चन्द समूहभित्रै वार्ताको दबाब

दीपेन्द्र विष्ट

काठमाडौँ — नेत्रविक्रम चन्द समूहलाई सरकारसँग वार्ता गर्न चौतर्फी दबाब बढ्दै गएको छ । सरकारले गत फागुनमा गतिविधिमा प्रतिबन्ध लगाएपछि आफ्ना कार्यकर्ता पक्राउ पर्ने र कारबाही प्रक्रिया असफल हुने क्रम बढ्न थालेपछि चन्द समूहभित्रकै केही नेताले वार्तामा जोड दिइरहेका छन् ।

चन्द समूहभित्रै वार्ताको दबाब

नागरिक समाज, बुद्धिजीवी र सत्तापक्षीय नेताले पनि चन्द समूहलाई वार्तामा बस्न दबाब दिइरहेका छन् ।

केही दिनअघि नेपाल बन्द गराउने क्रममा बम विस्फोटमा परी आफ्नै कार्यकर्ताको मृत्यु भएपछि चन्द समूहभित्र वार्ताका लागि दबाब चुलिएको छ । तालिमप्राप्त कार्यकर्ता परिचालन गर्न नसक्दा चार कार्यकर्ताको मृत्यु भएको विषयमा समूहभित्र छलफल सुरु भएको छ । नेता–कार्यकर्ताले समूहभित्र बृहत् छलफल गरेर अघि बढ्न नेतृत्वलाई सुझाइरहेका छन् । केही सदस्य वार्ता गर्दा आत्मसमर्पणको सन्देश जाने भन्दै तत्काल त्यसतर्फ अघि नबढ्ने पक्षमा छन् ।

मागबारे सरकारसँग छलफल गर्नुपर्ने प्रस्ताव राखेपछि पोलिटब्युरो सदस्य पदम राई निलम्बित भएका थिए । ‘पार्टीमा कुरा राख्यो कारबाहीमा पर्ने डर हुन्छ, बोल्न सक्ने अवस्थामा कोही साथी पनि छैनौं,’ चन्द समूहका एक पोलिटब्युरो सदस्यले कान्तिपुरलाई भने, ‘पार्टीका साथी पक्राउ पर्ने क्रम जारी छ, सरकारसँग आफ्ना माग स्पष्टसँग राखौं भन्ने राईलाई कारबाही नै गरियो ।’

निलम्बनपछि राई सत्तारूढ नेकपामा प्रवेश गरेका छन् । चन्द समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आइतबार विज्ञप्ति जारी गरी रूपान्तरण र उपचारको प्रयास गर्दागर्दै पनि असम्भव भएपछि पार्टीको स्थायी कमिटीले राईलाई निलम्बन गरेको उल्लेख गरेका छन् । ‘पार्टीविरुद्ध झन्झन् अन्तरध्वंस र अपराधपूर्ण कार्यमा संलग्न भएकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

महत्त्वपूर्ण जिम्मेवारी पाएका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली, पोलिटब्युरो सदस्य भरत बम, मोहन कार्की, केन्द्रीय सदस्यद्वय बन्धु चन्द र विजय श्रेष्ठलगायत करिब ५ सय नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् । कार्यकर्ता धमाधम पक्राउ पर्न थालेपछि राईले एक महिनाअघि सभामुख कृष्णबहादुर महरालाई सरकारसँग वार्ताको वातावरण बनाइदिन अनुरोध गरेको स्रोतले जनाएको छ । त्यसपछि उनलाई स्थायी कमिटीले निलम्बन गरेको थियो । राई प्रवक्ता विश्वकर्माका विश्वासपात्रका रूपमा चिनिन्थे ।

चन्द समूहका एक पोलिटब्युरो सदस्यले पछिल्लो समय पूर्वएमाले नेताहरूले भित्रभित्रै चन्द समूहसँग वार्ताको पहल गरिराखेको जानकारी दिए । उनका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहालले भने आफूमार्फत चन्द समूहलाई वार्तामा ल्याउन पहल गरेका छन् । त्यसका लागि नेकपा केन्द्रीय सदस्य सुदीप मल्ल, रामदीप आचार्यलाई अनौपचारिक रूपमा जिम्मा दिइएको छ । मल्ल, आचार्य कुनै बेला चन्दका प्रियपात्रका रूपमा चिनिन्थे । ‘वार्तामा ल्याउन पहल भइरहेको छ,’ मल्लले भने । अध्यक्ष दाहाल चन्द समूहसँग वार्ता गर्ने पक्षमा रहेको उनले बताए ।

केही दिनअघि विराटनगरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले वार्ताका लागि पहल भइरहेको बताएका थिए । सरकार पक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र सांसद सोमनाथ पाण्डेले चन्द समूहका लुम्बिनी इञ्चार्ज वीरजंग चन्दमार्फत नेक्रवित्रम चन्दलाई वार्ता ल्याउन पहल गरेका थिए । वीरजंग नेक्रवित्रमका सहोदर दाजु हुन् । नागरिक अगुवा मल्ल के सुन्दरले चन्द समूहलाई वार्तामा ल्याउनुको विकल्प नझएको बताए ।

'आक्रमण गर्ने नीति छैन’

चन्द समूहले सुरक्षा निकायमाथि आत्रमण गर्ने आफ्नो नीति नभएको स्पष्ट पारेको छ । सोमबार प्रवक्ता खडगबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै सोलुखुम्बुमा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको उल्लेख गरेका छन् ।

‘सरकारले दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा प्रहरीचौकीमा आक्रमण प्रयास भनेर झूटो समाचार प्रसारण गराएको हो,’ विज्ञप्तिमा भनिएको छ । सामाजिक सञ्जालमा सोलुखुम्बुमा चन्द समूहले प्रहरीचौकी आक्रमण गर्ने हल्ला चलेपछि चन्द समूहले आधिकारिक भनाइ सार्वजनिक गरेको हो ।

उच्च सतर्कता

ओखलढुंगा– महाकुलुङ गाउँपालिका–३ छेस्काममा चन्द समूहका कार्यकर्ताको गतिविधि बढेलगत्तै सोमबार सुरक्षा सतर्कता बढाइएको छ । समूहका कार्यकर्ता आइतबार राति प्रहरी चौकी आक्रमणका लागि आएको हुन सक्ने अनुमान गरिएको थियो । कतिपयले आक्रमण नै भएको दाबी गरे पनि चौकीनजिकै घर भएका स्थानीयले आक्रमण नभएको बताएका छन् ।

‘दुईवटा समूहको गतिविधि राति देखिएको हो,’ एक स्थानीयले टेलिफोनमा भने, ‘ती दुई समूहमध्ये एक समूह राति नै संखुवासभातर्फ लागेको र अर्को समूह सोलुखुम्बुतर्फ हिंडेको गाउँलेबाट मैले पनि थाहा पाएको हुँ ।’ तर उनीहरूले चौकीमै आएर आक्रमण नगरेको उनले बताए ।

समूहका कार्यकर्ताले भने आक्रमणका लागि चौकीमा पुग्दा प्रहरी भागेर कोही नभएको दाबी गरेका छन् । उक्त दाबीको पुष्टि भएको छैन । असईको कमान्डमा रहेको चौकीमा सात जनाको दरबन्दी भए पनि आइतबार चार जना मात्र थिए ।

प्रकाशित : जेष्ठ २१, २०७६ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?