२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

विश्वकप क्रिकेटमा सलबलाउँदै सट्टेबाज

जनकराज सापकोटा

काठमाडौँ — क्रिकेट विश्वकप चलिरहँदा सट्टेबाजहरू सलबलाउन थालेका छन् । नेपाल प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखाले गैरकानुनी सट्टेबाजी खेलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

विश्वकप क्रिकेटमा सलबलाउँदै सट्टेबाज

महाशाखाले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल), विश्वकप क्रिकेट र च्याम्पियनसिप फुटबलमा सट्टेबाजी गराएको आरोपमा न्युरोडबाट वज्रप्रकाश लामा, विद्युतप्रकाश लामा र उमेश कार्कीलाई समातेको हो ।

उनीहरूबाट प्रहरीले एक लाख रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकाहरूबाट बरामद डायरीमा उनीहरूले दैनिक अनुमानित ७०/८० लाखसम्म सट्टेबाजीको कारोबार गरेको देखिन्छ । अन्तर्राष्ट्रिय फुटबल र क्रिकेट प्रतियोगिता हुनुअघि नै सट्टेबाजी खेलाउनेहरूले अनलाइनमार्फत अनुमान गर्न र खातामा रकम हाल्न लगाउने गरेको देखिन्छ ।

प्रहरी निगरानी हुँदाहुँदै पनि काठमाडौं र देशका मुख्य सहरमा अवैध सट्टेबाजी भइरहेको देखिन्छ । ०७५ जेठ १७ मा पनि प्रहरीले आईपीएल तथा अन्य खेलमा सट्टेबाजी खेलाएको आरोपमा प्रहरी परिसर काठमाडौंले पूर्वराष्ट्रिय खेलाडी अञ्जन केसी, गौरव तिवारी, भूपेन्द्र कुँवर, दिनेश बोगटी, विजय श्रेष्ठ र नरेन्द्र सुवाललाई पक्रेको थियो । यो समूहले आईपीएलका खेलमा २५ हजारदेखि १५ लाख रुपैयाँसम्मका बाजी खेलाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

तत्कालीन एसएसपी विश्वराज पोखरेल परिसर प्रमुख रहेकै बेला ०७५ असार १० मा सट्टेबाजीका मुख्य नाइके मानिएका नागराज भनिने अमिल अग्रवाल पक्राउ परेका थिए । अग्रवालले आईपीएल खेलमा बाजीस्वरूप रकम राखेर भनेकै टिमले जिते दोब्बर पैसा दिने भन्दै करोडौं रुपैयाँ उठाएको प्रहरीको दाबी थियो । नेपालमा संगठित रूपमै भारतीय समूहसँग मिलेर अन्तर्राष्ट्रिय फुटबल र क्रिकेट खेलमा सट्टेबाजी खेलाउने समूह सक्रिय छन् । अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको पूर्वसन्ध्यामा सट्टेबाज पक्राउ परेका घटनाले यही देखाउँछ ।

प्रहरीका अनुसार काठमाडौं उपत्यकाका अतिरिक्त विराटनगर, वीरगन्ज, चितवन, बुटवल, भैरहवा र नेपालगन्जमा सट्टेबाजीका साना तथा ठूला समूह सक्रिय देखिन्छन् । अन्तर्राष्ट्रिय खेलअगावै सट्टेबाट अन्तर्राष्ट्रिय रूपमा सलबलाउने गरेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेल बताउँछन् । नेपालमा स्थानीय एवं अन्तर्राष्ट्रिय दुवै खालका सट्टेबाजका एजेन्ट रहेको उनको भनाइ छ । भारतका विभिन्न सहर र बैंककमा बसेर सट्टेबाज खेलाउनेसँग पनि नेपाली सट्टेबाजको सम्पर्क देखिन्छ ।

थोरै रकमको सट्टेबाजी नेपाली समूहले नै खेलाउने र ५० लाख रुपैयाँभन्दा बढी भएपछि अन्तर्राष्ट्रिय सट्टेबाजी समूह सक्रिय हुने गरेको उनले बताए । यसअघि प्रहरीले सट्टेबाजमा सक्रियलाई पक्राउ गरेको थियो । उनीहरूलाई पनि जुवा ऐन, २०२० अन्तर्गत कारबाही गरिँदै आएको छ । यसअन्तर्गत पहिलो पटक जुवा खेल्नेलाई २ सय, दोस्रो पटक खेल्नेलाई तीन महिनासम्म कैद र तेस्रो पटक खेलेमा एक वर्षसम्म कैदको व्यवस्था थियो ।

त्यसैले सट्टेबाजमा पक्राउ परेका अधिंकाश आरोपित थोरै सजायमा मुक्त हुन्थे । फौजदारी अपराध संहिताले भने सट्टेबाजीलाई कारबाही गर्न सकिने विशेष व्यवस्था गरेको छ । संहिताको दफा १ सय २५ मा सट्टेबाजमा संलग्नलाई बिगो जफत गर्ने र १ वर्ष कैद र १० हजार जरिवाना गर्ने व्यवस्था छ । सट्टेबाज पटके भए सजायमा तीन महिना थप्न सकिने व्यवस्था छ ।

विगतका दिनमा कमजोर कानुनका कारण धेरैले फाइदा उठाएपछि अब त्यस्तो नहुने प्रवक्ता डीआईजी पोखरेलले बताए । सट्टेबाजका अनेक स–साना समूह देखा पर्न थालेको र यो प्रहरीका लागि नै नयाँ अपराध चुनौती बन्दै जान थालेको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ २४, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?