१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

शिवपुरीमा सफारी

वार्षिक डेढ लाख पर्यटकले भ्रमण गरिरहेका बेला जंगल ड्राइभ/सफारीलगायतका पर्यटकीय गतिविधि थप भएपछि त्यो संख्या बढ्ने विश्वास निकुञ्जको छ । 
अब्दुल्लाह मियाँ

काठमाडौँ — शिवपुरी–नागार्जुन निकुञ्जभित्र जंगल सफारी (ड्राइभ) को आनन्द लिन सकिने भएको छ । वन तथा वातावरण मन्त्रालयले निकुञ्जभित्र वातावरणमा प्रतिकूल प्रभाव नपर्ने गरी जंगल सफारीको स्वीकृति दिने नियमावली ल्याएको छ ।

शिवपुरीमा सफारी

मन्त्रालयले शिवपुरी–नागार्जुन निकुञ्जभित्र जैविक विविधता, मनोरम दृश्य, चराचुरुङ्गी, स्तनधारी वन्यजन्तु अवलोकन गराएर पर्यटन प्रवर्द्धन गर्न नियमावलीमा उक्त सेवा सञ्चालनको व्यवस्था गरेको हो । अहिले तराईका निकुञ्ज/आरक्षमा मात्र जंगल सफारीको सुविधा छ ।

निकुञ्जभित्र साइकल यात्रा, अल्ट्रा दौड, पैदल यात्रा, रक क्लाइम्बिङलगायत पर्यापर्यटनसम्बन्धी गतिविधि सञ्चालन गर्न दिइने भएको छ । साइकल दौड र अल्ट्रा दौड कार्यक्रमको ५ हजार र रक क्लाइम्बिङको प्रतिव्यक्ति २ सय ५० रुपैयाँ दस्तुर तोकिएको छ । ‘निकुञ्जभित्र जंगल सफारीको सम्भावना राम्रो भएकाले हामीले मन्त्रालयलाई प्रस्ताव गरेका थियौं,’ निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) कमलजंग कुँवरले भने । निकुञ्जको त्यही प्रस्तावअनुसार नियमावलीको पर्यापर्यटन व्यवस्था बुँदामा जंगल सफारी समेटिएको हो ।

१ सय ५९ वर्गकिलोमिटरमा फैलिएको निकुञ्जभित्र करिब एक सय किलोमिटर जंगल सफारी गर्न सकिन्छ । निकुञ्जभित्रका मोटरेबल कच्ची सडकमा उक्त सेवा सञ्चालनका लागि प्रतिस्पर्धा गराई कुनै संस्थालाई स्वीकृति दिन सकिने व्यवस्था नियमावलीमा छ ।

शिवपुरी–नागार्जुन निकुञ्जमा ३ सय १८ प्रजातिका चरा, १ सय २ किसिमका पुतली र १ सय २९ किसिमका च्याउ पाइन्छन् । यो दुर्लभ ध्वाँसे चितुवा, चितुवा, भालु, रतुवा मृग, बँदेल, जंगली बिरालो, लंगुरलगायत वन्यजन्तुको पनि आश्रयस्थल हो । यस निकुञ्जमा बाघद्वार, जामाचो, विष्णुद्वार, तारेभीर, नागी गुम्बा जस्ता हिन्दु र बौद्धधर्मका तीर्थस्थल छन् ।

नयाँ वर्षको प्रारम्भमा उपत्यका तथा वरपरका श्रद्धालु वाग्मती तथा विष्णुमतीको उद्गमस्थल वाग्द्वार र विष्णुपादुकामा गएर स्नान तथा पूजाआजा गर्ने चलन छ । शिवपुरीको उत्तरी भेगबाट उच्च हिमाल तथा दक्षिण ढलानबाट काठमाडौं उपत्यका देख्न सकिन्छ । शिवपुरी डाँडाको उचाइ २,७३२ मिटर छ । उत्तरी ढलानको सिमाना समुद्री सतहबाट १ हजार मिटर र दक्षिणी ढलानको सिमाना १५ सय मिटर छ ।

निकुञ्ज चिसापानीदेखि शिवपुरी डाँडा, ककनी हुँदै नागार्जुनसम्म फैलिएको छ । नागार्जुनतर्फको फूलबारीगेटदेखि जामाचो (रानीवनको टुप्पो) ऐनडाँडा/स्वानागाउँ हुँदै मुड्खु भन्ज्याङ (२९ किमि), निकुञ्जको मुख्यालय पानीमुहानदेखि जंगलबीच हुँदै सुन्दरीजलसम्म (१८ किमि), पानीमुहानबाट डाँडागाउँ हुँदै गुर्जेभन्ज्याङ (१५ किमि) र सुन्दरीजलदेखि धापसम्म जंगल ड्राइभ गर्न सकिने सडक छ ।

नियमावलीमा व्यावसायिक जंगल सफारी गर्ने कारको प्रतिट्रिप ५ सय, जिपको १ हजार र भ्यानको १ हजार ५ सय रुपैयाँ दस्तुर तोकिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले नियमावली बनेपछि कम्पनी/संस्थाहरूबीच प्रतिस्पर्धा गरी जंगल ड्राइभको स्वीकृति दिन बाटो खुलेको बताए । कम्पनी/संस्थाले कारमा बढीमा चार, जिपमा बढीमा १० र भ्यानमा बढीमा १५ जनालाई चढाउन पाउनेछन् । सफारी शुल्क भने निकुञ्जसँगको समन्वयमा कम्पनीले निर्धारण गर्नेछन् ।

यो निकुञ्जमा अहिले वार्षिक डेढ लाखभन्दा बढीले भ्रमण गर्ने गरेका छन् । जंगल ड्राइभ, साइकल यात्रा वा दौड, अल्ट्रा दौड, रक क्लाइम्बिङलगायत पर्यापर्यटनसम्बन्धी गतिविधिले थप पर्यटक आकर्षित हुने प्रमुख पुनको विश्वास छ । निकुञ्जमा वर्षभरि जुनसुकै सिजनमा ती सेवा सञ्चालन गर्न सकिने पुनले बताए ।

जंगल ड्राइभका लागि विभिन्न संस्थाले इच्छा देखाएका छन् । नेचरगाइड एसोसिएसन, नागार्जुनले फूलबारीगेटदेखि जामाचो (रानीवनको टुप्पो)–ऐनडाँडा–स्वानागाउँ हुँदै मुड्खु भन्ज्याङ (२९ किमि) सम्म जंगल ड्राइभका लागि रुचि देखाएको छ । एसोसिएसनका अध्यक्ष निराजन तामाङले सेवा सञ्चालन गर्नुअघि सडक मर्मतका लागि प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सहकार्य गर्न लागिएको बताए ।

सुन्दरीजल, ढाप र पानीमुहान क्षेत्रमा पनि मध्यवर्ती क्षेत्रकै विभिन्न संस्थाले रुचि देखाएका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष धावा लामाले निकुञ्जमा जंगल सफारी खुला भएपछि मध्यवर्ती क्षेत्रकै बासिन्दाले रोजगारीलगायत लाभ लिन पाउने बताए ।

‘अब हामी स्थानीय युवालाई सवारी चालक तालिम पनि दिन्छौं र सफारी चलाउन स्थानीयलाई नै उत्प्रेरित गर्छौं,’ लामाले कान्तिपुरसित भने । परिषद्मा ११ वटा समिति र ३ सय १७ उपभोक्ता समूह छन् । मध्यवर्ती क्षेत्रमा ८० हजार बासिन्दा छन् । निकुञ्जको ३० देखि ५० प्रतिशत आम्दानी परिषद्मार्फत खर्च हुन्छ ।

नियमावलीले निकुञ्ज कार्यालयको पूर्वस्वीकृति लिएर निकुञ्ज क्षेत्रभित्र सरकारी निकाय वा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले धार्मिक स्थल, पर्यापर्यटन र जलाधार क्षेत्र संरक्षणसम्बन्धी सामुदायिक विकास निर्माणको काम गर्न खुला गरेको छ ।

नेचरगाइड अनिवार्य

नियमावलीअनुसार पर्यटकले प्रकृति पथप्रदर्शक (नेचरगाइड) को सेवा अनिवार्य लिनुपर्ने व्यवस्था निकुञ्ज कार्यालयले गर्न सक्नेछ । निकुञ्ज र पन्छी संरक्षण संघ (बीसीएन) को सहयोगमा शिवपुरी र नागार्जुनमा तालिम प्राप्त २३ जना नेचरगाइड छन् । उनीहरूले पर्यटकलाई सेवा दिइरहेका छन् ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?