२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

हावाहुरीले कैलालीमा दुईजनाकाे मृत्यु, ७५ घाइते (अपडेट)

अर्जुन शाह, गणेश चौधरी

धनगढी — बिहीबार राति आएको हावाहुरीका कारण कैलालीमा दुईजनाको मृत्यु भएकाे छ । ७५ बढी घाइते छन् । ठूलो मात्रामा भौतिक क्षति भएको छ । 

हावाहुरीले कैलालीमा दुईजनाकाे मृत्यु, ७५ घाइते (अपडेट)


टीकापुर र गोदावरी नगरपालिमा एक–एकजनाको मृत्यु भएको हो । टीकापुर–२ मा पर्खाल भत्किएर लाहनु डगौंराको मृृत्यु भएको छ । गोदावरी–८ का वीरवहादुर चौधरीको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएको हो । पूर्वतिरबाट आइरहेको बा३प ३८३६ नम्बरको टिपरले से१प ५८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


हावाहुरीमा परी घाइतेहरुको अस्पतालमा उपचार हुदै । तस्बिर : अर्जुन शाह/कान्तिपुर

धनगढीको ढुंगे बजारमा गुडिरहेको हायसमाथि रुख लडेर च्यापिएको अवस्थामा राति नै उद्धार गरिएको प्रहरीले जनाएको छ । उक्त घटनामा घाइते बाहेक अन्य क्षति नभएको वडा प्रहरी कार्यालयले जनाएको छ ।


कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीकाअनुसार हावाहुरीकै कारण जिल्लाका विभिन्न स्थानमा ७५ जना बढी घाइते भएका छन् ।


घाइतेहरुको सेती अञ्चल अस्पताल धनगढी लगायत विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ । गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । क्षतिको पूर्ण विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।


हुरीले धेरैजसो घरहरुमा छाना उडाएको छ । धनगढीको पुरानो एयरपोर्ट नजिकै रहेको मुक्त कमैया शिविरका सबै घरका छाना उडाएको छ । पोलहरु ढलेकाले विद्युत सेवा पूर्णरुपमा अवरुद्ध छ ।


जताततै रुखहरु भाँचिएका छन् । कतिपय स्थानमा सडक अवरुद्ध छ । करिब एक घण्टासम्म चलेको हावाहुरीले रातभर स्थानीय बासिन्दाको बिचल्ली भएको थियो । हुरीले छाना उडाएको र मुसलधारे वर्षा पनि भएपछि पीडितहरुको झन् बिजोग भएको थियो ।




..........................

वर्षासहितको भीषण हुरीले बिहीबार कैलालीमा एक जनाको मृत्यु भएको छ । गोदावरी नपा, मजगाउँका वीरबहादुर चौधरीको मृत्यु भएको हो । कम्तीमा २५ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको सेती अञ्चल अस्पतालसहित विभिन्न निजी अस्पतालमा उपचार भइरहेको छ ।

साँझ करिब साढे ७ देखि पौने ९ बजेसम्म चलेको हुरीले जिल्लाभरिको जनजीवन प्रभावित भएको छ । टीकापुरमा मात्र ५-६ जना घाइते छन् । हुरीले खास गरी कच्ची घरका छाना र पर्खाल भत्काएको छ । ठाउँ-ठाउँमा बिजुली पोल र रुख ढल्दा यातायात अवरुद्ध हुन पुगेको छ ।

क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ । यसैबीच कञ्चपुरमा पनि हुरीले १८-१९ जना घाइते भएका छन् । उनीहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिनेश आचार्यले जानकारी दिए ।

प्रकाशित : जेष्ठ २४, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?