कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ हाम्रो अभियान हो : प्रधानमन्त्री 

दूषित हावाबाट वर्षेनी ७० लाखको मृत्यु
रासस

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ भन्ने सरकारको राष्ट्रिय अभियानमा सामेल हुन सबैलाई आह्वान गरेका छन् । विश्व वातावरण दिवसका अवसरमा बुधबार  भिडियो सन्देश दिँदै उनले जमीन अझ हराभरा बनाउन यस वर्षलाई फलफूल तथा वृक्षरोपण वर्षका रुपमा मनाउँदै अभियानलाई निरन्तरता दिइएको बताए । 

गत वर्ष फलफूलका बिरुवा रोप्ने महाअभियान चलाएर देशभर करीब २३ लाख फलफूलका बिरुवा रोपिएको जानकारी उनले दिए । हरेक वर्षजस्तै बुधबार नेपालमा पनि ‘स्वच्छ वायु स्वस्थ्य जीवन’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइँदैछ ।


कुल जमीनको करिब ४५ प्रतिशत भूभाग वन क्षेत्र तोकिएको बताइएको छ । पृथ्वीमा अस्वाभाविक ढङ्गले जलवायु परिवर्तन भइरहेको र वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढाउँदै यस परिवर्तनलाई तीव्रता दिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । “यसका कारण हाम्रा हिमाल पग्लिरहेका छन् । अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि, भूक्षय, बाढीपहिरो जस्ता विपत्तिहरु बढिरहेका छन्”, उनले भनेका छन् ।





दूषित हावाबाट वर्षेनी ७० लाखको मृत्यु


हामीले खाने खाना, पिउने पानी र श्वास फेर्ने हावासमेत प्रदूषित हुँदै गइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक वर्ष विश्वभर दूषित हावाकै कारण करीब ७० लाख मानिसको मृत्यु हुने गरेको बताएका छन् । वायुमण्डलमा बढ्दै गएको प्रदूषण कम गर्न सबैले आफ्ना ठाउँबाट पहल गर्न ढिला गर्न नहुने उनको भनाइ छ ।


स्वच्छ वातावरणमा जीवनयापन गर्ने र बाँच्न पाउने अधिकारलाई मौलिक अधिकारका रुपमा सुनिश्चित गरिएको तथा सन्तुलित, दिगो एवं तीव्र आर्थिक र सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने सरकारको मूल नीति रहेको सन्देशमा जनाइएको छ । प्रधानमन्त्री ओलीले भनेका छन्, “विश्वमा भइरहेको वातावरणीय असन्तुलनमा हाम्रो खासै नकारात्मक भूमिका छैन । त्यसैले बिग्रिएको र बिग्रीँदै गएको वातावरणप्रति चिन्तित रहन र यसलाई सुधार्न वातावरण संरक्षण र मानवजातिको हितका लागि हामीले विश्वलाई नै आह्वान गर्नुपर्ने अवस्था आएको छ । त्यही उद्देश्यले सरकारले यस वर्ष सगरमाथा संवादको आयोजना गर्दैछ । यस संवादमार्फत संसारभर जलवायु परिवर्तन र यसका दुष्प्रभावका बारेमा सार्थक बहस शुरु गरिने उनको भनाइ छ ।


नियमित कार्यकै रुपमा सरकारले विभिन्न हिमालसहित सगरमाथा सफाइ अभियान अघि बढाइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक मानवीय क्रियाकलापले वातावरणीय असर पार्ने भएकाले त्यसलाई ख्याल गरेर सबैले बानी व्यहारमा ध्यान दिन आवश्यक रहेको बताएका छन् । उनले वातावरण प्रदूषण रोक्ने सरकारको अभियानमा सदैव क्रियाशील हुन सबैलाई आह्वान पनि गरेका छन् ।


प्रकाशित : जेष्ठ २२, २०७६ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्

अझै भेटिएन भारतीय वायु सेनाको एएन-३२ विमान

कान्तिपुर संवाददाता

काठमाडौँ — चीन सिमाना नजिकैबाट सोमबारदेखि हराइरहेको भारतीय वायु सेनाको एएन-३२ विमान अहिलेसम्म फेला परेको छैन । विमानमा चालक दलका ८ जना र ५ जना सुरक्षाकर्मीसहित १३ जना सवार थिए । 

एएन-३२को कुनै अत्तोपत्तो नलागेपछि वायु सेनाले खोजी कार्यलाई तीव्र बनाएको छ । बुधबार मौसम अनुकूल नहुँदा खोजी कार्य प्रभावित भएको थियो । दिउँसोदेखि मौसम सफा भएपछि खोजी कार्यलाई पुनः सुचारु गरिएको छ ।

अरुणाञ्चल प्रदेशबाट एएन-३२ सम्पर्क बाहिर गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विमान खोजीका लागि इन्डियन एयर फोर्सले विशेष मिसनमा प्रयोग गर्ने सी-130जे र एएन-३२ र एमआई-१७ हेलिकप्टर परिचालन गरेपनि हालसम्म कुनै संकेत मिलेको छैन ।

असामको जोरहाट हवाई अड्डाबाट सोमबार १२.२५ बजे एएन-३२ उडेको थियो । १:३० मा अरुणाञ्चल प्रदेशमा एड्भान्स लेन्डिङ गर्ने तालिका थियो । ग्राउण्ड स्टेशनसँग विमानको १ बजेदेखि सम्पर्क टुटेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सेनाले भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (आईएसआरओ) का स्याटालाईट र नौसेनाको पी८आई विमान खोजी कार्यका लागि परिचालन गरिएको छ । आईएसआरओको कार्टोस्याट र रीस्याट भूउपग्रहले विमान हराएको स्थानको तस्बिरहरु लिइरहेको इन्डियन एक्सप्रेसले जनाएको छ । नौसेनाको विमानले इलेक्ट्रो अप्टिकल र इन्फ्रा रेड सेन्सरबाट झोरहाट र मेचुकाको घना ज‌ंगलमा खोजी कार्य गरिरहेको छ ।

एयर फोर्सका प्रवक्ता अनुपम बनेर्जीले घना जंगलमा विमान खोज्ने कार्य निकै चुनौतीपूर्ण रहेको बताउँदै खोजी कार्यका लागि सम्पूर्ण स्रोत साधान प्रयोग गरिरहेको बताएका छन् ।

सन् २००९ को जुनमै यही मोडलको विमान मेचुका नजिकैको गाउँमा दुर्घटना भएको थियो । उक्त विमानमा पनि १३ जना नै सवार थिए । जसमध्ये ७ जना भारतीय वायु सेनाका सदस्य र बाँकी भारतीय आर्मी थिए ।

सन् २०१६ को जुलाई २२ मा पनि भारतीय वायु सेनाको एएन-३२ विमान बंगालको खाडीमा उड्ने क्रममा हराएको थियो । २९ जना सवार उक्त विमानमा चालक दल सदस्य ६ जना थिए । त्यसबेला हराएको विमान खोज्न पनडब्बी सहित, १६ वटा पानीजहाज र ६ वटा सैन्यविमान प्रयोग गरिएको थियो । उक्त विमानबारे कुनै जानकारी नपाएपछि सेप्टेम्बर १५ मा मिसन टुंगाइएको थियो । विमानमा सवार सबै २९ जनालाई नै मृत घोषित गरिएको थियो ।

भारतीय वायु सेनाले एएन-३२ मोडलको विमान सन् १९८४ देखि प्रयोग गर्दै आएको छ । यो मोडलको विमान उसले महत्वपूर्ण मिसनहरुमा प्रयोग गर्ने गरेको छ । यो विमानमा ४० जनासम्म अटाउन सक्छन् ।

प्रकाशित : जेष्ठ २२, २०७६ १६:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×