घण्टाघर कसको ?

सुविना आचार्य

काठमाडौँ — राणा प्रधानमन्त्री वीरशमशेरले १८७५ सालमा घण्टाघर बनाए । र, सुरु भयो- त्यस घरको घडीले १२ बज्दा बाह्रपल्ट 'टिङटिङ टिङटिङ' गरेपछि टुँडिखेलमा सेनाले तोप पडकाएर १२ बजेको जनाउ दिने चलन । त्यतिबेला समय सूचकको एक मात्र पर्याय बनेको ऐतिहासिक र पुरातात्त्विक महत्त्वको घण्टाघरको आवाज सुनेरै तोप पडकाउन चलनले ०५२ सालसम्म निरन्तरता पायो ।

घण्टाघर कसको ?

त्यसपछि तोप पडकाउन बन्द भए पनि 'टिङटिङ टिङटिङ' गर्ने घडीलाई बन्द हुन दिएका छैनन् गणेश सापकोटाले, जो ३२ वर्षदेखि यही घडीको रेखदेखमा छन् । उनको अवकाशसँगै ५ वर्षपछि यो घडी चुस्तदुरुस्त राख्न सक्ने दक्ष जनशक्ति अरू भेट्न मुस्किल छ ।

लामो कालखण्ड काठमाडौंवासीले घण्टाघरको घडीअनुसारै आफ्नो समय व्यवस्थापन गर्थे ।

बिस्तारै प्रविधिले फडको मार्दै गएपछि घण्टाघरको आवश्यकता अनिवार्य बनेन । अहिले पनि समयको जनाउ दिइरहने घण्टाघरको घडीमा सायदै कसैको ध्यान जान्छ । न कसैले कति बज्यो भनेर घण्टाघरको सुईमा आँखा लगाउँछन् । हात-हातमा स्मार्टफोन छ, समय जान्न घण्टाघरै हेर्नुपर्ने अवस्था रहेन ।

यसले सही समय दिएको छ/छैन भनेर चासो राख्नेहरू पनि सायदै कोही छन् । कुनै बेला प्रतिष्ठित भवनका रूपमा रहेको घण्टाघर स्याहार र संरक्षण अभावमा जीर्ण छ । भवनको सरसफाइ, मर्मतसम्भार र जीर्णोद्धारमा कसैको ध्यान गएको छैन । कुनै पनि निकायले यसको जिम्मेवारी नलिँदा ऐतिहासिक महत्त्वको घण्टाघर बेवारिसे बनेको सापकोटाको भनाइ छ । 'आजसम्म घण्टाघर हाम्रोअन्तर्गत हो भन्ने कोही आएका छैनन्,' उनले भने ।

घण्टाघर संरक्षणका लागि न काठमाडौं महानगरपालिकाले ध्यान दिएको छ, न त पुरातत्त्व विभागले नै । घडी र प्राविधिक पाटोमा समस्या नरहेको उनी बताउँछन् । समय-समयमा फलामे दाँतीमा समस्या देखिने गरे पनि आफूले घडीलाई चुस्त राखेको उनको दाबी छ । आफ्नो कार्यकालपछि घडी कसले चलाउला भन्नेमा उनको चिन्ता छ । बन्द भएको घडीलाई २०४४ सालदेखि एक्लैले चलाउँदै आएको उनले बताए । 'पाँच वर्षपछि मेरो अवकाश पाएपछि घडी चलाइराख्ने जनशक्ति रहने छैन,' उनले भने, 'कुनै जिम्मेवार निकायले कोही ल्याएर सिकाउने जिम्मा मलाई दिए, म सिकाइदिन्थें ।'

आफ्नो कार्यकालपछि घडी संग्रहालयमा जाने हो कि भन्ने चिन्ता रहेको उनको भनाइ छ । घण्टाघरमा सोलार घडीसमेत छ । 'सोलार घडी संसारका केही देशमा मात्र छन्, उबेलामा नेपालमा पनि ल्याइएको रहेछ,' उनले भने, 'छायाँ हेरेर समय बताउँछ यो घडीले । तर त्यो हेर्ने मान्छे, त्यति बेला पनि भेटिएनन् । मैले पनि जानेको छैन ।'

घण्टाघरमा २०३८ सालको आगलागीपछि घडीले समय दिन सकेको थिएन । २०४४ सालमा काठमाडौंमा दोस्रो सार्क सम्मेलन हुने भएपछि भने घडी मर्मतको आवश्यकता देखी प्राविधिक खोजी सुरु भएको थियो । त्यति बेला दक्ष जनशक्ति नभेटिएपछि त्रिचन्द क्याम्पसमै प्राविधिकका रूपमा काम गर्दै आएका सापकोटाले १३ दिन घण्टाघरमै बसेर अध्ययन गरी घडी चलाइरहेका छन् । 'जति आधुनिकता र नयाँ प्रविधिको विकास हुँदै गएको छ, घण्टाघरको ऐतिहासिक महत्त्व झनै बढदै छ,' उनले भने ।

त्रिचन्द्र क्याम्पस परिसरमा रहेकाले मर्मत खर्च क्याम्पसले दिन थालेको उनले बताए । घण्टाघर क्याम्पस परिसरमै रहेकाले यसको स्याहारसम्भार पनि क्याम्पसकै जिम्मा हुने विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । 'भवन भत्किएर पुनर्निर्माण गर्नुपर्ने हो भने मात्र पुरातत्त्व विभागले जिम्मा लिने हो,' उनले भने । काठमाडौं महानगरअन्तर्गत सम्पदा विभाग पनि घण्टाघर पुरातत्त्वको जिम्मामा रहेको भन्दै पन्छिएको छ ।

प्रकाशित : जेष्ठ २४, २०७६ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?