१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

पत्रकारलाई मेयरको धम्की : अनुशासन मिच्दा नेकपा मौन

दुर्गा खनाल

काठमाडौँ — इटहरी उपमहानगरका मेयर द्वारिकालाल चौधरीले एक पत्रकारलाई खुला रूपमा आक्रमणको धम्की दिए । यस्तो व्यवहार कानुनविपरीत त छँदै छ, उनकै पार्टी नेकपाको अनुशासनभित्र पनि पर्छ । तर आमरूपमा उनीविरुद्ध टिप्पणी भइराख्दा न प्रशासनले चासो दिएको छ न त उनको पार्टी नेकपाले औपचारिक रूपमा केही बोलेको छ । 

पत्रकारलाई मेयरको धम्की : अनुशासन मिच्दा नेकपा मौन

चौधरीले धम्की दिँदा पदीय मर्यादा मात्र होइन, पार्टीले लिएका नीतिलाई पनि खुलमखुला चुनौती दिएका छन् । उनले प्रहरी, प्रशासन, अदालत आफूलाई केही मतलब नरहेको बताएका छन् । पार्टीका मुख्य नेताहरू केपी ओली, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनालको नामै किटेर आफूलाई कसैले केही गर्न नसक्ने जनाएका छन् । मुलुकमा कानुनी शासनको कार्यान्वयन गर्ने प्रमुख व्यक्ति प्रधानमन्त्री नेकपाकै छन् । चौधरी त्यही पार्टीका प्रदेश नम्बर १ सदस्य हुन् ।


पार्टी अनुशासनविपरीत, कानुनलाई पनि चुनौती दिने अभिव्यक्तिबारे नेकपा किन केही बोलिरहेको छैन ? प्रवक्ता नारायणकाजी श्रेष्ठसँग यसको जवाफ छैन । उनी व्यक्तिगत धारणा मात्र सुनाउँछन् । ‘पार्टीले यसबारे के भन्छ, गर्छ म भन्न सक्दिनँ,’ श्रेष्ठले कान्तिपुरसँग भने, ‘म आफूलाई चाहिँ यो कुरा ठीक लागेको छैन, अनुशासनविपरीतको काम भएको छ, यसमाथि छलफल हुनुपर्छ ।’


चौधरीका विषयमा बुधबार नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेल, योगेश भट्टराईलगायतले पार्टी नीतिविपरीत बोलेको भन्दै सार्वजनिक रूपमा आत्मालोचना गर्नुपर्ने बताएका थिए । प्रदेश १ का नेताहरूले केन्द्रबाटै निर्णय गर्न नेताहरूलाई आग्रह गरेका थिए । तर तीन दिन लगातार बसेको नेकपा सचिवालय बैठकले पनि यसबारे कुनै धारणा बनाएन । कुनै समय कम्युनिस्ट पार्टीमा अनुशासनको धेरै महत्त्व हुन्थ्यो । सानो गल्तीमा पनि आत्मालोचना, पदबाट निलम्बन, निष्कासनसम्मका कारबाही हुन्थ्यो ।


नेताहरूले कस्तो बोल्ने, जनतासँग कस्तो व्यवहार गर्ने, पदीय मर्यादाको सीमा के हुनेलगायत विषयले नेता–कार्यकर्तालाई अनुशासनमा बाँधिएको हुन्थ्यो । अहिले नेकपामा यस्तो अनुशासन छिन्नभिन्न छ । नेता–कार्यकर्तामा चौधरीकै जस्तो अराजकता र अनुशासनहीनता मौलाउँदै गएको छ ।


‘केन्द्रदेखि स्थानीय तहसम्म यति धेरै संरचना बनेका छन् । त्यहाँ हाम्रा नेता–कार्यकर्ता संलग्न छन्, उनीहरूले के गर्छन्, कसरी काम गर्छन्, त्यो पार्टीले हेर्नुपर्ने थियो जुन काम नहुँदा अराजकता सिर्जना भएको छ,’ तत्कालीन एमालेमा लामो समय अनुशासन आयोगको जिम्मेवारीमा रहेका नेता अमृत बोहराले भने ।


पछिल्लो समय नेताहरूलाई पार्टीको कुनै लगाम छैन । मनलाग्दी गर्दै हिँडदा प्रश्न गर्ने कुनै निकाय छैन । कम्युनिस्ट पार्टीको सदस्य कुनै निकायबाट भन्दा आफैं अनुशासित बन्ने सिद्धान्तबाट निर्देशित हुने विगतको परम्परा हो । अहिले त्यो खस्किएको छ ।


नेकपा विधानले पार्टीमा केन्द्रीय निकायका रूपमा अनुशासन आयोग बनाउने व्यवस्था गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रका अनुशासन आयोगमै रहेका नेताहरूलाई त्यो कामको जिम्मेवारी दिने गरी स्थायी समितिको आमन्त्रित सदस्यमा ल्याइएको छ तर अहिलेसम्म आयोग गठन नहुँदा उनीहरूले काम पाएका छैनन् । ‘विगतमा यस्ता विषय आउँदा आयोगले बुझेर कहाँ के गर्नुपर्ने हो, नेतृत्वलाई ध्यानाकर्षण गराउँथ्यो,’ नेता बोहराले भने, ‘अहिले जसलाई जे मन लागे पनि गर्न छुट जस्तो भएको छ ।’


विधानमा आयोग बनाउने भनिएपछि त्यसको स्वायत्त अधिकार विगतको भन्दा खुम्च्याइयो । केन्द्रीय समितिले आयोगलाई निर्देशन दिने खालको प्रावधान राखियो । तत्कालीन एमाले र माओवादीभित्र आयोग स्वायत्त रहने खालको व्यवस्था थियो । केन्द्रीय समितिलाई पनि आयोगले निर्देशन दिन सक्थ्यो ।


एकताका क्रममा त्यो प्रावधानमा अंकुश लगाएर आयोगहरू पनि केन्द्रीय समिति मातहत रहने व्यवस्था गरियो । उक्त व्यवस्थाबाट आयोग स्वायत्त नहुने भन्दै गत मंसिरको स्थायी समिति बैठकमा नेताहरूले चर्को विरोध गरे । त्यसपछि विधान सच्याएर तत्कालै आयोग गठन गर्ने निर्णय स्थायी समितिले गर्‍यो । त्यसको ६ महिना बितिसक्दा पनि आयोग बनेको छैन ।


‘विगतमा यही काम गर्दै आएको इतिहास र योगदान भएका नेताहरूलाई कामविहीन बनाएर राखिएको छ,’ बोहराले भने, ‘विधानमै भएको व्यवस्था कार्यान्वयन नगर्दा पार्टीभित्र भइरहेका गलत क्रियाकलाप औंल्याउने निकाय नै भएन, त्यसको प्रभाव अहिले परिरहेको छ ।’


केन्द्र, प्रदेश र स्थानीय तह तीनै सरकारमा नेकपाका नेता–कार्यकर्ताको बाहुल्य छ । उनीहरूको व्यक्तिगत आचरण, व्यवहार र कार्यशैली पार्टीको प्रतिष्ठासँग पनि जोडिन्छ । पछिल्लो समय पार्टीभित्र वैचारिक सांस्कृतिक स्खलन भइरहेको प्रवक्ता श्रेष्ठको बुझाइ छ । ‘हाम्रो वैचारिक सांस्कृतिक स्खलन भइरहेको छ, आफ्नो उद्देश्य, सैद्धान्तिक निष्ठा र स्वअनुशासनमा ह्रास आएको छ,’ उनले भने, ‘पार्टीको संक्रमण नसकिएकाले त्यसको प्रभाव पनि परेको छ ।’

प्रकाशित : जेष्ठ २४, २०७६ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?