प्रेसलाई जिम्मेवार बनाउन मिडिया विधेयक : सञ्चारमन्त्री

दुर्गालाल केसी

दाङ — सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले मिडियालाई जिम्मेवार बनाउन मिडिया काउन्सिल विधेयक ल्याउन लागिएको बताएका छन् । पत्रकार महासंघले शुक्रबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले प्रेसलाई जनताप्रति बढी जवाफदेही बनाउन विधेयक ल्याएको दाबी गरे ।


‘सरकारको उद्धेश्य प्रेसलाई कमजोर पार्ने नभई मर्यादित र बलियो बनाउने हो। नयाँ विधेयकले मिडियालाई नियन्त्रण नभई नियमन गर्न खोजेको छ,’ उनले भने, ‘श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गराउने, न्यूनतम पारिश्रमिक कडाइका साथ लागू गराउने जस्ता कुरालाई महत्व नदिएर विधेयकको विरोध मात्र गर्नु उचित होइन।’

पत्रकारलाई जरिवाना र कैद सजायको प्रावधानमा अझै पनि छलफल गर्न सकिने भए पनि अन्य सबै प्रावधान प्रेसकै हितमा रहेको उनले दाबी गरे। ‘कैद सजाय र जरिवानामा मात्रै छलफल गरेर केही विचार गर्न सकिएला,’ उनले भने, ‘अन्य प्रावधान प्रेसलाई अझ बढी व्यवस्थित गर्न सहयोगी छन्। हामी प्रेस स्वतन्त्रतताको विरोधी होइनौं। प्रेस स्वतन्त्र नै छ।’

सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले सरकारले यसपटक मानिसको जीवनस्तर परिवर्तन गर्ने बजेट ल्याएको बताए। ‘विपन्न र सिमान्तकृत वर्गको मनोबल बढाउने खालको कार्यक्रम बजेटमा आएको छ,’ उनले भने, ‘समाजवाद उन्मुख नीति तथा कार्यक्रम र बजेट ल्याएर सरकारले जनताको पक्षमा काम गर्न खोजेको छ। पाँच वर्षमा धेरै महत्वपूर्ण काम गर्छौं। मिडियाले गरेका कामहरु पनि देखिदिनुपर्‍यो।’

प्रकाशित : जेष्ठ २४, २०७६ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्

फेवामा ढल, पर्यटनमा छल

आकाशे पानी मात्र बगाउन बनाइएको नालामा घरघरका बाथरुम मात्र नभई शौचालयको फोहोरसमेत पठाउँदा ताल प्रदूषणको चपेटामा परेको छ
दीपक परियार

लेखनाथ — दर्केर पानी पर्‍यो कि पोखराका सडकमा ठूलै भल बग्छ । त्यसको मौका छोप्न स्थानीय छतमा निस्कन्छन् । र बोराका बोरा फोहोर मिल्क्याउँछन् । फोहोर बग्दैबग्दै तलतल पुग्छ । पोखराको जमिन केही भिरालो भएकाले कुनै सडकका भल सेतीमा मिसिन्छन्, कुनै फिर्के र बुलौंदी खोलामा । फिर्के र बुलौंदी खोला फेवातालमा मिसिन्छन् । यिनै दुई खोलाले फेवाताललाई प्रदूषित बनाएका छन् ।

लेकसाइडको गाईघाटमा फिर्के खोलाले बगाएर ल्याएको फोहोरले पुरिएको फेवाताल । तस्बिर : दीपक परियार/कान्तिपुर

सराङकोटको फेदीबाट सुरु हुने फिर्केखोला पोखराको मध्यभाग हुँदै फेवातालमा मिसिन्छ। खोला छेउमा घर हुने वडा नम्बर १८, २, ४, ५, ६, ७, ८ र १७ का स्थानीयले ढल मिसाउँछन्। फोहोर खोलामै फ्याँक्छन्। घरघरबाट जोडिएका शौचालय, बाथरुम र भान्साको पानी, प्लास्टिकजन्य फोहोर फिर्के हुँदै फेवा पुग्छन्। फिर्के मिसिने गाइघाटनिर फोहोरको पहाड नै बनेको छ। गाईघाटमै रहेको वडा प्रहरी कार्यालय बैदाम र प्रहरी गणबाट निस्कने फोहोर पानी फेवामै मिसाइन्छ।

फेवा संरक्षणसम्बन्धी सर्वोच्चको फैसलामा अतिक्रमण हटाउने आदेश मात्र छैन, फेवालाई प्रदूषित हुनबाट बचाउन पनि भनिएको छ। तालमा मिसिने खोला, नहर, ढलको पानी शुद्धीकरण गरेर मात्रै फेवामा झार्न आदेश छ। पोखरा महानगरले हालै तालको ६५ मिटर मापदण्डभित्र निर्मित संरचना हटाउन सूचना जारी गरे पनि प्रदूषण रोक्न कुनै कदम चालेको छैन।

नागरिक समाजको अगुवाइमा दुई वर्षअघि सुरु भएको फिर्के बुलौंदी बृहत् सफाइ अभियान १८ हप्तासम्म चल्यो। अभियान चलुन्जेल सफा भयो। अभियान सकिएपछि पुरानै रूपमा फर्कियो। अभियानकै क्रममा फिर्के बुलौंदीमा ढल मिसाउनेको नालिबेली महानगरलाई बुझाउँदा बेवास्ता गरेको नागरिक समाजका अगुवा रामबहादुर पौडेलले बताए। ‘महानगरलाई पटकपटक ध्यानाकर्षण गरायौं,’ उनले भने, ‘हाम्रो सुनुवाइ भएन।’ उक्त अभियान हाल पोखरा बृहत् सफाइ अभियानमा परिणत भएर १ सय ५७ हप्ता पूरा गरिसकेको छ।

होटलको ढल तालमा
मालेपाटनबाट सिँचाइ कुलो लेकसाइड हुँदै फेवामा मिसिन्छ। आकाशे पानी मात्रै बगाउन निर्मित नाला फेवातालमै सोझिएको छ। पानी परेको मौका लेकसाइडका होटलले पनि छोप्छन्। जब पानी परेर सडकमा भल बग्न थाल्छ, तब होटल, रेस्टुरेन्ट र घरले ढल बाटोमा सोझ्याउँछन्। कसैले सिँचाइ कुलो र त्यही नालामा मिसाउँछन्।

आकाशे पानी मात्र बगाउन बनाइएको नालामा घरघरका बाथरुम मात्र नभई शौचालयको फोहोरसमेत पठाउँदा ताल प्रदूषणको चपेटामा परेको छ। फोहोर पानी ढलमा मिसाइँदा ताल किनारमा बस्नै नसक्ने गरी दुर्गन्ध फैलिएको छ। ताल किनारमा ढलको पानी फिल्टर गर्न बनाइएको पोखरी पनि दुर्गन्धित छ। फिल्टर गर्न बनाइएको पोखरीमा ट्रिटमेन्ट प्लान्ट नहुँदा फोहोर सोझै तालमा मिसिन्छ।

पानी परेपछि ढलमा शौचालयको फोहोर आउने गरेको सामुदायिक सेवा केन्द्र बैदामका पूर्वअध्यक्ष भीम पराजुली बताउँछन्। तीन वर्षअघि पराजुलीकै कार्यकालमा केन्द्रले तालमा ढल मिसाउने ३५ होटल, रेस्टुरेन्ट र स्थानीयको नाम र ठेगाना महानगरलाई बुझाएको थियो। तिनलाई कारबाही गर्न महानगरले खासै चासो नदेखाएको उनले बताए। ‘ठूलै र नाम चलेका होटलले पनि फोहोर पानी ढलमा मिसाएका छन्,’ उनले भने, ‘ढलमा सोझ्याइएका पाइप काट्ने र उनीहरूलाई कारबाही गरे अरूले मिसाउने आँट गर्ने थिएनन्।’ त्यसबाहेक तालमा नुहाउने, कपडा धुने, पौडी खेल्ने, गाईभैंसीलाई पानी खुवाउने र नुहाइदिने कार्यले पनि प्रदूषण बढेको छ।

वडा नम्बर ६ का अध्यक्ष जगतबहादुर पहारी लेकसाइडका होटलले लुकिछिपी ढल तालमा मिसाएको स्विकार्छन्। उनले केही महिनाअघि अनुगमन गर्दा आधा रातमा होटल, रेस्टुरेन्ट र स्थानीयको घरघरबाट तालमा ढल मिसाएको पाइएको बताए। ‘५/६ जनालाई जरिवाना गर्‍यौं, अबदेखि नमिसाउने कबुलियतनामा पनि गरायौं,’ उनले भने, ‘देखेसम्म नियन्त्रण गरेका छौं। तैपनि रोक्न सकिएको छैन।’

महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलव्यवस्थित ढल विकास नहुँदासम्म दीर्घकालिन रुपमा फेवाको प्रदूषण रोक्न नसकिने बताउँछन्। ‘महानगरपालिकाले बृहत ढल विकास योजना प्रस्ताव तयार गरेर कुरा अघि बढिरहेको छ,’ उनले भने, ‘संघ सरकार र दातृ निकायसँग छलफल गरिरहेका छौं। त्यसले मात्रै दीर्घकालिन निकास दिन्छ।’ खोला र तालमा ढल नमिसाउन जनचेतनामूलक र दण्डात्मक व्यवस्था गर्नुपर्नेमा उनी जोड दिन्छन्। भन्छन्, ‘नागरिक सचेत नहुँदासम्म महानगरले मात्रै गरेर केही हुँदैन।

लेकसाइडको गाईघाटमा फिर्के खोलाले बगाएर ल्याएको फोहोरले पुरिएको फेवाताल। तस्बिर : दीपक परियार/कान्तिपुर

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले गत चैतमा फेवातालको पानी परीक्षण गर्‍यो। पौडी स्पर्धाका लागि गुणस्तर थाहा पाउन पानी परीक्षण गर्दा मलमुत्र अधिक रहेको देखियो। तालको पानी पिउन योग्य नभएको निष्कर्ष खानेपानी तथा ढल निकास विभागले निकालेको छ। आयोजनाका प्राविधिक सुनील चौधरीका अनुसार फेवातालको बीचबाट पानी निकालेर प्रयोगशालामा परीक्षण गरिएको थियो। ‘फेवातालको पानीमा कोलिफर्म र इकोलीको मात्रा देखिएकोले मानिस र गाईवस्तुले पिउन मिल्दैन,’ उनले भने, ‘माछाका लागि समेत यो पानी हानीकारक छ। पौडिनको लागि भने खासै समस्या छैन।’

सन् २००७ मै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले तालको पानी पिउन अयोग्य रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो। तर यसको शुद्धीकरणमा कुनै निकायको चासो दिएनन्। अघिल्लो बर्षभन्दा अहिलेको परीक्षणले पानी केही शुद्ध देखाएको छ। सामान्यतः पानीमा ६.५ देखि ८.५ सम्मको क्षार हुनुपर्ने प्राविधिक बताउँछन्। अघिल्लो बर्ष ८.७ रहेकोमा यो बर्ष ८.१ पीएच क्षार देखिएको छ।

पानीमा धमिलोपनको मात्रा सामान्य भन्दा निकै धेरै रहेको प्राविधिक चौधरीले जनाए।

महानगरअन्तर्गत फेवाताल संरक्षण तथा व्यवस्थापन कार्यालय छ। कार्यालयले तालको प्रदूषण नियन्त्रणमा कुनै भूमिका खेल्न नसकेको सरोकारवालाको गुनासो छ। लेकसाइडका व्यवसायीले समेत प्रदूषण नियन्त्रणमा चासो नदिएको बताइन्छ।

लेकसाइड केन्द्रित पर्यटन, फेवाजत्तिकै सुन्दर तर सफा ताल
पोखरामा पर्यटकको औषत बसाइ १.७ दिन मात्रै छ। पोखराको पर्यटन लेकसाइड केन्द्रित हुँदा बसाइ अवधि लम्बिन सकेको छैन। पदयात्रामा आउने पर्यटकको ‘ट्रान्जिट’ सहरका रुपमा पोखरा स्थापित हुँदै गएको चर्चा छ।

कास्कीमा फेवाबाहेक लेखनाथ क्षेत्रमा बेगनास र रुपा दुई ठूला ताल छन्। दुबै ताल फेवातालभन्दा सफा छन्। फेवाजत्तिकै सुन्दर छन्। बेगनासतालमा केही विदेशी र आन्तरिक पर्यटक पुग्छन्। रुपातालमा नगन्यमात्रामा पर्यटक पुग्छन्। केही स्थानीयकै कमिकमजोरी र धेरै केन्द्रीकृत सोचका कारण लेकसाइड बाहिरको पर्यटन फस्टाउन नसकेको बताउँछन्, स्थानीय होटल व्यवसायी दामोदरभक्त थापा।

‘सबै लेकसाइड मात्रै हो भन्ने गर्दा पर्यटकको बसाइ छोटिएको छ,’ उनी भन्छन्, ‘विकेन्द्रित मानसिकता अझैं भएन।’ बेगनास ताल, रुपाताल रोयल ट्रेक, काहुँडाँडा लगायतको प्रवर्द्धन गर्न सके दुई दिनसम्म पर्यटकको बसाइ लम्ब्याउन सकिने उनी देख्छन्। पर्यटनसँग सम्बन्धित संघसंस्थाले पोखरा बाहिरका स्थललाई पर्यटकीय गन्तब्यको दर्जा नदिएको उनको गुनासो छ।

लेखनाथ होटल तथा रेस्टुरेन्ट संघका अध्यक्ष कृष्ण तिमिल्सिना बेगनास र रुपालाई पोखराका पर्यटन व्यवसायीले पर्यटकीय गन्तव्यको सूचिमै नराखेको बताउँछन्। पर्यटन प्रवर्द्धनमा आवश्यक पर्ने नक्सांकनमा बेगनास र रुपा नदेखिएको उनको गुनासो छ। ‘प्रवर्द्धन गर्न केके गर्नुपर्छ भन्ने थाहा पाउँदै छौं,’ उनी भन्छन्, ‘अब पोखरासँग मिलेर हातेमालो गर्न खोजेका छौं।’

पोखरा पर्यटन परिषदा अध्यक्ष चिरञ्जीवी पोखरेल पर्यटनलाई लेकसाइडको साँघुरो घेरामा राख्न नचाहेको दाबी गर्छन्। ‘पोखरा पर्यटनको हब हो,’ उनी भन्छन्, ‘अन्य गन्तव्यको प्रवर्द्धन गरेर पर्यटकको बसाई लम्ब्याउन हामी सचेत छौं।’ पर्यटन बोर्डका पोखरा कार्यालय प्रमुख मणि लामिछाने लेकसाइड केन्द्रित हुनुलाई स्वभाविक मान्छन्। ‘जहाँ पूर्वाधार, सुविधा धेरै छ, त्यहाँ धेरै पर्यटक हुनु स्वभाविक हो,’ उनी भन्छन्, ‘बरु लेकसाइडका राम्रा कुरा सिकेर अरु ठाउँको विकास गर्दै लैजानुपर्छ।’

प्रतिस्पर्धा बढ्यो, महँगी घटेन
लेकसाइडमा स्तरीय होटल तथा रेस्टुरेन्ट धमाधम खुलिरहेका छन्। सेवाप्रदायक बढेको अनुपातमा पर्यटक नआउँदा तीब्र प्रतिस्पर्धा चलेको व्यवसायी बताउँछन्। प्रतिस्पर्धा बढेपनि महँगी भने घटेको छैन।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन रेस्टुरेन्ट, यातायात र किनमेलमा पोखरा केही महँगो भएको स्वीकार्छन्। ‘आवासमा अन्यत्रभन्दा सस्तो नै छ,’ उनी भन्छन्, ‘खानपान, ट्याक्सी भाडा, सामान किनमेल गर्न केही महँगो नै छ।’ उनका अनुसार पोखरामा हाल साना, मझौला र ठूला गरी होटल मात्रै ७ सय ५० पुगिसकेका छन्। तिनको बेड क्षमता झण्डै ३५ हजार छ।

पोखरा पर्यटन परिषदा अध्यक्ष चिरञ्जीवी पोखरेल भने सेवाअनुसारको मूल्य हुने बताउँछन्। ‘यहाँ एक हजारमा पनि कोठा पाइन्छ, ७ हजारमा पनि पाइन्छ,’ उनी भन्छन्, ‘कुन गुणस्तरको सेवा लिने भन्नेमा भर पर्छ।’ आवश्यकताभन्दा बढी होटल, रेस्टुरेन्ट भएकोले प्रतिस्पर्धामा झन् सस्तो हुनुपर्ने उनको तर्क छ।

प्रकाशित : जेष्ठ २४, २०७६ १४:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्