कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काम नपाएर अब कोही नेपाली बिदेसिनु पर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको उद्घाटन
लीला श्रेष्ठ

भक्तपुर — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशमा रहेका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको बताएका छन् । शुक्रबार भक्तपुरमा आयोजना भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको उद्घाटन गर्दै उनले हरेक समस्याको समाधान पहिल्याउँदै सरकार अगाडि बढेको बताएका हुन् ।

काम नपाएर अब कोही नेपाली बिदेसिनु पर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले भने, “रोजगारीका लागि विदेशमा ४० लाख युवा भौतारिरहेका छन्, सरकार के हेरेर बसिरहेको छ भन्नेलाई सरकार समाधानको बाटो खोजेर अगाडि बढेको छ, यो कार्यक्रम त्यसैको एउटा नमुना हो ।”

कुनै नेपाली सरकारी बेवास्तामा नपर्ने र बेरोजगार हुनु नपर्ने उनको दाबी थियो । 'हामी समृद्ध नेपाल बनाउन लागिपरेका छौं, राष्ट्रलाई समृद्ध बनाउन युवा रोजगारलाई जोड्दैछौं,' उनले भने । यो महाअभियानको भव्य सुरुआत भएको बताउँदै उनले यो कुनै गोष्ठी नभई कामबाटै सुरु भएको अभियान भएको धारणा व्यक्त गरे ।

ओलीले नेपालमा अब कोही भोकै पर्दैन र कोही भोकले नमर्ने बताए ।

उनले सरकार ‘डिजिटल नेपाल’ बनाउन लागिपरेको उल्लेख गर्दै प्रत्येक प्रदेश, नगर र गाउँपालिकालाई डिजिटलमय बनाउने बताए । काम नपाएर अब कोही पनि नेपाली विदेशिनु नपर्ने बताउँदै उनले सबैलाई देशमै रोजगारी दिने बताए । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महान अभियानको एउटा दृष्टान्तको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको चर्चा गर्दै देशमा अब कोही पनि भोकै बस्नुपर्ने र भोकले मर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए ।


सरकारले बालकदेखि ज्येष्ठ नागरिकसम्मको जीवन सुरक्षाको कार्यक्रम सञ्चालन गरेकाले अब कसैलाई समस्या नपर्ने बताउँदै उनले सरकारले सुरु गरेको महान् अभियानदेखि आत्तिएर केही प्रतिक्रियावादी तत्वहरु सक्रिय रहेको धारणा व्यक्त गरे । उनले भने, “अब जनतालाई भ्रममा राखेर भड्काउने र अलमल्याउने दिन सकिएको छ ।”


कार्यक्रममा प्रधानमन्त्री ओलीले कटुञ्जेको सवुर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको शुभारम्भ गर्दै कार्यक्रमसँग आबद्ध भएका युवालाई साबेललगायत उपकरण हस्तान्तरण गरेका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ ल्याएको बताउँदै चालू आर्थिक वर्षमा आंशिक रुपमा यो कार्यक्रम सञ्चालन भए पनि आगामी वर्षबाट कम्तीमा पाँच लाख बेरोजगार युवालाई व्यवस्थितरुपमा रोजगारी दिने गरी देशैभरि यो कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । उनले शिक्षित र अशिक्षित दुवै वर्गका लागि सरकारले रोजगार कार्यक्रम अगाडि सारेको बताए ।

सूर्यविनायक नगरपालिका-५ सूवर्णचोकदेखि तीनधारासम्मको करिब तीन सय मिटर सडक निर्माण सुरू गरी कार्यक्रम थालनी गरिएको छ । जिल्लाका चारवटै नगरपालिकाले बेरोजगार युवाको नामावली संकलन गरेको छ । बेरोजगारको सूचीमा परेकाहरूलाई सामाजिक न्यायमा अग्रसर गर्ने र समन्वयात्मक किसिमले स्थानीय तहमै रोजगार प्रदान गर्ने मन्त्री विष्टले आश्वासन दिए ।

प्रकाशित : जेष्ठ २४, २०७६ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?