२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जयशंकरलाई बधाई दिँदा देउवा आलोचित

व्यक्तिगत रूपमा फोनबाट शुभकामना दिन सकिन्छ । पार्टीका तर्फबाट विज्ञप्ति जारी गरेर सभापति तथा पूर्वप्रधानमन्त्रीले विदेशमन्त्रीलाई शुभकामना दिने चलन थिएन/छैन – रामशरण महत, पूर्वपरराष्ट्रमन्त्री
कुलचन्द्र न्यौपाने

काठमाडौँ — चारपटकसम्म प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले कूटनीतिक ‘प्रोटोकल’ ख्याल नगरी भारतीय विदेशमन्त्री एस जयशंकरलाई शुभकामना सन्देश पठाएको भन्दै पार्टीभित्र आलोचना भएको छ । 

जयशंकरलाई बधाई दिँदा देउवा आलोचित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना पठाएको भोलिपल्टै देउवाले शनिबार पार्टीका तर्फबाट विदेशमन्त्री जयशंकरलाई बधाई तथा शुभकामना पठाएका थिए । उनको शुभकामना सन्देशलाई पार्टीका शीर्ष नेतादेखि परराष्ट्रविद्ले समेत रुचाएका छैनन् । उनीहरूले भारतलाई रिझाउने नाममा सभापतिबाटै भएको यस्तो कदमलाई अशोभनीय भनेका छन् ।


भारतको मन्त्रिपरिषद्मा विदेशमन्त्री जयशंकरको मर्यादा ११ औं स्थानमा छ । पहिलो नम्बरमा रक्षामन्त्री राजनाथ सिंह छन् । उनी भारतीय जनता पार्टीका पूर्वअध्यक्ष हुन् । दोस्रो नम्बरमा भाजपा अध्यक्ष अमित शाह छन् । उनी गृहमन्त्री छन् । ‘प्रोटोकलअनुसार आफ्नो काउन्टर पार्टनरलाई मात्रै शुभकामना दिनुपर्ने चलन हो । त्यस हिसाबले देउवाजीले अमित शाहलाई शुभकामना पठाउँदा शोभनीय हुन्थ्यो,’ एक परराष्ट्रविद्ले कान्तिपुरसँग भने, ‘एउटा पुरानो र ऐतिहासिक पार्टीको सभापति, त्यसमा पनि चारपटकसम्म प्रधानमन्त्री भइसकेका व्यक्तिले ११ औं नम्बरमा रहेका मन्त्रीलाई शुभकामना सन्देश पठाउँदा नेपाली जनमानसमा कस्तो सन्देश जाला ?’


जयशंकर तिनै व्यक्ति हुन्, जो नेपालले संविधान जारी गर्ने बेला २०७१ असोज १ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेषदूत बनेर काठमाडौं आएका थिए । तत्कालीन भारतीय विदेश सचिवका रूपमा नेपाल आएका उनले संविधान जारी हुनबाट रोक्ने

भूमिका खेलेका थिए । जयशंकरले त्यतिबेला प्रमुख राजनीतिक दलका नेताहरूसंँग मधेसको असन्तुष्टिलाई सम्बोधन गर्न कूटनीतिक मर्यादा नाघेरै दबाब दिएका थिए ।


त्यही प्रकरणबाट नेपाली जनमानसमा नकारात्मक छवि बनाएका जयशंकरलाई ‘प्रोटोकल’ को ख्याल नगरी पार्टीकै तर्फबाट शुभकामना सन्देश पठाउनुलाई अस्वाभाविक मानिएको हो । पूर्वपरराष्ट्रमन्त्रीसमेत भएका कांग्रेस नेता रामशरण महतले समकक्षीलाई शुभकामना पठाउने चलनविपरीत जानु उचित नभएको बताए ।


‘व्यक्तिगत रूपमा फोनबाट शुभकामना दिन सकिन्छ । तर, पार्टीका तर्फबाट विज्ञप्ति जारी गरेर सभापति तथा पूर्वप्रधानमन्त्रीले विदेशमन्त्रीलाई शुभकामना दिने चलन थिएन/छैन,’ उनले भने । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफूलाई यसबारे जानकारी नै नभएको दाबी गरे ।


‘म काठमाडौं बाहिर छु, सभापतिज्यूले सन्देश पठाएको पनि थाहा छैन,’ उनले भने, ‘प्रोटोकलका बारे पनि थाहा छैन ।’ अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले डेढ वर्षअघि नेकपाका अध्यक्षसमेत रहेका प्रधामन्त्री केपी शर्मा ओलीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई बोलाएर त्यस्तै गल्ती गरेको प्रसंग उल्लेख गरे ।


‘निर्वाचन परिणामले ओली प्रधानमन्त्री बन्ने निश्चित भइसकेको थियो । सरकारको नेतृत्वमा शेरबहादुर देउवा नै हुनुहुन्थ्यो । त्यतिबेला ओलीजीको निमन्त्रणामा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण भयो, जसबारे सरकारलाई नै जानकारी थिएन । सरकारलाई जानकारी नभएको भ्रमण रोक्नुपर्थ्यो कि पर्दैनथ्यो ?,’ भण्डारीले भने, ‘हिजो ओलीले जुन दोकान थाप्नुभएको थियो, आज देउवाले त्यस्तै अर्को दोकान खोल्न खोज्दा देश कहाँ जान्छ ? एउटा ऐतिहासिक पार्टीको सभापति र चारपटक प्रधानमन्त्री भएको व्यक्तिले प्रोटोकलको ख्यालै नगरी व्यक्तिपिच्छे, त्यसमा पनि नेपाली जनमानसमा नकारात्मक छवि भएकालाई शुभकामना

दिन हुन्छ ?’ देउवाको यो शैलीलाई लिएर उनकै खेमाका कतिपय नेताहरूले समेत अनौपचारिक तहमा असन्तुष्टि प्रकट गरेका छन् ।


भारतलाई रिझाउने नाममा प्रोटोकललाई समेत ख्याल नगरी दिइएको सन्देशले सभापति र पार्टीको छविमा असर पर्ने उनीहरूको भनाइ छ । देउवानिकट नेता एवं पूर्वमन्त्री एनपी सावदले प्रोटोकलको अन्तर्राष्ट्रिय अभ्यासबारे आफू जानकार नभएको बताए । ‘खोइ सभापतिले जानी बुझेरै बधाई पठाउनुभएको होला । मलाई जानकारी भएन,’ उनले भने ।


परराष्ट्र क्षेत्रमा लामो अनुभव लिएकाहरूले समेत नेताहरूले बारम्बार प्रोटोकल मिचेर व्यवहार गर्ने गरेको गुनासो गरे । पूर्वपरराष्ट्र सचिव मदन भट्टराई नेपालमा प्रोटोकलको अन्तर्राष्ट्रिय अभ्यासलाई आफूअनुकूल व्याख्या र प्रयोग गर्ने प्रवृत्ति भएकाले नेपालमा चलन खोजेर पार नलाग्ने बताए । ‘अन्तर्राष्ट्रिय अभ्यास होइन, व्यक्तिगत चिनजानीको हिसाबले शुभकामना दिइएको होला,’ उनले भने ।

प्रकाशित : जेष्ठ २०, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?