क्यामेरा ट्रयापिङ गर्दा पहिलोपटक हिउँ चितुवा देखियो

राजेन्द्र मानन्धर

दोलखा — गौरीशंकर संरक्षण क्षेत्रभित्र लप्चीको जङ्गलमा पहिलोपटक पटक क्यामेरा ट्रयापिङबाट हिउँ चितुवाको उपस्थिति देखिएको छ । बिगु गाउँपालिका-१ लामाबगरस्थित लप्ची उपत्यकामा खिचिएको तस्बिर विश्व वातावरण दिवसको अवसरमा सार्वजनिक गरिएको हो । संरक्षण क्षेत्रमा हिउँ चितुवा भएको पनि घोषणा गरिएको छ । 

गौरीशंकर संरक्षण क्षेत्रको लप्चीमा राखिएको स्वचालित क्यामेराले खिचेको हिउँ चितुवाको तस्बिर । तस्बिर सौजन्य : गौरीशंकर संरक्षण क्षेत्र ।
ZenTravel

लप्ची उपत्यकाका ११ स्थानमा २०७५ साल असोजदेखि ०७६ बैशाखसम्म इन्फ्रारेड क्यामरा राखी अनुसन्धान थालिएको थियो। उक्त अवधिमा समुद्री सतहबाट ४ हजार ८७ मिटरको उचाइमा हिउँ चितुवाको तीनवटा तस्बिर रेकर्ड गरिएको हो।

Meroghar

लप्ची गाउँबाट ५ किलोमिटर दक्षिण पश्चिम र मुख्य गुम्बाबाट ७ किलोमिटरको दुरीमा चट्टानले घेरिएको घाँटी र खोला छेउमा हिउँको टाउकादेखि ढाडसम्म क्यामेराले खिच्न भ्याएको छ। सुनपाती र धुपीको मसिना बोटहरू भएको उच्च हिमाली घाँसले ढाकेको स्थानमा राखिएको क्यामेराले न्यानोपना र केही वस्तुको चलखेल देख्न साथ मेमोरीमा तस्बिर संरक्षण गर्ने व्यवस्था मिलाइएको थियो।

उच्च भेगमा ब्याट्रीको खपत गर्न भिडियो खिच्ने व्यवस्था हटाइएकाले तीन वटा तस्बिर मात्रै संरक्षित हुन पुगेको अनुसन्धानमा संलग्न नारायणप्रसाद कोजुले जानकारी दिए।

उक्त स्थानमा राखिएको क्यामेराहरूले हालसम्म क्यामेरामा रेकर्ड नभएको सुनौलो बिरालो (गोल्डेन क्याट) समेत खिचेको छ। केही तल राखिएका क्यामेराहरूमा भिडियो खिच्ने व्यवस्था मिलाइएकाले सुनौलो बिरालो हिँडेको भिडियो पनि सार्वजनिक गरियो।

संरक्षण प्रमुख सत्यनारायण शाहले राखिएकामध्ये दुई वटा क्यामेरा हराएकाले अनुसन्धानमा केही बाधा परेको जानकारी दिए। क्यामेराको खोजी भइरहेको उनले बताए।

हिउँ चितुवा मध्य एसिया र हिमालय पर्वतमा मात्र बसोबास गर्ने प्राणी हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ मा रहेको यस जीवलाई आईयूसीएनले दुर्लभ प्रजातिको रूपमा सूचीकृत गरेको छ।

प्रकाशित : जेष्ठ २२, २०७६ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्

निगमको जापान उडान अनिश्चित

'हरेक उडानमा २/४ जनाले मात्रै टिकट बुकिङ गरेकाले असार १९ मा जापान उडान हुँदैन । अर्को मिति तय भएको छैन ।’ – नवराज कोइराला, निगम प्रवक्ता 
सुरज कुँवर

काठमाडौँ — मध्य असारदेखि सातामा तीन दिन जापानमा सिधा उडान घोषणा गरेको नेपाल वायुसेवा निगम व्यवस्थापकीय लापरबाहीका कारण पछि हटेको छ । निगमले वैशाख २० गते विज्ञप्ति जारी गर्दै ‘असार १९ गतेदेखि जापानको ओसाकामा नियमित उडान गर्छौं’ भनेको थियो । तर एकाएक तालिका स्थगन भएको छ । 

‘घोषणा गरिएको मितिमा अत्यधिक न्यून बुकिङ देखियो,’ निगमका प्रवक्ता नवराज कोइरालाले भने, ‘हरेक उडानमा २/४ जनाले मात्रै टिकट बुकिङ गरेकाले असार १९ मा जापान उडान हुँदैन ।’ उनले अर्को मिति तय भइनसकेको बताए ।

निगमले १२ वर्षपछि जापानको ओसाकासम्म व्यावसायिक उडान सुरु गर्ने भन्दै प्रचार गरेको थियो । उसले आफ्नै व्यावसायिक योजनाअनुसार झुक्याउँदै जहाज उडाउन नसकेको यो तेस्रो पटक हो । विज्ञप्ति जारी गर्नुअघि संघीय संसदको सार्वजनिक लेखा समितिमा कार्यकारी अध्यक्ष मदन खरेलले फेब्रुअरीमा जापान र मार्चदेखि चीनमा उडान गर्ने भनेका थिए । उनले बोलेको समयमा न त जापान न चीनमा उडान सुरु भयो । त्यसअघि निगमले वाइडबडीबाट लामो दूरीको उडानबारे कात्तिक अन्तिम साता मुख्यालयमै पत्रकार सम्मेलनमार्फत पनि समय घोषणा गरेको थियो । तर, उडान हुन सकेन ।

‘असार १९ गतेका लागि तोकिएको जापानको उडान रोकिएको सूचना सबै मातहतका विभाग र निर्देशकहरूलाई जारी गरिएको छ,’ निगमका एक अर्का वरिष्ठ अधिकारीले भने । उनका अनुसार, अर्को मिति भदौ १२ गते राखिएको छ । तर, त्यसबेला पनि उडान हुने छनक छैन । कार्यकारी अध्यक्ष खरेलले भदौदेखि वाइडबडी जापान उडाउने भने पनि उडान हुने निश्चितता नभएको ती अधिकारीले बताए । दुईटा वाइडबडी विमान ल्याइसकेपछि निगम व्यवस्थापन आफैंले सार्वजनिक गरेको तिथिअनुसार उडान गर्न चुक्दै आइरहेको छ ।

यसअघि करिब १३ वर्ष काठमाडौंदेखि चीन हुँदै ओसाका उडान गरेको निगमले असार र साउनमा यात्रु नहुने भनेको छ । ‘पहिले बोइङ उडाउँदा पनि हामी असार र साउनमा उडान घटाउँथ्यौं । यो अत्यधिक न्यून यात्रु हुने समय हो,’ एक पुराना कर्मचारीले भने, ‘कमर्सियल विभागले हचुवाका भरमा असारदेखि उडान मिति तोक्नै नहुने थियो ।’

निगमले मध्य असारदेखि वाइडबडी विमानमार्फत सातामा तीन दिन जापानमा सिधा उडान गर्ने भन्दै टिकट बिक्री खुला गरेको थियो । उसले काठमाडौं–ओसाकाको एकतर्फी हवाई भाडा कम्तीमा ४५ हजार रुपैयाँ तथा दुईतर्फी ८० हजार रुपैयाँसम्म कायम गरेको थियो । तर, टिकट बिक्री सोचेअनुसार नभएपछि टिकट दर घटाएको थियो । टिकट दर घटाउँदा पनि बिक्री नभएपछि असारमा तोकिएको समय नै सार्नुपर्ने अवस्थामा निगम आइपुगेको हो ।

हाल आठवटा अन्तर्राष्ट्रिय गन्तव्यमा मात्रै उडान गरिरहेको निगमले जापानका लागि सातामा तीनवटा (मंगलबार, बिहीबार र शनिबार) उडान भर्ने भनेको थियो । उक्त विज्ञप्तिमा काठमाडौंबाट बिहान २ः३० मा निगमको वाइडबडी ओसाकाका लागि उड्ने र त्यहाँको स्थानीय समयअनुसार दिनको ११ः५५ मा ओसाका पुग्ने उल्लेख छ । त्यस्तै ओसाकाबाट स्थानीय समयअनुसार १ः५५ मा उडान गरेर त्यही दिन साँझ ६ बजे काठमाडौं आइपुग्ने भनिएको थियो ।

ग्रीष्मकालीन तालिकाअनुसार काठमाडौं–ओसाका र ओसाका–काठमाडौं उडान एकतर्फी ६ घण्टा ३० मिनेट हाराहारी समय लाग्छ । यो रुटमा निगमले असार र साउनमा फ्रान्सबाट खरिद गरेर ल्याएका दुईवटा ब्रान्ड–न्यु वाइडबडी ए३३०–२०० बाट उडान गर्ने योजना बनाएको छ । निगमसँग दुइटा एयरबसकै साना ए३२० न्यारोबडी विमान पनि छन् । तर ती विमानबाट जापान उडान हुनेछैन ।

यसअघि सन् २००७ सम्म निगमले चीनको सांघाई हुँदै ओसाकासम्म उडान गर्दै आएको थियो ।त्यसबेला निगमले बोइङ ७५७ बाट यो रुटमा उडान गर्थ्यो । उक्त विमानबाट सिधा उडान गर्न नसकिने भएकाले सांघाईमा इन्धन भर्दै ओसाकाको उडान हुन्थ्यो । सन् २००७ पछि विमान अभाव र निगमको व्यवस्थापकीय कमजोरीका कारण जापान उडान स्थगन गरिएको थियो ।

प्रकाशित : जेष्ठ २२, २०७६ १४:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×