१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

प्रधानमन्त्री कार्यालयले रोक्यो चार्जिङ स्टेसन

विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन निर्माण हुने भएपछि उत्साहित लुम्बिनीवासीको आशा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले काम रोक्न निर्देशन दिएपछि निराशामा परिणत भएको छ । 

लुम्बिनी — बिजुलीबाट सञ्चालन हुने सवारीसाधन (बस) का लागि चाहिने चार्जिङ स्टेसनको काम रोकिएको छ । लुम्बिनी परिसरमा स्टेसन निर्माण गरेको भन्दै प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयले काम रोक्न निर्देशन दिएको हो । 

प्रधानमन्त्री कार्यालयले रोक्यो चार्जिङ स्टेसन

लुम्बिनी क्लिन ट्रान्सपोर्ट परियोजनाअन्तर्गत निमार्णाधीन चार्जिङ स्टेसनको काम अहिले ठप्प छ । एसियाली विकास बैंक (एडीबी) को १३ करोड रुपैयाँको सहयोगमा स्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको थियो । लुम्बिनी परिसरमा स्टेसन निर्माण गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना गरेका थिए । लुम्बिनी र बुटवलमा केही महिनाअघि आयोजित सार्वजनिक कार्यक्रममा उनले स्टेसन निर्माण रोक्नुपर्ने बताएका हुन् ।


चैत अन्त्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले काम रोक्न पत्राचार गरेको हो । प्रधानमन्त्रीको कार्यालयले लुम्बिनी विकास कोषलाई काम रोक्न पत्राचार गरेको स्रोतले जनायो । स्टेसन निर्माणको स्थानीयस्तरमा अनुगमन र निरीक्षण कोषले गर्दै आएको थियो । करिब दुई महिनादेखि काम रोकिएपछि सोलार पावर हाउस चार्जर स्टेसन स्थल खण्डहर बनेको छ । चारैतिर घाँसपात उम्रिएका छन् । कामदार छैनन् । बिहीबार निर्माणस्थलमा कोही थिएनन् ।


जापानको इसाका इलेक्ट्रिक कम्पनीले पावर हाउस निर्माणको काम गरिरहेको हो । डिसेम्बरमा सुरु निर्माण अप्रिल तेस्रो साताभित्र पूरा गर्ने लक्ष्य थियो । ‘काम तीव्र गतिमा भइरहेको थियो,’ स्टेसनका साइट इलेक्ट्रिक इन्जिनियर जीवन खनालले भने, ‘एक्कासि काम रोकियो । नत्र, अहिलेसम्म सञ्चालनमा आइसक्थ्यो । अब काम हुन्छ/हुन्न अन्योल छ ।’


स्टेसनको ‘रि–डिजाइन’ गर्न काम रोकिएको कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) ले बताए । ‘निर्माण भइरहेको ठाउँ उपयुक्त भएन,’ उनले भने, ‘त्यहाँ गाडी चार्ज गर्दा कोलाहल र भीडभाड हुने देखियो ।’ शान्ति खोज्दै ध्यान गर्न आउने स्थानमा गाडीको भीडभाड उपयुक्त नहुने उनले बताए । ‘पहिले नै सोचेको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘महत्त्वपूर्ण स्थानमा स्टेसन बनाउन उपयुक्त थिएन ।’ त्यही भएर अर्को ठाउँमा सार्नका लागि काम रोक्नुपर्ने बाध्यता आएको उनले बताए ।


आगामी तीन वर्षभित्र लुम्बिनीमा पेट्रोलियम पदार्थले चल्ने गाडी विस्थापित गर्ने योजनाअनुसार काम थालिएको उनले सुनाए । अहिले अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्र नजिकै स्टेसन निर्माण भइरहेको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले निर्माण रोकिएका बारेमा आफूलाई जानकारी नभएको बताए । उनले पर्यटन वा ऊर्जा मन्त्रालयमा जानकारी लिँदा राम्रो हुने सुझाव दिए ।


'काम रोकिनु दुःखद’

यहाँबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले विद्युतीय गाडी सञ्चालन गर्ने कुरा सुखद भएको बताउँदै पूर्वाधार निर्माण रोकिनु दुःखद भएको प्रतिक्रिया दिएका छन् । ‘लुम्बिनी विकासका काममा भर्खरै वामे सर्दै थियो, यस्तो निर्णयले ठेस लाग्यो,’ प्रदेश सांसद फखरुद्दिन खाँले भने, ‘यस्तो हुनु दुःखद हो ।’


निर्माण रोकिनुको कारण स्थानीयले थाहा पाउनुपर्ने उनले बताए । ‘के कारणले रोकियो, जनताले थाहा पाउनुपर्छ,’ उनले भने, ‘कसैको स्वार्थमा रोक्नुहुन्न । तत्काल काम सुरु गर्नुपर्छ ।’ लुम्बिनी विकास कोषले यसको काम रोकिएको विषय गुपचुप राखेको छ ।


‘यही महिनाबाट विद्युतीय जिप चढ्ने सपना थियो,’ लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले भने, ‘सपना सबै हावाले उडायो ।’ निर्माणको अन्तिम चरणमा पुगेको पूर्वाधार रोकिनु दुःखद भएको र यसले स्थानीयको भावनामा ठेस पुर्‍याएको उनले बताए । ‘पहिल्यै उपयुक्त ठाउँ खोज्नुपर्थ्यो,’ भिक्षु महासंघका अध्यक्ष मैत्री महाअस्थवीरले भने, ‘निर्माण पूरा भएपछि यस्तो गर्नु हुँदैन ।’ यसले लुम्बिनीबारे राम्रो सन्देश नजाने बताए ।


८० प्रतिशत काम

स्टेसनको निर्माण ८० प्रतिशत र सोलार प्यानल जडान गर्ने काम सम्पन्न भएको छ । इक्विपमेन्ट कन्ट्रोल कोठाबाट प्यानलसम्म तार जोडिसकिएको छ । घामबाट सोलार प्यानल चार्ज भएपछि विद्युत् उत्पादन हुन्छ । ५ सय ९४ सोलार प्यानल जडान गरिएको छ । यसबाट १५४ किलोवाट विद्युत् उत्पादन हुन्छ । यो मुलुककै ठूलो सोलार चार्जर स्टेसन हो । पावर हाउसका लागि आवश्यक सामग्री विदेशबाट ल्याइएका छन् ।


सोलार प्यानल जापानबाट, पूर्वाधारका सामान चीन र जंसन बक्स (पावर कन्ट्रोल र सप्लाई गर्ने उपकरण) इटालीबाट आयात गरिएको हो । लिथेमाइन ब्याट्री मात्र आउन बाँकी छ । कोरियाबाट ल्याइएको ब्याट्री कोलकाता बन्दरगाहसम्म आइपुगेको छ । ब्याट्री आउनासाथ जडान गरेर स्टेसन सञ्चालन हुन्थ्यो । सोलारले ब्याट्री चार्ज गरेर इन्भर्टरबाट ऊर्जा सप्लाइ गर्छ । ब्याट्रीको क्षमता ९ सय किलोवाटको छ ।


पावर हाउसमा २३ वटा गाडी चार्जर स्ट्यान्ड राख्न मात्र बाँकी छ । यिनमा तीनवटा क्विक चार्जर हुन्छन् । ८० किलोवाट क्षमताको ब्याट्री हुने एउटा बस र ४० किलोवाट क्षमताका २ वटा जिप, कार एकैपटक क्विक चार्ज गर्न सकिन्छ । क्विक चार्जबाट फुल चार्ज हुन आधा घण्टा लाग्छ । बाँकी २० वटा सामान्य चार्जर हुन्छन् । यसबाट एक घण्टामा फुल चार्ज हुन्छ । पावर हाउसबाट एकैपटकमा १३ वटा सवारीसाधनले चार्ज गर्न सक्नेछन् ।


योजनाअन्तर्गतका २५ चार्जरमध्ये तीनवटा पावर हाउस स्टेसनबहिर जडान गरिनेछ । एउटा लुम्बिनी विकास कोष परिसर र दुईवटा भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा राखिनेछ ।

प्रकाशित : जेष्ठ २४, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?