१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भारतीय अध्यागमनको मनपरी : स्थलमार्गबाट भारत गएका नेपालीलाई हवाईमार्गबाट फर्कन रोक

अध्यागमन अधिकारीले भने– ‘तिमीहरु जुन बाटोबाट आएको हो त्यही बाटोबाट फर्कनुपर्ने नियम छ’
सुरेशराज न्यौपाने

नयाँदिल्ली — तिर्थाटन, व्यापारलगायतका प्रयोजनका लागि भारत आएर शुक्रवार स्वदेश फर्कँदै गरेका केही नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अफलोड’ (उडन रोक) गरिएको छ । एक जना नेपाल वायु सेवा निगम र १० जना भुटान एअरमा गरी काठमाडौं जान लागेका ११ जना नेपालीलाई अध्यागमन अधिकारीहरूले अन्तिम समयमा उडन रोक लगाएका हुन् । 

भारतीय अध्यागमनको मनपरी : स्थलमार्गबाट भारत गएका नेपालीलाई हवाईमार्गबाट फर्कन रोक

त्यसरी अफलोड भएकामध्ये कान्तिपुरको सम्पर्कमा आएकाहरुले आफूहरुलाई भारतीय अधिकारीहरुले बस वा ट्रेनबाट आएकाहरु स्वदेश फर्कँदा पनि त्यसैगरी फर्कनुपर्ने भन्दै उडन नदिइएको बताए । ‘तिमीहरु जुन बाटो आएको हो, त्यही बाटो फर्कनुपर्ने नियम छ,’ भारतीय अधिकारीलाई उद्धृत गर्दै एक नेपाली यात्रुले भने । बिना पूर्व सूचना भारतीय पक्षबाट लगाइएको अघोषित नियमका कारण नेपालीहरूले सास्ती खेप्नु परेको छ ।


त्यस्तै सास्ती खेप्ने मध्येका हुन काठमाडौं चावहिलका लालबाबु चौधरी । वैष्णोदेवी दर्शन गरेर घर फिर्ने तयारीमा रहेको चौधरी र उनको पुरै परिवार दंग थियो । शुक्रवार बिहान ११ः४५ मा भुटान एअरबाट काठमाडौं फर्कने तयारीमा थिए उनीहरु । बिहान आठै बजे उनीहरु आठ जना इन्दिरा गान्धी अन्तर्राष्ट्रिय हवाई अड्डा पुगे । भुटान एअरको काउन्टरमा चेकइन गरेर लगेजसमेत बुझाए र काउन्टरबाट बोर्डिङ पास पनि लिए । एक डेढ घन्टाभित्रै काठमाडौं ओर्लनेमा ढुक्क थिए उनीहरु । तर, जब अध्यागमन अधिकारीहरूले उड्न नपाउने भने त्यसपछि उनीहरूको होस हवास उड्यो ।


अध्यागमन अधिकारीहरूले आउँदा खेरि स्थलमार्गबाट आएको हुँदा फर्कँदा पनि त्यही भएर फर्कनुपर्ने नियम भएकाले उड्न नदिने बताए । उनीहरूलाई यतिमात्र भनियो, ‘पहिले जुन बाटोबाट आएको त्यही बाटोबाट फर्कनुपर्छ’ । चौधरीको परिवार गोखरपुर हुँदै ट्रेनबाट आएको थियो । तर यसअघि थुप्रैपटक दिल्ली आइसकेका चौधरीले आउँदा ट्रेन र जाँदा प्लेन गरेको पहिलोपटक भने होइन ।


‘यसअघि आफूलाई जे सजिलो हुन्थ्यो त्यही गरियो, कहिले बस र ट्रेन त कहिले प्लेन’ चौधरीले भने । बढी गर्मी भएकाले फर्कँदा भने आफूहरुले प्लेनबाट जाने निर्णय गरेको उनले सुनाए । ‘निकै गर्मी छ, बच्चा र महिलालाई जान दिनूस् भन्दा पनि कुनै सुनुवाइ भएन,’ उनले भने ।


चौधरी र उनको परिवारले उड्न नपाउनुको पिडा त खेप्यो नै आफ्नो सामान फिर्ता पाउन दिनभर विमानस्थलमै बस्न बाध्य पारियो । न खानाको, न बस्नको ठेगान । साँझ करीब पाँच बजे मात्र उनीहरुले आफ्नो सामान फिर्ता पाए ।


‘लगेज बुझाएर, बोर्डिङ पास पाइसकेपछि एकाएक त्यस्तो सुन्नुपर्‍यो’ चौधरीले भने । सामान हात परे पनि जाने कहाँ ? फेरि होटलमा गएर बस्नका लागि खर्च पनि छैन । टिकटको पैसा फिर्ता आउँछ कि आउँदैन त्यो पनि ठेगान छैन । टिकट काटिदिने एजेन्टले पैसा फिर्ता गर्ने जिम्मेवारी आफ्नो नभएको भन्दै टकटकिएको चौधरीले बताए । भुटान एअरले भने बोर्डिङ पास लिएर पनि उड्न नपाएको हुँदा टिकटको पैसा फिर्ता आउने कुरामा ढुक्क हुन भनेको उनले सुनाए । ‘तर, खै कसको कुरा पत्याउने, तर, आशा भने छैन, अब ऋण सापट गरेर भए पनि काठमाडौं फर्कनुपर्ला,’ चौधरीले भने ।


चौधरीको जस्तै पीडा भोगे प्रमोद मुडवरीले पनि । काठमाडौंका प्रमोद मुडवरीको व्यापारका सिलसिलामा पनि दिल्ली आउने जाने बाक्लै छ । उनी कहिले बसबाट त कहिले जहाजबाट दिल्ली आउने गरेका छन् । पछिल्लो पटक बसबाट आएका दिल्ली आएका मुडवरीले काठमाडौं फर्कन भुटान एअरको टिकट काटे । तर, उनलाई पनि भारतीय अध्यागमन अधिकारीहरुको बसबाट आएको हो भने त्यसबाट फर्कनु पर्ने भन्दै उडन दिएनन् ।


‘यस्तो त कहिल्यै भएको थिएन, हरेक एक दुई महिनामा दिल्ली आउने जाने गर्छु, जेबाट सजिलो हुन्छ, त्यहीबाट फर्कने गरेको छु, तर, यसपटक जान मिल्दैन भनियो,’ मुडवरीले कान्तिपुरसँग भने । एअरपोर्टबाट फर्कंदै गरेका मुडवरीले बिना कुनै पूर्व सूचना उड्न नदिएर बिचल्ली बनाएको बताए । चौधरीको परिवारले जस्तै मुडवरी पनि बस वा ट्रेन केबाट फर्कने भन्नेमा अन्यौलमा छन् ।


‘आजको भोली के पाउला र टिकट ? खर्च पनि छैन, पुरै विजोग नै बनाइएको’ मुडवरीले भने ।

यससम्बन्धमा नयाँ दिल्लीस्थित नेपाली दूताबासका प्रवक्ता हरि ओडारीलाई सोध्दा नेपाली नागरिकहरुलाई उडन रोक रोक लगाइएको भन्ने सुन्नमा आउने बित्तिकै सम्बन्धित भारतीय पक्षसँग कुराकानी गरेको बताए ।


‘त्यो सुन्नेबित्तिकै हामीले विमानस्थल अध्यागमनसँग कुराकानी गर्‍यौं, उहाँहरूले रोक्ने कुनै नीति छैन भन्ने जवाफ पाएका छौं,’ ओडारीले भने ।


पीडितहरुका अनुसार अध्यागमन अधिकारीले उड्न दिए पनि कालोसूचीमा राख्ने चेतावनीसमेत दिएका थिए । त्यस्तो धम्की सुनेपछि केहीले स्वेच्छाले उडान नभर्ने निर्णयमा पुगेका थिए ।


औपचारिक रेकर्डमा भने अध्यामन अधिकारीहरुले उडानमा रोक लगाउनु पछाडि ‘अमान्य कागजात’ कारण देखाएको स्रोतको दाबी छ । अफलोड गरिएका नेपालीहरूसँग नागरिकता र पासपोर्ट बोकेका थिए । जबकि हवाईमार्गबाट नेपाल–भारत आवतजावत गर्दा नागरिकता वा पासपोर्टमध्ये कुनै एउटा भए पुग्ने व्यवस्था छ । ‘आफूलाई जसरी सजिलो हुन्छ, त्यसरी नै आउने जाने गर्ने हो । यो त हदैसम्मको भारतको हेपाहा प्रवृत्ति भयो, बिना कुनै जानकारी जे पनि गर्न हुने,’ अफलोड गरिएकामध्ये एकजनाले भने ।


यदि भारतीय अधिकारीहरूले दाबी गरेजस्तै नयाँ नियम लगाइएको हो भने आगामी दिनमा थुप्रै नेपालीले दुःख पाउने निश्चित देखिन्छ । किनभने उपचार गर्न वा अन्य प्रयोजनका लागि भारतको नयाँदिल्लीलगायत शहरहरुमा आउने नेपालीमध्ये अनुकूलता हेरी बस, ट्रेन र जहाजबाट स्वदेश फर्कने गरेका छन् ।


‘आउने र फर्कने कसरी भन्ने त हाम्रो इच्छा कुरा भयो, कानुन पालना गरेको छ छैन भन्ने पो हेर्ने हो, यो त अनावश्यक दुःख दिने नियत बाहेक केही होइन,’ अर्का एक नेपाली यात्री सन्जय जैसवालले भने । त्यतिमात्र होइन, उड्ने हो भने पनि आइन्दा आउन नपाउने गरी कालो सूचीमा राख्ने अध्यागमन अधिकारीहरूले चेतावनीसमेत दिएको जैसवालले बताए । ‘कालो सूचीमा राख्ने धम्की सुनेपछि कसरी जबर्जस्ती गर्न सकिन्छ,’ उनले भने ।



प्रकाशित : जेष्ठ २४, २०७६ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?