बढे डंगर र सानो खैरो गिद्ध

नेपालमा डंगर गिद्धको संख्या करिब दुई हजार छ भने सानोखैरो करिब ५० देखि ७५ वटा मात्रै छन्
अब्दुल्लाह मियाँ

काठमाडौँ — अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को अति संकटापन्न सूचीमा रहेका दुई प्रजातिका गिद्धको संख्या नेपालमा उल्लेख्य रूपमा बढेको छ । 

नेपालमा पाइने हाडफोर, सेतो, डंगर, लामो ठुँडे, सानो खैरो, हिमाली, खैरो, राज र सुन गरी ९ प्रजातिका गिद्धमध्ये डंगर र सानो खैरोको संख्या बढेको हो।

बेलायतस्थित बर्ड कन्जर्भेसन इन्टरनेसनल (बीसीआई) ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा दुई प्रजातिका गिद्धको संख्या विगत वर्षभन्दा उल्लेख्य ढंगले बढेको उल्लेख छ। डंगर, सानो खैरो, सेतो, हिमाली र हाडफोर गिद्धले नेपालमै गुँड बनाई बच्चा कोरल्छन्। यिनीहरू अग्ला र ठूला रूख तथा पहरामा गुँड बनाएर बस्छन्।

सन् २००२ देखि सन् २०१२/१३ सम्म डंगर र सानो खैरो गिद्धको संख्या घटदै गएकामा त्यस पछी भने उकालो लागेको देखिएको छ । डाइक्लोफेनेकको प्रयोगमा रोक, संरक्षण लगाव, बासस्थान सुधार र आहारको उपलब्धताका कारण गिद्धको संख्या बढ्न मद्दत पुगेको हो ।

पन्छी संरक्षण संघ (बीसीएन) का विज्ञ कृष्णप्रसाद भुसालका अनुसार सन् २०१२/१३ मा यी गिद्धको संख्या सन् २००२ को तुलनामा ९१ प्रतिशतभन्दा कम भइसकेकामा त्यससपछि घट्ने क्रम रोकिएर क्रमश: संख्या सुधारोन्मुख भएको हो । 'सन् २००२ देखि प्रत्येक वर्ष गरदिँ आाएको सर्वेक्षण र सबै अध्ययनलाई विश्लेषण गरी नयाँ तथ्यांक सार्वजनिक गरिएको हो,’ उनले भने ।


नेपालमा डंगर गिद्धको संख्या करिब दुई हजार छ भने सानोखैरो करिब ५० देखि ७५ वटा मात्रै छन्। दक्षिण एसियाली मुलुकमध्ये गिद्धको संख्या उकालो लाग्नेमा नेपाल पहिलो रहेको भुसालले बताए। 'भारत र पाकिस्तानसहित अरू मुलुकमा यहाँजस्तो सुधार भएको देखिन्न,' उनले भने, 'प्रयास जारी भए पनि हामीकहाँ जस्तो उकालो लागेको अवस्था छैन।'
समग्रमा डंगर गिद्धको वाषिर्क वृद्धिदर २२ र सानोखैरो गिद्धको ४१ प्रतिशत छ। सन् २००२ देखि २०१२ सम्म यिनीहरूको संख्या घट्ने दर क्रमशः १४ र २५ प्रतिशत थियो। बीसीएनले हरेक वर्ष पूर्वदेखि पश्चिमसम्मको राजमार्ग वरपर गिद्धको अध्ययन/सर्वेक्षण गर्दै आएको छ। त्यसक्रममा डंगर र सानो खैरो गिद्धसमेत गणना गरिने गरिन्छ।

बीसीएनले सन् २००६ देखि स्थानीय समुदायको पहल र सक्रियतामा स्थानीय सरोकारवाला सरकारी निकाय, गैरसरकारी संस्था र संरक्षणकर्मीको सहकार्यमा गिद्ध सुरक्षित क्षेत्र (भल्चर सेभ जोन) कार्यक्रमलाई निरन्तरता दिइरहेको छ। यो कार्यक्रम विश्वमा जैविक विविधता र संरक्षणमा काम गर्ने संरक्षणकर्मीका लागि अनुकरणीय, चासो र अनुसन्धानको विषय बनेको छ।

बीसीएनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) इसाना थापा मुलुकका विभिन्न स्थानमा खोलिएका जटायु (गिद्ध) रेस्टुरेन्टले गिद्धको संख्या वृद्धि गर्न सहयोग पुगेको बताउँछिन्। राष्ट्रिय निकुञ्ज विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र बीसीएनले गिद्ध प्रजनन केन्द्रमा प्रजननमार्फत हुर्कार्एका गिद्धलाई समेत प्राकृतिक बासस्थानमा छोडदै आएको छ। ती गिद्धमा स्याटेलाइट जडान गरिएको छ। त्यसले गर्दा तिनको विचरणसमेत सहजै थाहा पाउन सकिन्छ। गत वर्ष त्यसैमध्येको एक गिद्ध भारतीय भाग हुँदै पाकिस्तानसम्म पुगेर फर्किएको पत्ता लागेको थियो।
जानकारहरूका अनुसार गिद्ध सिनो (आहार) खोज्न तीन सय किलोमिटरभन्दा टाढासम्म पुग्छ। एउटा गिद्धले तीन दिनमा एक केजीजति सिनो खान्छ। गिद्धको हेर्न सक्ने क्षमता मान्छेको भन्दा आठ गुणा बढी हुन्छ।
सन् १९९० देखि दक्षिण एसियामा गिद्धको संख्यामा ह्रास आउन थालेको हो। १५ वर्ष अघिसम्म हामीकहाँ हिमालदेखि तराईसम्मै सयौंका संख्यामा गिद्ध देख्न सकिन्थ्यो। अहिले गिद्धको संख्या घटिरहेको छ। स्वस्थ आहारको कमी र बासस्थान विनाश लोप हुनुका कारण हुन्।

सन् १९९० को मध्यदेखि नेपाल, भारत र पाकिस्तानमा गिद्धको संख्या घट्नुको मुख्य कारण घरपालुवा पशुको उपचारमा प्रयोग हुने 'डाइक्लोफेनेक' भएको सन् २००४ मा पुष्टि भएको थियो। पेरिग्राइन कोषले भारतका जंगलमा मरेका २ सय १९ वटा गिद्धको अनुसन्धान गर्दा ८५ प्रतिशतको भित्री अंगमा युरिक एसिडका पत्थर जम्मा भएर मिर्गौलाले काम गर्न नसकेपछि मृत्यु भएको पुष्टि भएको थियो।

सरकारले २०६३ जेठ २३ देखि डाइक्लोफेनेकको आयातमा रोक लगाएको छ। त्यो बेच्ने, उत्पादन गर्ने र भण्डारण गर्नेलाई ५ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ। त्यसको सट्टामा सन् २००६ देखि नै 'मेलोक्सिक्याम' को आविष्कार गरी प्रवर्द्धन गरिएको छ। त्यसले गिद्धलगायत चराचुरुंगीलाई कुनै असर गर्दैन।

प्रकाशित : जेष्ठ २४, २०७६ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्

घण्टाघर कसको ?

सुविना आचार्य

काठमाडौँ — राणा प्रधानमन्त्री वीरशमशेरले १८७५ सालमा घण्टाघर बनाए । र, सुरु भयो- त्यस घरको घडीले १२ बज्दा बाह्रपल्ट 'टिङटिङ टिङटिङ' गरेपछि टुँडिखेलमा सेनाले तोप पडकाएर १२ बजेको जनाउ दिने चलन । त्यतिबेला समय सूचकको एक मात्र पर्याय बनेको ऐतिहासिक र पुरातात्त्विक महत्त्वको घण्टाघरको आवाज सुनेरै तोप पडकाउन चलनले ०५२ सालसम्म निरन्तरता पायो ।

त्यसपछि तोप पडकाउन बन्द भए पनि 'टिङटिङ टिङटिङ' गर्ने घडीलाई बन्द हुन दिएका छैनन् गणेश सापकोटाले, जो ३२ वर्षदेखि यही घडीको रेखदेखमा छन्। उनको अवकाशसँगै ५ वर्षपछि यो घडी चुस्तदुरुस्त राख्न सक्ने दक्ष जनशक्ति अरू भेट्न मुस्किल छ।
लामो कालखण्ड काठमाडौंवासीले घण्टाघरको घडीअनुसारै आफ्नो समय व्यवस्थापन गर्थे।
बिस्तारै प्रविधिले फडको मार्दै गएपछि घण्टाघरको आवश्यकता अनिवार्य बनेन। अहिले पनि समयको जनाउ दिइरहने घण्टाघरको घडीमा सायदै कसैको ध्यान जान्छ। न कसैले कति बज्यो भनेर घण्टाघरको सुईमा आँखा लगाउँछन्। हात-हातमा स्मार्टफोन छ, समय जान्न घण्टाघरै हेर्नुपर्ने अवस्था रहेन।

यसले सही समय दिएको छ/छैन भनेर चासो राख्नेहरू पनि सायदै कोही छन्। कुनै बेला प्रतिष्ठित भवनका रूपमा रहेको घण्टाघर स्याहार र संरक्षण अभावमा जीर्ण छ। भवनको सरसफाइ, मर्मतसम्भार र जीर्णोद्धारमा कसैको ध्यान गएको छैन। कुनै पनि निकायले यसको जिम्मेवारी नलिँदा ऐतिहासिक महत्त्वको घण्टाघर बेवारिसे बनेको सापकोटाको भनाइ छ। 'आजसम्म घण्टाघर हाम्रोअन्तर्गत हो भन्ने कोही आएका छैनन्,' उनले भने।

घण्टाघर संरक्षणका लागि न काठमाडौं महानगरपालिकाले ध्यान दिएको छ, न त पुरातत्त्व विभागले नै। घडी र प्राविधिक पाटोमा समस्या नरहेको उनी बताउँछन्। समय-समयमा फलामे दाँतीमा समस्या देखिने गरे पनि आफूले घडीलाई चुस्त राखेको उनको दाबी छ। आफ्नो कार्यकालपछि घडी कसले चलाउला भन्नेमा उनको चिन्ता छ। बन्द भएको घडीलाई २०४४ सालदेखि एक्लैले चलाउँदै आएको उनले बताए। 'पाँच वर्षपछि मेरो अवकाश पाएपछि घडी चलाइराख्ने जनशक्ति रहने छैन,' उनले भने, 'कुनै जिम्मेवार निकायले कोही ल्याएर सिकाउने जिम्मा मलाई दिए, म सिकाइदिन्थें।'

आफ्नो कार्यकालपछि घडी संग्रहालयमा जाने हो कि भन्ने चिन्ता रहेको उनको भनाइ छ। घण्टाघरमा सोलार घडीसमेत छ। 'सोलार घडी संसारका केही देशमा मात्र छन्, उबेलामा नेपालमा पनि ल्याइएको रहेछ,' उनले भने, 'छायाँ हेरेर समय बताउँछ यो घडीले। तर त्यो हेर्ने मान्छे, त्यति बेला पनि भेटिएनन्। मैले पनि जानेको छैन।'

घण्टाघरमा २०३८ सालको आगलागीपछि घडीले समय दिन सकेको थिएन। २०४४ सालमा काठमाडौंमा दोस्रो सार्क सम्मेलन हुने भएपछि भने घडी मर्मतको आवश्यकता देखी प्राविधिक खोजी सुरु भएको थियो। त्यति बेला दक्ष जनशक्ति नभेटिएपछि त्रिचन्द क्याम्पसमै प्राविधिकका रूपमा काम गर्दै आएका सापकोटाले १३ दिन घण्टाघरमै बसेर अध्ययन गरी घडी चलाइरहेका छन्। 'जति आधुनिकता र नयाँ प्रविधिको विकास हुँदै गएको छ, घण्टाघरको ऐतिहासिक महत्त्व झनै बढदै छ,' उनले भने।

त्रिचन्द्र क्याम्पस परिसरमा रहेकाले मर्मत खर्च क्याम्पसले दिन थालेको उनले बताए। घण्टाघर क्याम्पस परिसरमै रहेकाले यसको स्याहारसम्भार पनि क्याम्पसकै जिम्मा हुने विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए। 'भवन भत्किएर पुनर्निर्माण गर्नुपर्ने हो भने मात्र पुरातत्त्व विभागले जिम्मा लिने हो,' उनले भने। काठमाडौं महानगरअन्तर्गत सम्पदा विभाग पनि घण्टाघर पुरातत्त्वको जिम्मामा रहेको भन्दै पन्छिएको छ।

प्रकाशित : जेष्ठ २४, २०७६ ०७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्