२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

'के हामीले केपी ओली मार्काको संघीयता मागेका हौं ?'

काठमाडौँ — राष्ट्रिय जनता पार्टीका नेता तथा सांसद राजेन्द्र महतो मंगलबार संघीय संसदमा निकै आक्रोशित रुपमा पेश भएका छन् । संसदमा जारी बजेट माथिको छलफलमा भाग लिँदै उनले पहिले र अहिलेको बजेटमा कुनै भिन्नता नरहेकोले यो स‌ंघीयता विरोधी बजेट भएको तर्क गरेका थिए ।

'के हामीले केपी ओली मार्काको संघीयता मागेका हौं ?'

'संघीयताको मर्मअनुसारको बजेट आएकै छैन्,' उनले भने, 'यो बजेटको विशेषता भनेको यो संघीयता विरोधी हो ।' केन्द्रीय सरकारले नै सबै गर्ने भए देशलाई किन संघीयतामा लगेको भनेर उनले प्रश्न गरेका थिए । 'यहाँ त संघीयतालाई त लंगौटी लगाइदिने काम पो गर्छन् त । केपी ओली मार्का संघीयता थोडी माग्या थियो हामीले,' उनले भने ।


नियम, कानुन, कर्मचारी, बजेट केही नभएको स‌ंघीयताका लागि जनताले आन्दोलन गरेको होइनन् भन्दै उनले अधिकार प्राप्तिका लागि नेपाली जनताले फेरी राष्ट्रिय रुपमै आन्दोलित हुनुपर्ने समय आएको हो भनेर प्रश्न गरेका थिए ।


राजपा सांसद महतोले लोकसेवा आयोगले स्थानीय तहका लागि हालसालै गरेको विज्ञापनको पनि विरोध गरेका थिए । 'लहरो तान्दा पहरो जान्छ । दादा गिरी नगर्नुहोस् । केपी ओली मार्काको प्रवृत्ति छोड्नुस् ।' जनताले लडेर प्राप्त गरेको अधिकार कुनैपनि हालतमा खोस्न हुँदैन भन्ने उनको तर्क थियो ।

प्रकाशित : जेष्ठ २१, २०७६ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?