कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

शिक्षिकाको पिटाइले ५ छात्राको हात भाँचियो

लठ्ठी प्रहारले १४ विद्यार्थी घाइते भएका थिए 
पक्राउपछि शिक्षिकालाई  लिबाङ ल्याउने तयारी

दाङ/रोल्पा — जेठ १२ गते आइतबार । रोल्पाको रुन्टीगढी गाउँपालिका–८ मगरगोरीस्थित भानु आधारभूत विद्यालयमा प्रार्थना सुरु हुँदै थियो । कक्षा ७ की विमला रोका घरको काम सकेर हतारहतार विद्यालय पुगिन् । नुहाएर राम्ररी कपाल पनि कोर्न भ्याएकी थिइनन् ।

शिक्षिकाको पिटाइले ५ छात्राको हात भाँचियो

उनलाई देखेपछि शिक्षिका लक्ष्मी पुनले किन कपाल नकोरेको भनेर लठ्ठी चलाउन थालिन् । अरू विद्यार्थी पनि आउने क्रम चलिरह्यो । पुनले ढिला आउनेलाई प्रश्न सोधिन् । जवाफ सुनिन् । र, एकोहोरो लौरो बर्साउन थालिन् । उपस्थित अन्य शिक्षक मूकदर्शक बने ।


शिक्षिकाको ‘लाठीचार्ज’ ले त्यो दिन विद्यालय परिसर आन्दोलनस्थल जस्तै बन्यो । शिक्षिकाको कुटाइबाट १४ विद्यार्थी घाइते भए । प्रावि तहकी शिक्षिका पुनले पिटेका १४ मध्ये पाँच जनाको अवस्था गम्भीर थियो । उनीहरू दिनभर चोट सहेर कक्षामै बसे । ‘अन्धाधुन्ध लठ्ठीले पिट्नुभयो । हामी केही बोल्न सकेनौँ,’ पीडित विमलाले भनिन्, ‘हात दुखेर पढ्न सक्ने अवस्था थिएन ।’ साँझ घर पुग्दा हात सुन्निएको थियो ।


विद्यार्थी कुटेको खबर पाएपछि प्रधानाध्यापक झगबहादुर भण्डारी र व्यवस्थापन समिति अध्यक्ष हुमबहादुर पुन साँझ अभिभावकको घरघर पुगे । तालिममा गएकाले भण्डारी दिउँसो विद्यालयमा थिएनन् । विद्यार्थीको चोट देखेर उनी तर्सिए । उपचारका लागि अस्पताल लैजाने र भोलि छलफल गर्ने भन्दै उनी फर्किए । अर्को दिन अभिभावकले विद्यालय तालाबन्दी गरे । कुटपिटमा संलग्न शिक्षिकालाई सेवाबाट बर्खास्त र उपचार खर्च उनैले बेहोर्ने मौखिक सहमतिपछि ताला खुल्यो ।


विद्यालय खुले पनि चित्त नबुझेका अभिभावकले इलाका प्रहरी होलेरीमा उजुरी दिए । प्रहरीले दुवै पक्षलाई छलफलमा बोलायो । छलफलमा राम्रोसँग उपचार गराउने, खर्च शिक्षिकाले बेहोर्ने, शिक्षिकालाई स्पष्टीकरण सोध्ने र चित्त नबुझे थप कारबाही गर्ने सहमति भयो । ‘स्थानीयस्तरमा राम्रो स्वास्थ्य सेवा नभएकाले तुलसीपुर पठाइएको हो,’ प्रधानाध्यापक भण्डारीले भने, ‘शिक्षिकालाई कारबाही थालिएको छैन । सबैको सल्लाहअनुसार के गर्ने भन्ने निर्णयमा पुगौँला ।’ शिक्षिकाले विद्यार्थी कुटेको स्विकारेको र उपचार पनि उनैले गरेकाले केही समय पर्खिएको उनले बताए ।


पाँच जनाको हातमा प्लास्टर

शिक्षिकाको कुटाइबाट आइतबार तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा कक्षा ८ की भीमकुमारी बाँठा, गौरी घर्ती, शान्ता नेपाली, कक्षा ६ की निर्मला पुन र ७ की विमला रोकाको हातमा प्लास्टर गरिएको छ । उनीहरूको नाडीको जोर्नी सुन्निएको, लिगामेन्ट च्यातिएको, सुन्निएको र हड्डी चर्किएको देखिएपछि प्लास्टर गर्नुपरेको डा. घनश्याम शर्माले जानकारी दिए ।


‘सबै विद्यार्थी सलमा हात झुन्ड्याएर आएका थिए । धेरै दिनदेखि उपचार पाएका रहेनछन्,’ डा. शर्माले भने, ‘समयमा उपचार गरेको भए छिट्टै निको हुन्थ्यो । ढिला भएकाले सुन्निएको छ । पूरै निको हुन तीन साता जति लाग्छ ।’ हात पहिलेकै अवस्थामा ल्याउन प्लास्टर गर्नुपरेको उनले बताए ।


त्रासमा विद्यार्थी

शिक्षिकाको कुटाइबाट एकै दिन १४ विद्यार्थी घाइते भएपछि विद्यालयका बालबालिका त्रस्त छन् । कुटाइबाट कक्षा १ का प्रेम पुन, कक्षा ४ का सन्तोष बुढामगर, कक्षा ७ की दीपा बाँठा, कक्षा ५ का वीरबहादुर घर्ती र अरुणा पुन, कक्षा ६ का सुशीला विक, पूर्णकली घर्ती र विपना घर्ती तथा कक्षा ८ की मनकुमारी घर्ती घाइते छन् । सबै विद्यार्थी शिक्षिकाबाट त्रस्त रहेको घाइतेले सुनाए ।


डरैडरमा एक सातासम्म पीडा सहेर बसेको कक्षा ८ की शान्ता नेपालीले बताइन् । ‘डरले मिससँग केही बोल्न सकेनन् । गाउँमै उपचार गर्न थाल्यौँ । सञ्चो भइहाल्छ भन्ने भयो । तर दुखेर हात चलाउन नसक्ने भयो, सुन्निँदै गयो,’ उनले भनिन्, ‘हात झुन्ड्याएर पनि विद्यालय गयौँ । पढ्न मन लाग्दैनथ्यो । सबैले बिस्तारै सञ्चो हुन्छ भने । तर भित्र धेरै चोट रहेछ । अन्त्यमा प्लास्टर नगरी नहुने भयो ।’ अरू सबै विद्यार्थी शिक्षिका पुनदेखि त्रस्त रहेको उनले बताइन् ।


पुन प्रावि तहकी निजी स्रोत शिक्षिका हुन् । उनी एक वर्षअघि माक्रै नियुत्त भएकी थिइन् । उनले यसअघि पनि विद्यार्थी कुट्ने गरेको पीडितले बताए । केही समयअघि कक्षा ३ का छात्र नरबहादुर पुनलाई पिटेर कानको जाली फुटेको थियो । विद्यार्थीप्रति शिक्षिकाको व्यवहार उचित नभएकोबारे यसअघि पनि गुनासो आएको गाउँपालिका शिक्षा शाखा स्रोतव्यक्ति कुलराज आचार्यले जानकारी दिए ।


‘पहिले पनि बालबालिका कुटेका घटना रहेछन् । अहिले प्रहरीमा पुगेपछि मात्र हामीलाई थाहा भयो,’ उनले भने, ‘शिक्षिकालाई सेवाबाट बर्खास्त गर्ने र बालबालिकाको उपचार खर्च बेहोर्ने सहमति भएको थियो । सहमतिअनुसार काम हुन ढिलाइ भएछ ।’ विद्यालयमा २ सय १८ विद्यार्थी अध्ययनरत छन् ।


'सालको लठ्ठीले पिटेँ’

त्यस दिन १० शिक्षकमध्ये तीन शिक्षिका मात्र उपस्थित थिए । अन्य सात जना कोही बिदामा र कोही विद्यालयको काममा गएका थिए । शिक्षिका पुन निमित्त प्रधानाध्यापक थिइन् । विद्यार्थी समयभन्दा ढिला आएका कारण निमित्त प्रअका हैसियतले सजाय दिएको पुनले स्विकारिन् ।


‘त्यस दिन म निमित्त प्रअ थिएँ । १० बजे आउनुपर्नेमा विद्यार्थी १०ः२० मा आए । त्यसपछि सालको लठ्ठीले हातमा पिटेँ,’ उनले भनिन्, ‘त्यति धेरै चोट लाग्ला भन्ने सोचेकै थिइनँ । तर लठ्ठी अलि बलियो भएकाले धेरै चोट लागेछ ।’ घटना भइसकेपछि आफूले गल्ती महसुस गरेर माफी मागेको र उपचार खर्च बेहोर्दै आएको उनले बताइन् । ‘जे नहुनु थियो, भइहाल्यो भनेर माफी मागिसकेकी छु ।’ दाङमा उपचार गर्न लगिएका विद्यार्थीसँग शिक्षिका पुनका बुबा पनि गएका छन् ।


कुटपिट आरोपमा शिक्षिका पुनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको रोल्पाका प्रहरी प्रमुख नायब उपरीक्षक दीपक खड्काले बताए । ‘विद्यार्थीमाथि अमानवीय तरिकाले कुटपिट गरेको आरोपमा पक्राउ गरिएको हो,’ उनले भने, ‘के–कस्तो कारबाही गर्ने भन्नेबारे अनुसन्धान जारी छ ।’ शिक्षिका पुनलाई होलेरीस्थित इलाका प्रहरी कार्यालयले सोमबार नियन्त्रणमा लिएको छ ।


शिक्षिकालाई सदरमुकाम लिबाङ ल्याउने तयारी भएको प्रहरीले जानकारी दियो । घटनाबारे जानकारी पाएपछि सत्यतथ्य बुझ्न कर्मचारी र जनप्रतिनिधि खटाएको रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढामगरले बताए ।

प्रकाशित : जेष्ठ २१, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?