१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

हुरीपछि रूखमुनि भोकभोकै

(धनगढी) — धनगढी–१ शान्तिनगरका नरबहादुर कामीको परिवार ३ दिनदेखि रूखमुनि ओत लागेर बिताइरहेको छ । हुरीले उनीहरूको घरै उडायो । खाद्यान्न र लत्ताकपडासमेत जोगिएन । रिक्सा चलाएर गुजारा चलाउँथे । बिजुली नहुँदा चार्ज गर्न नपाएर त्यो पनि थन्किएको छ । ४ छोराछोरीसहित ६ जनाको परिवारसँग छाक टार्ने जुक्ति छैन । 

हुरीपछि रूखमुनि भोकभोकै

राहतको आस गर्दै आइतबार उनी धनगढी नगरपालिकाको कार्यालय पुगे । मेयरले २ हजार रुपैयाँ थमाएर फर्काइएपछि झन् निराश छन् । ‘लालाबाला कसरी पालुँ, कहाँ लगेर रात गुजारुँ ?’ उनले पीडा सुनाए । हुरीले घर पूर्ण क्षति भएका कैलालीका २ हजार २ सय १६ परिवारको यस्तै बिचल्ली छ । अझै पनि कतैबाट राहत नआएको गुनासो गर्छन् । ‘हुरीले पूरै घर उडायो,’ मिलनपुर मुक्त कमैया शिविरकी जस्मिन चौधरीले भनिन्, ‘दिउँसो खुला आकाश र राति यही थोत्रो पालमुनि बिताउनुपरेको छ ।’ हुरीसँगै आएको वर्षाले भएभरको खाद्यान्न भिजाइदियो । अहिले त्यही चामल सुकाएर छाक टारिरहेको उनले सुनाइन् ।


‘हालखबर सोध्न धेरै आए, नगरपालिकाबाट उपमेयरले पनि अवलोकन गरेर गइन्,’ होलिया चौधरीले भनिन्, ‘सबैले आश्वासन मात्रै दिए तर फर्केर कोही आएनन् ।’ उनको टायलको छानो पूरै उड्यो । नयाँ टायल किन्न खर्च अभाव रहेको उनले बताइन् । अधिकांश हुरीपीडित हरेक दिन कसैले राहत लिएर आउला कि भनी बाटो हेर्छन् । साँझ परेपछि निराश हुन्छन् । ‘ज्यान त जसोतसो जोगियो तर घर, खाद्यान्न, लत्ताकपडा केही बचेन,’ अञ्जली चौधरीले भनिन्, ‘छानो नउडेको घरै छैन । हाम्रो बेहाल छ, सरकार कता छ, थाहा छैन ।’


केही परिवार छरिएका जस्तापाता जुटाएर छाउने प्रयास गरिरहेका छन् । कोही पुरानो त्रिपाल टाँगेर जसोतसो गुजारा गरिरहेका छन् । ‘बस्तीका पीडितलाई अहिले राहतको खाँचो छ तर सरकार बेखबर बनेर बसेको छ,’ शिविरका अगुवा जगतराम चौधरीले भने, ‘विपद्पूर्व नै सम्बन्धित निकायले पूर्व तयारी गरिराखेको हुनुपर्ने । तर पीडितले ४ दिनसम्म पनि राहत पाउन सकेका छैनन् ।’ धनगढी–१ स्थित उक्त शिविरमा ५९ घरधुरी छन् । तीमध्ये १८ घर पूर्णरूपमा क्षतिग्रस्त छन् । आंशिक क्षति नभएको घरै छैन ।


कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने आवश्यकताका आधारमा क्षति भएको ठाउँमा त्रिपाल वितरण भइरहेको दाबी गरे । खाद्यान्न अभाव भएका परिवारले वडा कार्यालयमा निवेदन दिनुपर्ने उनको भनाइ छ । ‘पीडितहरूको लगत संकलन भइरहेकाले त्यसपछि मात्रै थप राहत वितरण गरिनेछ,’ बोहराले भने ।


७ हजार घरमा क्षति

जिल्ला प्रशासनका अनुसार हुरीले जिल्लामा ७ हजार घरपरिवार प्रत्यक्ष प्रभावित छन् । २ हजार १ सय १६ घर पूर्णरूपमा क्षतिग्रस्त छन् । धनगढीका सबै वडा, त्यसपछि कैलारी र गोदावरीमा बढी क्षति भएको सहायक प्रजिअ मोहन जोशीले बताए । धनगढीमा १ सय ५३, कैलारीमा १ सय १० र गोदावरीमा ५० वटा त्रिपाल वितरण गरिएको उनले जानकारी दिए ।


'पोल्ट्रीमा १० करोडभन्दा बढी’

हुरीबाट कैलालीको पोल्ट्री व्यवसायमा १० करोडभन्दा बढीको क्षति भएको व्यवसायीले बताएका छन् । फार्महरूको छाना उडाएको र पर्खाल भत्किएपछि खोरभित्र रहेका कुखुरा पनि मरेको उनीहरूको भनाइ छ ।


प्रकाशित : जेष्ठ २७, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?