर्चे तामाङले भने, ‘यति बेला त हामीलाई ज्यानको प्रवाह हुँदैन ।’

यार्चा संकलकलाई पाटन क्षेत्रमा आकस्मिक उपचारको कुनै प्रबन्ध हुँदैन । यार्चा टिप्नेले आफैँ औषधि बोकेर पाटन जाने गरेका हुन्छन् । त्यही औषधि अनुमानको भरमा खान्छन् । कतिपयले अमिलो बोकेर लगेका हुन्छन् । लेक लागेमा अमिलो खाँदा सञ्चो हुन्छ भन्ने विश्वास छ । मुगुको पुलु प्रहरीचौकीका इन्चार्ज रामशरण कुर्मीले लेक लागेर, हिउँ पहिरोमा छोपिएर वा अन्य कारणले बर्सेनि २–३ जनाको ज्यान जाने गरेको बताए । पाटन क्षेत्रमा जाँदा दमका रोगी, बूढापाका र बालबालिका बढी जोखिममा पर्ने गरेको उनले बताए ।

यार्चा संकलकले पाटन प्रवेश गर्दा तोकिएको शुल्क तिरेका हुन्छन् । उक्त शुल्कबाट कुनै लाभ भने पाउँदैनन् । बिरामी भइहालेमा काठको स्ट्रेचरमा बोकेर डेढ दिन टाढाको मुगुगाउँमा पुर्‍याउनुपर्ने बाध्यता छ । कतिपय बिरामीको बाटोमै मृत्यु हुने गरेको मुगुमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । ‘पाटनमा घुम्ती स्वास्थ्य शिविर गर्न पाइदिएको भए जोखिम घट्ने थियो,’ उनले भने, ‘हामीले शिविर आयोजना गर्न नसके पनि औषधिको व्यवस्था भने मिलाएका छौँ ।’

यार्चा खोज्दाखोज्दै सुत्केरी
काइके गाउँपालिकाको व्यास रिखी पाटनमा काइके गाउँपालिका ७ की २६ वर्षीया कान्छी विक सुत्केरी भइन् । उनले जन्माएको नवजात शिशुको चिसोकै कारण मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक अवदेश विष्टले बताए । प्रहरीका अनुसार यार्चा पाटनमा ५ जनाको लेक लागेर, २ जनाको लडेर र एक जनाको चिसोका कारण मृत्यु भएको छ ।

लेक लागेर मृत्यु हुनेमा पातारासी गाउँपालिका ६ जुम्लाका १७ वर्षीय गोपाल विष्ट, जाजरकोटका २२ वर्षीय रमेश चलाउने, वारेकोट जाजरकोटका १८ वर्षीय कृष्ण विक, आठबिसकोट नगरपालिकाका ३९ वर्षीय कृष्ण शाही, ठूलीभेरी नगरपालिका ५ डोल्पाकी ४० वर्षीया धनकला बुढा छन् । भीरबाट लडेर गोठीचौर गाउँपालिका ४ जुम्लाका ४४ वर्षीय जयकृष्ण पाण्डे र ठूलीभेरी नगरपालिका ११ की ३८ वर्षीया बुद्धिकुमारी कार्की र व्यास ऋषि पाटनमा कान्छी विकले जन्माएको नवजात शिशुको चिसोका कारण मृत्यु भएको हो ।

हालसम्म यार्चा पाटनहरूमा सिकिस्त बिरामी परेकाहरूको उद्धार गरेर ज्यान बचाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । धो क्षेत्रका पाटनहरूबाट एक विदेशीसहित ५ जना र सागरबाट ४ जना गरी जम्मा ९ जनाको उद्धार गरी ज्यान बचाइएको प्रहरीले जनाएको छ । डीएसपी विष्टका अनुसार ५ जनाको हेलिकप्टरबाट र ३ जनाको स्थानीयबाट उद्धार गरिएको थियो । उद्धार गरेर नेपालगन्जमा ४ जना, काठमाडौंमा २ जना र जिल्ला अस्पताल डोल्पामा ३ जनाको उपचार गरिएको हो । पाटनमा सामान्य उपचार धेरैजनाको गरिएको स्वास्थ्य कार्यालय डोल्पाले जनाएको छ ।

उच्च हिमाली पाटनहरूमा पाइने यार्चा संकलनका लागि पाल, ज्याकेट, तातोपानी र आवश्यक सामानहरूको तयारीबिनै पुग्ने गरेका छन् । न्यानो कपडा, खानेकुरा र बासको व्यवस्थाबिनै पाटन पुग्ने धेरैजना जोखिममा रहेको स्थानीय तुलबहादुर विष्टले बताए ।

डोल्पामा स्वास्थ्यकर्मी खटाइयो
यार्चा टिप्न जानेहरूको स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै यस पटक स्थानीय तहले स्वास्थ्यकर्मी पठाएका छन् । शे–फोक्सुन्डो गाउँपालिकाको फूलबारी पाटन र सागर पाटन, डोल्पोबुद्ध गाउँपालिकाको सिसोल र धो तराप, काइके गाउँपालिकाको नावरपानी र याङ्जुरो लेक, ठूलीभेरी नगरपालिकाको बागडाँडा र ग्यालवारा र जगदुल्ला गाउँपालिकाको जगदुल्ला पाटनमा यार्चा अवधिभर रहने गरी औषधिसहित स्वास्थ्यकर्मी पठाइएको छ । स्वास्थ्य कार्यालय डोल्पाका निमित्त प्रमुख रनलाल कुलालले भने, ‘स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको छ । त्यहाँ उपचार नभए रिफर गरिन्छ ।’

माथिल्लो डोल्पाका प्यारिकोप्पा, कागमारा, ग्यालवारा, ताक्सी, व्यास ऋषि र चाहारा पाटनमा यार्चा संकलकहरूको मृत्यु भएको हो । डोल्पाका यार्चा पाइने धेरै पाटनहरूमा यतिबेला पनि तापक्रम शून्य हुने र अक्सिजन निकै कम हुने भएकाले संकलकको लेक लागेर ज्यान जाने गरेको छ ।

डोल्पाका बासुदा, ग्याल्बारा, ताक्तारा, भोक्पा, जगदुल्ला, काग्मारा, बागडाँडा, साइकुबारी, माटे, फूलबारी, सागर, तराप, ठाँगे, नावरपानी, कुनासा, भित्रवनलगायत ५ दर्जनभन्दा बढी पाटनहरूमा यार्चा पाइन्छ । यी सबै पाटन क्षेत्रभित्र यतिबेला हजारौँ संकलक पुगेका छन् । डोल्पास्थित नेपाली सेनाको ईश्वरी बक्स गुल्मका क्याप्टेन कुमार थापाका अनुसार यार्चा टिप्न गएका थुप्रै जना लेक लागेर बिरामी भएका छन् ।

डोल्पामा हरेक सिजनमा करिब २ हजार ४ सय किलोग्राम यार्चा संकलन हुन्छ । व्यापारी लीलाराज रोकायाका अनुसार यो वर्ष यार्चाको मूल्य प्रतिकिलो १२ लाखदेखि १६ लाख रुपैयाँमा चलेको छ । यो वर्ष करिब आठ सय किलोग्राम यार्चा डोल्पामा पाइने उनले बताए । संकलकसँग किनेर साना व्यापारीले ठूला व्यापारीलाई प्रतिकिलो २० लाखका दरले बिक्री गर्छन् ।

गत वर्ष डोल्पाका पाटनमा मात्र ७ हजार ५ सय ४३ जना यार्चा संकलन गर्न गएका थिए । २०६५ देखि तीन वर्ष डोल्पामा जिल्ला वन अधिकृत रहेका राजु क्षेत्रीले गरेको अध्ययनअनुसार औसतमा एकजना संकलकले ३ सय ३० ग्राम यार्चा संकलन गर्छन् । यसरी हेर्दा गत वर्ष डोल्पाको पाटनबाट मात्र करिब २ हजार ४ सय ८९ केजी यार्चा संकलन भएको थियो । पाटनमा प्रतिकेजी १२ देखि १५ लाखमा खरिद हुने गरेको छ । तर संकलित यार्चाको ठूलो परिमाण पाटनबाट सिधै तिब्बततिर जाने गर्छ । डोल्पाबाट वैध प्रक्रियामार्फत निर्यात भएको पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा यस्तो देखिन्छ ।

अहिले सरकारी निकायले प्रतिकेजी यार्चाबाट २५ हजार रुपैयाँ राजस्व लिन्छन् । सरकारले यार्चा संकलनलाई वैधानिक रूपमा खुला गरेको वर्ष २०५८ सालमा राजस्व दर २० हजार रुपैयाँ प्रतिकेजी कायम गरेको थियो । वन अधिकारीका अनुसार महँगो शुल्क भएकै कारण यसको अवैध कारोबार बढेपछि राजस्व दर घटाइएको हो ।

मुगुमा ४ हजारले खोज्दै
जिल्लाका विभिन्न पाटनमा पाइने बहुमूल्य जडीबुटी यार्चागुम्बा संकलन गर्न जाने संकलकबाट १ करोड ४८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जिल्लाको सानो कोइकी, हाङदाङखोला, ठूलो कोइकी, रिमार, चाल्ने, च्याकु, टाके, महलेखलगायत क्षेत्रमा यार्चा पाइन्छ । डोल्फु क्षेत्रका पाटनमा यार्चा टिप्न जाने स्थानीयबाट शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले र मुगुका पाटनमा मुगुमकार्मारोङ गाउँपालिकाले राजस्व संकलन गरेको छ । गाउँपालिकाका अनुसार ९० लाख ४१ हजार रुपैयाँ मुगुको पाटन क्षेत्र र १० लाख ७ हजार रुपैयाँ डोल्फु क्षेत्रमा असुली गरिएको हो । यो वर्ष संकलनका लागि करिब ४ हजार ४३ जना पाटन गएको गाउँपालिकाले जनाएको छ ।
डोल्फुको पाटन क्षेत्रमा करिब २ हजार ५ सय जना संकलक पुगेका छन् ।

जुम्ला, हुम्ला, कालिकोट, दैलेख, बर्दियालगायत जिल्लाबाट मुगुमा यार्चा टिप्न आउने गरेका छन् । गाउँपालिकाका अधिकृत तीर्थराज शाहीका अनुसार गत वर्ष ६१ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । जिल्ला बाहिरका संकलकबाट २ हजार ५ सय र जिल्लावासीबाट २ हजारका दरले राजस्व संकलन गरिएको उनले बताए । संकलित रकममध्ये ४० प्रतिशत वडा २ को मुगु गाउँ र डोल्फु गाउँको विकास निर्माणमा खर्च गरिने गाउँपालिकाले जनाएको छ ।

२५ प्रतिशत रकम व्यवस्थापनका लागि र ३५ प्रतिशत रकम गाउँपालिकाका अन्य वडाका लागि खर्च गरिने वडा २ का अध्यक्ष कर्मा लामाले बताए । उनका अनुसार कर्मचारी र प्रहरीका टोली परिचालन गरी राजस्व संकलन गर्ने गरिएको छ । जिल्लामा २०६१ सालदेखि यार्चा संकलकबाट राजस्व लिन थालिएको हो । मुगुमकार्मारोङ गाउँपालिकाको मुख्य आन्तरिक स्रोत नै यार्चा संकलकबाट आउने राजस्व हो ।

मान्छेले ढाकियो बुकीपाटन
संकलकका भीडले शुक्रबार दिउँसोबाट भने पाटन छपक्क ढाकियो । लामो समयसम्म हिउँ नपग्लिएका कारण सिजन व्यवस्थापन समितिले ढिला गरी शुक्रबारबाट यार्चा टिप्न पाटन (बुकी) खुला गरेपछि भीड उक्लिएको हो । पुथाउत्तरगंगा गाउँपालिकाको १ र २ नम्बर वडाको पुपाल, अरविजा, जंगला, पूर्वाङ, भित्रिवन, उङला, ङिम्कु, पानीढल, फूलबारीलगायत ठाउँमा यार्चा पाइन्छ । यसैगरी ३ नम्बर वडाको सुनदह, सांग्रेइ, चौंरीखर्कलगायत पाटनमा पनि यार्चा पाइन्छ । बिहीबारसम्म सुनसान यी पाटनमा शुक्रबारदेखि चहलपहल बढेको छ । हिउँ पग्लने प्रतीक्षामा रहेकाहरू शुक्रबारबाट पाटनमा पैसा टिप्दै छन् ।
पहिलो दिन झन्डै २ हजार बढी संकलक पाटन पुगेका छन् । यार्चा सिजन व्यवस्थापन समितिका अध्यक्ष अमरधन पुनमगरले स्थानीय र बाहिरका गरी २ हजारजना भन्दा बढीको उपस्थितिमा शुक्रबार बिहान ९ बजेदेखि पाटन खुलाइएको बताए ।

उनका अनुसार १ हजार २ सय जनाभन्दा बढी स्थानीय पाटन उक्लेका छन् भने ५ सय ५० जना हाराहारी गाउँभन्दा बाहिरका पाटन पुगेका छन् । संकलकबाट खरिद गर्न ३२ जना व्यापारी पनि पाटन पुगेका छन् । सिजन व्यवस्थापन समितिबाट झन्डै ६ सय जना संकलकले यार्चा संकलनको राजस्व तिरेर रसिद लिएका छन् । प्रतिव्यक्ति १ हजार ५ सयका दरले यार्चा संकलकले रसिद लिएका छन् भने स्थानीय व्यापारीले १ हजार ८ हजार राजस्व तिरेर पाटनमै कारोबार गर्ने अनुमति लिएका छन् । समितिले स्थानीयलाई नि:शुल्क पाटन प्रवेशको व्यवस्था गरेको छ भने बाहिरबाट आउनेले १ हजार ५ सय तिर्नुपर्ने व्यवस्था छ । सिजनमा समितिले पाटनमा कारोबारका लागि गाउँभन्दा बाहिरकालाई अनुमति दिएको छैन ।

मैकोट तथा त्यस आसपासका गाउँबाट दुई दिनको पैदल यात्रापछि पाटन पुगिन्छ । यार्चा संकलकहरू पनि दुई दिनअघि नै पाटन उक्लिसकेका थिए । केही उक्लँदै छन् । जेठ २४ मा यार्चा टिप्नका लागि पाटन खुलाउने निर्णय भएदेखि नै सर्वसाधारण आवश्यक बन्दोबस्तीका सामग्रीसहित पाटन उक्लेका छन् । ससाना काखे बालकसहित महिला र केटाकेटीदेखि वृद्धवृद्धा यार्चा खोज्न पाटन पुगेका छन् । आम्दानीको मुख्य स्रोत मानिएको यार्चा टिप्ने अधिकांशले पाटनमै बिक्री गर्ने गरेका छन् ।

बिरामी फर्कंदै
बुकी पुगेका ६ सर्वसाधारण र एक सुरक्षा स्वयंसेवक युवा गाउँ फर्किएका छन्् । बिरामी परेपछि केहीलाई डोकोमा बोकेर झारिएको हो । उनीहरूको मैकोट स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । ‘सात जनाको उपचार गर्‍यौँ,’ स्वास्थ्यचौकी मैकोटका इन्चार्ज समीर गिरीले भने, ‘कतिपयले घरेलु उपचार गरेको सुन्नमा आएको छ ।’ उनका अनुसार लेक लाग्ने, चिसो हुने, भाइरल ज्वरो र अक्सिजनको अभावमा धेरै बिरामी पर्छन् । बुकीमा स्वास्थ्यमा समस्या आएपछि तत्काल प्राथमिक वा थप उपचारका लागि यार्चा सिजन व्यवस्थापन समितिले कसैलाई जानकारी गराएको छैन । इन्चार्ज गिरीले स्वास्थ्यचौकीलाई यस विषयमा कुनै जानकारी नगराएको बताए । ‘पाटनमा गएकाहरू बिरामी हुन्छन्,’ उनले भने, ‘व्यवस्थापन समितिले उपचारको प्रबन्धबारे खबर गर्दैन ।’ बुकीपाटनमा बिरामी भएकाहरू गाउँ झरेर सोझै स्वास्थ्यचौकीमा आउँछन् ।

संकलन अवधिका लागि हरेक वर्ष यार्चा सिजन व्यवस्थापन समिति गठन हुन्छ । समितिले संकलक र व्यापारीबाट राजस्व असुली गर्छ । तर, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा ध्यान पुर्‍याएको पाइँदैन । चालु सिजनका लागि व्यवस्थापन समितिले बुकीमा कोही बिरामी भएमा उपचारका लागि कुनै प्रबन्ध गरेको छैन । व्यापार गर्ने उद्देश्यले केही स्वास्थ्यकर्मी बुकीमा पुग्छन् । उनीहरू थोरै औषधि बोकेर पुग्छन् । समितिले ती स्वास्थ्यकर्मीबाट राजस्व लिँदैन ।

‘यार्चा टिप्न थालेको ३० वर्षभन्दा बढी भइसक्यो तर स्वास्थ्यमा खासै ध्यान पुगेको छैन,’ समितिका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद पुनमगरले भने, ‘अरू कुरामा ध्यान दिँदादिँदै स्वास्थ्य समस्या नै छुटेको हुन्छ ।’ लेकको र गाउँको हावापानी नमिल्दा धेरै मान्छे बिरामी पर्ने गरेको उनले बताए । ‘बिरामी भएपछि आफ्नै खर्चमा उपचार गर्ने ठाउँसम्म पुग्नुपर्छ,’ उनले भने, ‘यो सिजनमा पनि समितिले ध्यान दिन सकेन ।’

समितिले प्रत्येक वर्ष एक करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्छ । ‘हामी सिजनका बेला संकलित राजस्वबाट गाउँको विकास गर्छौं,’ यार्चा सिजन व्यवस्थापन समिति मैकोटका अध्यक्ष अमरधन पुनमगरले भने, ‘विद्यालयका भवन, निजी शिक्षकको तलबभत्ता व्यवस्थापनमा राजस्व खर्च भइरहेको छ ।’ सकेसम्म आफ्नो सुरक्षा आफैँ गर्नु भनेर व्यवस्थापन समितिले अनुरोध गर्ने र व्यक्तिगत भए पनि उपचारको सामान्य व्यवस्थापन भने गरिएको उनले दाबी गरे । पाटनमा कोही बिरामी भइहालेमा डोको काटेर बोक्नुबाहेकको विकल्प छैन । गाउँमा भएका स्ट्रेचर बुकीपाटनमा बोकेर पुर्‍याउन सकिँदैन । ‘हामी आफैँ सिजन खोल्छौँ । बन्द गर्छौं तर सरकारको उपस्थिति छैन । सरकार आओस् र व्यवस्थापन लगायतका सबै क्षेत्रमा काम गरोस् भन्ने चाहना हाम्रो हो,’ उनले भने ।

व्यापारीका लागि १८ हजार र यार्चा संकलकका लागि १ हजार ५ सय शुल्क निर्धारण गरिएको छ । यो सिजन झन्डै महिना दिन चल्छ । रुकुममा हरेक वर्ष करिब ५० किलो यार्चा संकलन हुन्छ । प्रतिकेजी २० लाख रुपैयाँका दरले बिक्री गरे यो वर्ष जिल्लामा १० करोड रुपैयाँ भित्रिनेछ । गत वर्ष प्रतिकेजी २५ देखि ३० लाख रुपैयाँका दरले बिक्री भएको थियो ।

आँखा पाक्दा खुर्सानी हालेर उपचार
बझाङको साइपाल गाउँपालिका, धलौनकी सिर्जना बोहराको परिवार वैशाखको अन्तिम सातादेखि यार्चाको खोजीमा छ । उनका आमाबुवा, सात वर्षका भाइ र उनी राइढुंगी पुगेको एक महिना हुन लाग्यो । यस अवधिमा उनी र उनका भाइ धेरै पटक बिरामी भइसके । पाटन उक्लेको केही दिनमै उनको आँखा बिझाउन थालेको थियो । केही दिनमै आँखा पाकेर हेर्नै नसक्ने भयो । भाइको पनि आँखा पाक्यो ।

हिमालमा न स्वास्थ्यचौकी, न औषधि । सबैभन्दा बढी यार्चा भेट्टाउने छोराछोरी नै बिरामी भएपछि आमाबुवा आत्तिए । एकजना गाउँलेको सल्लाहअनुसार बुवा झलकले खुर्सानी पिसे । पिसेको खुर्सानीको धूलो पानीमा भिजाए । त्यही पानी कपडाले छानेर छोराछोरीको आँखाका तीन/चार थोपा हालिदिए । ‘उसै पनि दुखिरहेको आँखा खुर्सानी हालेपछि त मरौँलाझैँ भयो,’ सिर्जनाले भनिन्, ‘सहनै नसक्ने गरी दुख्यो । भाइ र म निकै चिच्यायौँ ।’ संयोगवश उनीहरूको आँखा पछिल्लो दिनबाट केही बिसेक भएजस्तो भएको उनले बताइन् ।

टेलिफोनबाट सिर्जनाले बिहीबार कुरा गर्दा राइढुंगी पाटनमा यार्चा टिपिरहेको बताइन् । आफ्नो वरिपरिको पालमा रहेका दर्जनौँ आँखा पाक्ने रोगको संक्रमणमा परेको उनले सुनाइन् । ‘हिउँ नपरेको भए आँखा पाक्ने समस्या खासै हुन्थेन । यो वर्ष हिउँ परेको पर्‍यै छ । आँखा नपाकेको मान्छे नै छैन भन्दा हुन्छ,’ उनले भनिन् । मौसम परिवर्तन भइरहेका कारण झाडापखाला, ज्वरो आउने, बान्ता हुने जस्ता संक्रमणले धेरैजना थला परेको बताइन् ।

राइढुंगीमा मात्र होइन, बझाङका सबैजसो यार्चा संकलन क्षेत्रमा यो वर्ष अघिल्ला वर्षहरूमा भन्दा बढी मानिसमा विभिन्न रोगको संक्रमण परेको संकलकहरूले बताए । औषधोपचारको व्यवस्था नभएका कारण जस्तोसुकै बिरामी भए पनि आफूले जानेको जडीबुटीले उपचार गर्नु वा त्यहीं बिरामी मर्नुबाहेक उपाय नभएको उनीहरू बताउँछन् । साइपालका खडक बोहराले भने, ‘यहाँकै बुटीले ठीक गर्‍यो भने भइहाल्यो, गाउँ पुग्न नै तीन/चार दिन लाग्छ । ठूलो बिमार लाग्यो भने त ज्यान माया मारे पनि हुन्छ ।’ जेठको दोस्रो सातातिर सुर्मा गाउँपालिकाका एकजना संकलकले ज्यान गुमाएका थिए । झाडापखालाले सिकिस्त उनलाई सदरमुकामतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो । यार्चा संकलन क्षेत्रमा गत वर्ष विभिन्न कारणले ८ जनाले ज्यान गुमाएका थिए । २०७४ मा १२ जनाले समयमै उपचार नपाएको जडीबुटी व्यवसायी संघका अध्यक्ष धर्मजंगबहादुर सिंहले बताए ।

यार्चा संकलन क्षेत्रमा जानेहरूबाट स्थानीय तहले कर उठाउने गरेका छन् । ‘पोहोर पाँच सय लिएका थिए । यो वर्ष एक हजार लगाए,’ तल्कोटका जनक सार्कीले भने, ‘कर मात्र बढाए, हामीलाई सुविधा केही दिएनन् ।’ स्थानीय तहले यार्चा क्षेत्रमा अस्थायी स्वास्थ्यचौकी सञ्चालन गरे धेरैको ज्यान जोगिने उनले बताए । बझाङबाट विभिन्न संकलन क्षेत्रमा जिल्लाभित्र र बाहिरका गरी ४० हजारको हाराहारीमा यार्चा संकलक पुग्ने गर्दछन् । न्यानो लुगाको अभाव, पोसिलो खाना नहुनु र लामो समय पालको बसाइँ आदिले बिरामी पर्ने थुप्रै हुन्छन् । बझाङमा हरेक वर्ष करिब तीन सय केजी यार्चा पाइन्छ । प्रतिकेजी २० लाखमा बिक्री हुन्छ ।

दार्चुलामा यार्चा संकलनमा लेक गएका व्यास गाउँपालिका २ दुधिवनमा दार्चुलाका एकजना बालकको हिउँमा चिप्लिएर मृत्यु भएको छ । यार्चा पाटनबाट घर फर्कने क्रममा दुम्लिङका दिलीपसिंह विष्टका कान्छा छोरा ११ वर्षीय अनिशको मृत्यु भएको स्थानीयले बताएका छन् । अनिश सर्वहित आधारभूत विद्यालय दुम्लिङमा कक्षा ५ मा पढ्थे ।

प्रकाशित : जेष्ठ २७, २०७६ ०९:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अन्नपूर्णकै वर्चस्व

नुमा थाम्सुहाङ

काठमाडौँ — १५ औं अन्नपूर्णमैत्री अन्तरविद्यालय बुद्धिचाल प्रतियोगितामा आयोजक अन्नपूर्णका विद्यार्थीले वर्चस्व कायम गरेका छन् । आइतबार सम्पन्न यू–१६ छात्रातर्फ अन्नपूर्ण माविकी नेहादास बानियाँले ४.५ अंक जोडेर उपाधि जितिन् । तिलिङ्गाटार माविकी पूनम विक र त्रियोग माविकी उन्नति सिलवालले समान ३.५ अंक जोडे पनि प्रोग्रेसिभ अंकका आधारमा पूनम दोस्रो र उन्नति तेस्रो भए । 

छात्र यू–१६ तर्फ अन्नपूर्ण माविका दीपेन्द्र गमाल र महाँकाल माविका विजय टमटा दुवैले समान ५.५ स्कोर गरेका थिए । प्रोग्रेसिभ अंकका आधारमा दीपेन्द्रले उपाधि जिते । ४.५ स्कोरका साथ सेन्ट डेभिसका सुरेन्द्र राई तेस्रो भए । यू–१४ छात्रामा त्रियोग माविकी मार्सल तामाङ र तिलिङ्गाटारकी आयुषा तिमल्सिनाले पनि समान ४.५ स्कोर गरेका थिए । हेड टू हेड च्यालेन्जमा पनि बराबरी भएपछि टाइब्रेकमा हराउँदै मार्सलले उपाधि जितिन् । पायोनियर इन्टरनेसनल स्कुलकी सुप्रिया बुढाथोकी ४ स्कोर गरी तेस्रो भइन् ।

यू–१४ छात्रमा अन्नपूर्ण माविका प्रवेश लामा ५.५ स्कोर गरी प्रथम भए । समान ५ अंक जोडेका तिलिङ्गाटारका सकुल बुढाथोकी र सेन्ट डेभिसका राजकुमार राईमध्ये प्रोगेसिभ अंकका आधारमा सकुल दोस्रो र राजकुमार तेस्रो भए ।
यू–१२ छात्रमा विश्व निकेतनका अनिल शाह ६ अंक लिँदै प्रथम भए । अन्नपूर्ण माविका रोहित श्रेष्ठ र तिलिङ्गाटारका प्रशान बजगाई दोस्रो र तेस्रो स्थानमा रहे । दुवैले समान पाँच अंक बटुले पनि प्रोगेसिभ अंक २०–१६ ले नतिजा छिनोफानो गरिएको हो । यू–१२ छात्रामा पुष्पसदनकै युनिशा सुवेदी पहिलो र स्मारिका चौलागाई दोस्रो भइन् । बीएन एकेडेमीकी पूर्णिमा गुरुङ तेस्रो भइन् ।

यू–१० छात्रमा अन्नपूर्ण माविका आयुष बोहरा, पुष्पसदनका उत्सव थापामगर र पुष्पसदनका सागर सुप्रभ श्रेष्ठ क्रमश: प्रथम, दोस्रो र तेस्रो भए । यसैतर्फको छात्रामा त्रियोग माविकी रिया श्रेष्ठ पहिलो, पुष्पसदनकी सिवानी रिजाल दोस्रो र न्यू सम्मिट आरश्री भण्डारी तेस्रो भइन् । आयोजक समितिका अध्यक्ष अध्यक्ष चन्द्रप्रकाश राजभण्डारीले प्रतियोगिताले विद्यार्थीको हौसला बढ्ने बताए । –प्रशिक्षार्थी

प्रकाशित : जेष्ठ २७, २०७६ ०९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT