१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

'धर्मप्रचारक विश्वविद्यालयसँग किन सम्झौता ?’

ऋषिराम पौड्याल

काठमाडौँ — सत्तारूढ नेकपाका नेता एवं सांसद भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि दिने दक्षिण कोरियाको काङनाम विश्वविद्यालयसित त्रिभुवन विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालन सम्झौताबारे सरकारसँग जवाफ मागेका छन् ।

'धर्मप्रचारक विश्वविद्यालयसँग किन सम्झौता ?’

‘बजेटमा शिक्षामा सुधार गर्ने कुरा गर्ने तर व्यवहारमा भने धर्म प्रचारको आरोप लागेको संस्थासँग त्रिविले सम्झौता गर्ने ?’ उनले प्रतिनिधिसभाको सोमबारको बैठकमा आक्रोश पोखे ।

त्रिविले कोरियाको उक्त विश्वविद्यालय धर्म प्रचारमा जोडिएको भन्दै डेढ दशकअघिको सम्झौता तोडेको थियो । त्यही विश्वविद्यालयले गत बुधबार काठमाडौंमा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । त्यसपछि फेरि सम्झौता गरिएको छ ।

बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिने क्रममा प्रतिनिधिसभा बैठकमा सोमबार रावलले प्रश्न गरे, ‘एउटा धर्म प्रचारक विश्वविद्यालयले किन प्राथमिकता पाउँछ ? त्रिविजस्तो संस्थाले किन त्यस्तो संस्थासँग सम्झौता गर्छ ? नेपालको संस्कृतिमाथि प्रहार गर्ने संस्थासँग किन सम्झौता गरियो ?’ रावलले अन्तर्राष्ट्रिय सम्बन्धका कुरा राम्रा गरिए पनि कुनै देशको राजदूतले भियना अभिसन्धिविरुद्ध खुलेआम गतिविधि गर्दा किन नरोकिएको भन्ने पनि प्रश्न गरे ।

बजेट भाषण भइरहेका बेला पोखरामा अन्तर्राष्ट्रियस्तरको संयुक्त सैनिक अभ्यास भएको उनले बताए । ‘सीमा स्तम्भ भत्किएका छन् । जमिन मिचिएको छ । सीमाका बाटा भत्केका छन्, यसमा ध्यान जानुपर्छ,’ उनले भने । जनादेश प्राप्त सरकारबाट जनताले परिवर्तनको ठूलो अपेक्षा गरेको उल्लेख गर्दै उनले भने, ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय सुरक्षामा ख्याल राख्नुपर्छ ।’ ललिता निवास जग्गा प्रकरणलाई लक्ष्य गर्दै उनले व्यक्तिले अनधिकृत रूपमा सार्वजनिक स्थल कब्जा गरेका घटना दुःखद रहेको बताए ।

प्रतिपक्षी कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले शून्य समयमा प्रधानमन्त्री ओलीले दक्षिण कोरियाको धर्म प्रचारक विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि लिएको भन्दै आपत्ति जनाए । गत वर्ष पनि प्रधानमन्त्री ओलीले १३ करोड खर्च गरेर धर्म प्रचारक संस्थासँग मिलेर कार्यक्रम गरेको उनको आरोप छ ।

नेकपाका नेता एवं सांसद अग्निप्रसाद सापकोटाले राजनीतिलाई वित्तीय भ्रष्टाचारबाट मुक्त गर्न संकल्प गर्नुपर्नेमा जोड दिए । सबै क्षेत्रमा बिचौलिया हाबी भएको उनको भनाइ छ । तिनीहरूले सत्तामा रहेका ठूल्ठूला नेतालाई घेराउ गरेको उनले उल्लेख गरे ।

प्रकाशित : जेष्ठ २१, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?