हुरीले बिचल्ली : कच्ची घरजति एउटै बचेनन्

सुदूरपश्चिम ब्युरो

काठमाडौँ — कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको भीषण हुरीले जनजीवन बिथोलिएको छ । दुई जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते छन् । कैलालीमा ३ हजार घरका छाना उडाएको छ भने कञ्चनपुरमा २ सय घर क्षतिग्रस्त छन् । बिजुलीका पोल ढल्दा विद्युत् अवरूद्ध छ ।

हुरीले बिचल्ली : कच्ची घरजति एउटै बचेनन्

कैलाली र कञ्चनपुरमा बिहीबार राति आएको हावाहुरीले दुई जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी घाइते छन् । प्रतिघण्टा एक सय किलोमिटर वेगमा आएको हुरी झन्डै एक घण्टा चलेको थियो ।


मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका १ मजगाउँका वीरबहादुर चौधरी र टीकापुरका लाहुन चौधरी छन् । कुखुराको खोर हेर्न गएका लाहुन हुरीले पर्खाल ढाल्दा गम्भीर घाइते भएका थिए । टीकापुर अस्पतालमा प्रारम्भिक उपचारपछि कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बाटामै उनको मृत्यु भएको हो । वीरबहादुरको भने मोटरसाइकलमा घरतर्फ फर्कने बेला हुरीबतासले अनियन्त्रित भई ढल्दा मृत्यु भएको हो । हुरीले अधिकांश स्थानीयको कच्ची घरको छानो उडाएको छ । कैलालीमा ३ हजार घरका छाना उडाएको र कञ्चनपुरमा २ सयभन्दा बढी घरमा क्षति पुगेको अनुमान छ । सडक, विद्युत् सेवा अवरुद्ध भएपछि जनजीवन प्रभावित भएको छ ।


जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी आसपास क्षेत्रमा गरी ७९ जना घाइते भएका छन् । ४ जनाको अवस्था गम्भीर छ । २ जनालाई नेपालगन्ज र २ जनालाई भारत रिफर गरिएको छ । अन्य घाइतेमध्ये अधिकांश उपचारपछि घर फर्किसकेका छन् ।

‘साढे सात बजेतिर अकस्मात् तीव्र वेगको हुरीबतास चल्न सुरु भएको हो,’ कैलालीका एसपी सुदीप गिरीले भने, ‘बाहिरबाट फर्किने बेला बीच बाटामै हुरीबतासको चपेटामा परी धेरै जना घाइते भए ।’ कैलालीको पूर्वी भेगका टीकापुर, लम्कीचुहा, भजनी तथा जानकी, जोशीपुर बर्दगोरियालगायत गाउँपालिकामा सयौँ घरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलनमा प्रहरी, रेडक्रसकर्मी र स्थानीयको टोली खटिएको छ ।


सेती अञ्चल अस्पतालमा २८ जनाको उपचार भइरहेको छ । ३ जनाको अवस्था गम्भीर रहेको अस्पतालका इमर्जेन्सी युनिट इन्चार्ज डा. जगदीश जोशीले बताए । उनका अनुसार शुक्रबार बिहान गोदावरी नगरपालिकाबाट आएकी सरस्वती विकको अवस्था जटिल छ । ‘आँगनमा बसेका बेला आँपको रूख ढल्दा उनी घाइते भएकी हुन्,’ उपचारमा खटिएका चिकित्सक सुरेशरमण पुरीले भने, ‘गर्भवती अवस्था भएकाले उनको अवस्था गम्भीर छ ।’


इँटाको पर्खाल र टिनले छाएको घर भत्किँदा धनगढी, मिलनचोककी सरु कुँवरका टाउकामा चोट लागेको छ । परिवारका अन्य सदस्य सामान्य घाइते छन् । कञ्चनपुरको बेतकोट नगरपालिकाका रामसिंह रावलको अवस्था पनि गम्भीर छ । ८० कटेका उनको टाउको र शरीरका अन्य भागमा चोट लागेको छ । घर भत्केर पुरिएको अवस्थामा उनलाई छिमेकमै बस्ने छोरी विमलादेवीले उद्धार गरी सेती अञ्चल अस्पताल पुर्‍याएकी थिइन् ।


‘एक्कासि हुरीबतास आएपछि कहाँ जाऔं, के गरौं भयो,’ रावलले भने, ‘जोगिन ढोकाछेउ उभिएका थियौँ, टिनको छानो उड्यो । त्यसपछि भित्ताका इँटा बर्सिन थाले ।’ अधिकांशको हात, खुट्टा र टाउकामा चोट लागेको डा. जोशीले बताए । घाइतेहरूको उपचार धनगढीका विभिन्न निजी अस्पतालमा पनि भइरहेको छ ।


हसनपुरस्थित निसर्ग अस्पतालमा भर्ना भएका १३ मध्ये १० जना सामान्य उपचारपछि घर फर्किएका छन् । चटकपुरस्थित मया मेट्रो अस्पतालमा ७ जना घाइते उपचारपछि घर फर्किएका छन् । अत्तरियास्थित पदमा अस्पतालमा १८ जना भर्ना भएका थिए । तीमध्ये ३ जनालाई कोहलपुर रिफर गरिएको छ । ५ जनाको उपचार जारी रहेको अस्पतालले जनायो ।


प्रहरीका अनुसार जस्तापाता र कच्ची ९० प्रतिशत घरका छाना उडेका छन् । ‘प्रारम्भिक जानकारीअनुसार कैलालीमा ३ हजार घरका छाना उडेका छन्,’ सशस्त्र प्रहरी उपरीक्षक विष्णुप्रसाद भट्टले भने । शुक्रबार मध्याहनसम्म १ हजार १ सय ७४ जनाको निवेदन आएको कैलाली प्रहरीले जनाएको छ । हुरीबताससँगै मुसलधारे वर्षा भएपछि स्थानीयलाई पीडामाथि पीडा थपिएको छ ।


‘रातभर जाग्राम बस्नु त छँदै थियो, बालबच्चालाई कसरी जोगाउने भन्ने पीर पर्‍यो,’ धनगढी बजार नजिकैको मुक्त कमैया शिविरका हरिलाल चौधरीले भने, ‘छानो उडाएपछि भएको खाद्यान्न पनि बचेन ।’ तीव्र हुरीले आफ्नै कार्यालयका २ वटा ठूला रूख भाँचिएपछि प्रहरीलाई बाहिर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुदीप गिरीले बताए ।


‘केही क्षणमै विभिन्न ठाउँबाट घाइते भएका खबर आउन थाले,’ उनले भने, ‘गोदावरीका वीरबहादुर चौधरीलाई हाम्रै टोलीले उद्धार गरी उपचार गर्ने क्रममा मृत्यु भएको हो ।’ आफूहरूको ध्यान सुरुमै सडक अवरोध हटाउनमा गएको उनले बताए । ‘घाइतेलाई अस्पतालसम्म ल्याउन सडक सुचारु रहन आवश्यक पर्थ्यो,’ उनले भने, ‘शुक्रबार बिहानैदेखि सडक अवरोध हटाउन ध्यान दियौँ ।’


विद्युत् प्राधिकरण अत्तरियाका अनुसार धेरै ठाउँमा पोल ढलेका छन् । केही ठाउँमा ट्रान्सफर्मर खसेका छन् । प्राधिकरणका इलेक्ट्रिसियन जंगबहादुर चन्दका अनुसार १३२ केभी प्रसारण लाइनमा कुनै समस्या छैन तर उपभोक्तालाई विद्युत् आपूर्ति गरिने फिडर लाइन भने चलेका छैनन् । विद्युत् युनिट कार्यालयबाट कर्मचारी आआफ्ना क्षेत्रमा मर्मतमा खटिसकेको उनले बताए । अवरुद्ध विद्युत् सेवा सुचारु गर्न एक सातासम्म लाग्न सक्ने धनगढी वितरण केन्द्रका धीरेन्द्र कुमारले जानकारी दिए ।


हुरीले यहाँको केराबाली र पोल्ट्री व्यवसायमा ठूलो क्षति पुर्‍याएको छ । यकिन विवरण नभए पनि करिब ७० प्रतिशत क्षति पुगेको अनुमान रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषितर्फको कार्यालय प्रमुख भरत कँडेलले बताए । यस्तै, कैलालीमा ३ वटा एफएमको टावर भाँच्चिएको छ ।


लम्कीस्थित लम्की एफएम, सुखडस्थित कैलाली एफएम र पहलमानपुरस्थित मनको मझेरी एफएमको टावर भाँच्चिएको जनाइएको छ । जल तथा मौसम पूर्वानुमान फिल्ड कार्यालय, अत्तरियाका प्रमुख सिगम चौधरीका अनुसार बिहीबार राति आएको हुरी ४० देखि ५० मिटर प्रतिसेकेन्ड थियो । भारतको राजस्थान क्षेत्रको मौसमी वायुको प्रभावले यहाँ हुरी आएको कार्यालयले जनायो ।


प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले शुक्रबार पत्रकार सम्मेलन गरी प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य तीव्र बनाउने, घाइतेको उपचारमा सहयोग गर्ने निर्णय गरेको बताए । उनले क्षतिको विवरण संकलन भएपछि पीडितलाई उचित राहतको व्यवस्था मिलाउने जनाए । यस्तै कैलालीको लम्कीचुहा नगरपालिकाले शुक्रबार आकस्मिक बैठक बसेर पूर्ण क्षति भएकालाई १० हजार, आंशिक क्षति भएकालाई ५ हजार तथा सामान्य क्षति भएकालाई २ हजार ५ सय रुपैयाँ राहत दिने निर्णय गरेको छ ।


कञ्चनपुरमा २ सयभन्दा बढी घरमा क्षति

हुरीले कञ्चनपुरमा २३ जना घाइते भएका छन् । २ सयभन्दा बढी घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी क्षति भीमदत्त नगरपालिका र वेदकोट नगरपालिकामा भएको छ । घाइते पनि बढी यही क्षेत्रका छन् । ‘घाइतेमध्ये १५ जना सामान्य उपचारपछि घर फर्केका छन्,’ डीएसपी ज्ञानबहादुर विष्टले भने, ‘४ जना उपचारका लागि सेती अञ्चल अस्पताल रिफर भएका छन् ।’


कृष्णपुर नगरपालिकाको रैकवार बिचवामा पनि बढी क्षति भएको प्रजिअ सुशील वैद्यले बताए । उनका अनुसार क्षतिको पूर्ण विवरण आइसकेको छैन । ‘हामी पनि क्षति भएका ठाउँमै छौँ,’ उनले भने, ‘सबै क्षेत्रबाट विवरण संकलन भइरहेको छ ।’ जिल्लाका अधिकांश स्थानमा विद्युत् सेवासमेत अवरुद्ध छ ।


रैकवार बिचवामा ९० भन्दा बढी पोल ढलेका छन् । विद्युत् प्राधिकरणले जिल्लाभरिमा ३ सयभन्दा बढी पोल ढलेको जानकारी दिएको प्रजिअ वैद्यले बताए । जिल्लाका विभिन्न ठाउँमा गरिएको केरा खेतीमा पनि हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ । कृषकका अनुसार ३० देखि ४० प्रतिशतसम्म केरा खेतीमा क्षति पुगेको छ ।


(अर्जुन शाह, मोहन बुढाऐर, गणेश चौधरी, भवानी भट्ट र निर्मला खडायतको सहयोगमा)

प्रकाशित : जेष्ठ २५, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?