कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अन्नपूर्ण चुमेको त्यो दिन

आश गुरुङ, बिना थापा

अन्नपूर्ण आधार शिविर — ८ हजार मिटर अग्ला हिमालमध्ये पहिलोपटक अन्नपूर्ण आरोहण गरिएको सोमबार ६९ वर्ष पुगेको छ । अन्नपूर्ण प्रथम (८०९१ मि) को आरोहण सन् १९५० जुन ३ (२००७ जेठ १९) मा फ्रान्सेली नागरिक ३१ वर्षीय मोरिस हर्जोगको टिमले गरेको थियो । यो सफलतासँगै नेपाल पर्वतीय पर्यटनको आकर्षणको केन्द्र बनेको हो । प्रायःले सर्वोच्च शिखर सगरमाथा रोज्ने भएकाले अन्नपूर्ण प्रथमको आरोहण भने कम प्राथमिकतामा परेको छ । 

अन्नपूर्ण चुमेको त्यो दिन

पर्यटकका लागि अन्नपूर्ण पदमार्ग आकर्षणमा पर्छ । ‘सगरमाथाभन्दा अन्नपूर्ण हिमाल आरोहणका लागि ज्यादै कठिन छ । जेठो हिमालको उपाधि पाए पनि धेरै पर्यटक अन्नपूर्ण प्रथम हिमालमा जान सकिरहेका छैनन्,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) केन्द्रीय कार्यालय संरक्षण अधिकृत ऋषि बरालले भने, ‘पदमार्ग विस्तार भइरहेको छ । हिमालसम्मै पदमार्ग निर्माण भएको छ । अब सहज हुने अपेक्षा छ ।’ अन्नपूर्णको छुट्टै महत्त्व भए पनि प्रचारप्रसार गर्न नसकिएको उनले बताए ।


‘पदमार्ग व्यवस्थापन सबैभन्दा ठूलो चुनौती भएको छ,’ उनले भने । नारच्याङमा होटल व्यवसाय गर्दै आएका टेकबहादुर पुनका अनुसार पर्यटक अन्नपूर्ण प्रथमको बेसक्याम्प जान खोज्छन् । पोखराको लेकसाइडमा होटल सञ्चालन गर्दागर्दै गाउँ फर्केका उनले सोचेजस्तो पर्यटक आगमन हुन नसकेको बताए ।


‘बाटो अप्ठ्यारो छ । मोरिस हर्जोग चढेको हिमाल यहाँबाट पुगिन्छ भनेर प्रचारप्रसार हुन सकेको छैन,’ उनले भने, ‘सोचेअनुरूप हिँडेर पर्यटक आउन सकेका छैनन् । आएका केही फर्किएका पनि छन् ।’ मुस्ताङको टुकुचे भएर बेसक्याम्प जाने बाटोमा अप्ठेरो रहेको उनले बताए । पदमार्ग निर्माण गर्न यहाँका अगुवा जुटे पनि भौगोलिक विकटता (भिरालो) ले असहज भएको पुनले बताए ।


एक्याप आयोजना प्रमुख राजकुमार गुरुङका अनुसार नेपालकै पहिलो र ठूलो संरक्षण क्षेत्रभित्र अन्नपूर्ण हिमाल पर्छन् । अन्नपूर्ण हिमाल र यस आसपासको ७ हजार ६ सय २९ वर्ग किलोमिटर क्षेत्रलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामार्फत संरक्षण गरिएको छ ।


लमजुङ हिमालदेखि नीलगिरिसम्म अन्नपूर्ण हिमशृंखलाको भाग हो । गण्डकी प्रदेशको ५ जिल्ला, १५ गाउँपालिकाका ८७ वडामा अन्नपूर्ण संरक्षण क्षेत्र छ । २०४३ मा कास्कीको घान्द्रुकबाट अन्नपूर्ण संरक्षण क्षेत्र परीक्षण सुरु भएको थियो । अन्नपूर्ण क्षेत्रमा बर्सेनि करिब २ लाख पर्यटक आउँछन् ।


सगरमाथा छाडेर अन्नपूर्णमा

मोरिस हर्जोग तत्कालीन प्रधानमन्त्री मोहनशमशेर जबराको अनुमतिमा हिमाल चढ्न आएका थिए । उनी सगरमाथा (माउन्ट एभरेस्ट) आरोहणका लागि गएका थिए । बेलायती जर्ज हन्ट र एडमन्ड हिलारीले ‘हामी चढ्दै छौं, तपाईं अर्को हिमाल रोज्नुस्’ भनेपछि हर्जोग अन्नपूर्ण क्षेत्रमा आएका थिए ।


अन्नपूर्ण क्षेत्र नजिकै धौलागिरि आएका हर्जोगले कालीगण्डकीको तीरैतीर मुस्ताङको टुकुचे क्षेत्रबाट नारच्याङको लेक भुस्केट हुँदै आधार शिविर भएर अन्नपूर्ण प्रथम चढेका थिए । हर्जोगले अन्नपूर्ण प्रथम आरोहण गरेको ३ वर्षपछि बेलायती एडमन्ड हिलारी र नेपाली तेन्जिङ नोर्गे शेर्पा सगरमाथाको शिखरमा पुगेका थिए ।


‘हामी सगरमाथा चढ्न गएको भए उनीहरूलाई धोका दिएको जस्तो हुन्थ्यो,’ अन्नपूर्णमा पहिलो पाइला पुस्तकमा हर्जोगले भनेका छन्, ‘बेलायतीहरूले सगरमाथा उक्लन बाह्रौं प्रयास गर्दै थिए । बेलायती जर्ज हन्ट र एडमन्ड हिलारी मेरा साथी नै थिए । तिब्बती मोहडाबाट पनि पटकपटक कोसिस गर्‍यौं, सकेनौं । अब एकपटक हाम्रा लागि छाडिदिनुस् भनेर उनीहरूले आग्रह गरेपछि तपाईंहरूले नसके अर्कोपटक हामी चढ्छौं भन्दै हामी अन्नपूर्णतिर लाग्यौं ।’


फ्रान्सबाट दिल्लीसम्म हवाई यात्रा गरेका हर्जोगको टोली भारतबाट नेपाल सीमासम्म मोटरमा आएको थियो । उनीहरू लुम्बिनी हुँदै बाग्लुङ भएर धौलागिरि क्षेत्र हिँडेरै आएका थिए । उनको टोलीसँग २ सय ५० जना भरिया थिए । उनी सगरमाथा चढ्न नपाएपछि ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरि हिमाल चढ्न आएका हुन् ।


धौलागिरि चढ्नु राम्रो छैन भनेर स्थानीयले सुझाव दिएपछि उनी पूर्वतर्फको अन्नपूर्ण प्रथम हिमाल आरोहणमा लागेका थिए । मनसुन सुरु हुनै लाग्दा र हिमपहिरो खस्ने समयमा हर्जोगले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए ।


उनले हिमाल चढेको खबर विश्वभर फैलियो । ‘हामीले अन्नपूर्ण हिमाल आरोहण गरेपछि फ्रान्सेलीहरू ८ हजार मिटरभन्दा अग्लो हिमालमा गए, हिमालमा फ्रान्सेली झन्डा फहराए, ती त्यत्रा हिमाल कसरी चढे, उनीहरू को हुन् ? भनेर हल्लीखल्ली मच्चियो । नेपालका अग्ला हिमाल पनि चढ्न सकिने रहेछ भनेर संसारभरिका मानिसको आँखा खुल्यो,’ पुस्तकमा उनले भनेका छन् । अन्नपूर्णको सफल आरोहणपछि विश्वको ध्यान नेपालतर्फ केन्द्रित भएको थियो । अन्नपूर्ण पहिलो आरोहण गरेर कीर्तिमान बनाएको खुसियालीमा त्यतिबेला फ्रान्समा तीन दिन राष्ट्रिय उत्सव मनाइएको थियो ।


आरोहणका क्रममा दुवै गोडा र दुवै हात गुमाएका हर्जोगलाई सहयोगीले बोकेर हिमालबाट झारेका थिए । उनीसँगै लुइस लचेनल पनि थिए । फर्किने बेला मोहन शमशेरले भेट्नलाई पत्र पठाएको जानकारी आएपछि सँगै आएका डाक्टर हुदो मार्सेलसहित उनी काठमाडौं गए । दरबारमा एउटा ठूलो समारोह गरेर तत्कालीन सरकारले उनलाई गोर्खा क्रस पदक दिएको थियो ।


उक्त पदक पाउने आफू एकमात्र विदेशी भएको हर्जोगले आफ्नो किताबमा उल्लेख गरेका छन् । उनले लेखेको किताब सन् २००० अघिसम्म १ करोड १० लाख बढी बिक्री भएको थियो । फ्रान्सेली भाषा ‘लान्नापुर्ना फर्मिय उई मिल’ नामको उक्त पुस्तक कुनै समय अमेरिकी बजारमा क्रिश्चियन धर्मग्रन्थ बाइबलभन्दा बढी बिक्री भएको मानिन्छ । यो पुस्तक सम्भवतः विश्वमा सबैभन्दा धेरै बिक्री भएको नेपालसम्बन्धी पुस्तक पनि मानिन्छ । सन् १९५१ मा पेरिसको अस्पतालमा उपचार हुँदै गर्दा उनले यो पुस्तक लेखेका थिए ।


हिमाल चढ्दा के हुन्छ, हुँदैन भनी अविवाहित बसेका उनी गहिरो चोटमा परेपछि फर्किंदा दिल्लीमा उपचार गरे । नेपाल र भारतमा राम्रो उपचार नपाएपछि उनले फ्रान्स र लामो समयसम्म अमेरिकामा उपचार गरे । कृत्रिम हातखुट्टा लगाउँदै आएका उनको ९३ वर्षको उमेरमा २०६९ मंसिर २९ गते निधन भयो । अन्नपूर्ण चढ्नुअघि उनले युरोप र दक्षिण अमेरिका क्षेत्रका ४ हजार ८ सय मिटर उचाइका हिमाल चढेका थिए ।


सन् १९१९ जनवरी १५ मा फ्रान्सको लियोमा जन्मेका हर्जोग ८ सन्तानमध्ये जेठा थिए । अन्नपूर्ण आरोहणअघि उनले युरोपको सबैभन्दा अग्लो मानिएको मो ब्ला हिमाल आरोहण गरिसकेका थिए । उनी पेरिसका नाम चलेका व्यापारी थिए । अन्नपूर्ण हिमालमा हातगोडा गुमाएका उनी आजीवन उपचारमा रहे । हिमाल चढेर गएपछि उनी ८ वर्षसम्म फ्रान्सका युवा तथा खेलकुदमन्त्री बने । १७ वर्षसम्म सांसद चुनिए । त्यसअघि सामोनी नगरको मेयर बने । हर्जोग २५ वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सदस्य रहेका थिए । फ्रान्सका तत्कालीन राष्ट्रपति चार्ल्स द गोलले हर्जोगलाई हिमाल आरोहणको साहसबारे युवालाई बताउन मन्त्री बनाएको बताइन्छ ।

८ हजार मिटर अग्ला हिमालमध्ये अन्नपूर्ण प्रथममा पहिलोपटक मानव पाइला परेको हुनाले यसलाई जेठो हिमाल भन्ने गरिन्छ । सर्वोच्च शिखर सगरमाथा आरोहण सफल हुनुमा अन्नपूर्ण आरोहणलाई श्रेय दिने गर्छन् पर्वतारोहण क्षेत्रका अगुवाहरू ।

बिर्सिइए हर्जोग

नेपाल र अन्नपूर्णलाई विश्वभर चिनाएका हर्जोगलाई सरकारी तथा निजी क्षेत्रले खासै सम्झिएको पाइँदैन । कहिलेकाहीं अन्नपूर्ण क्षेत्रमा औपचारिक कार्यक्रम हुँदै आएको छ । एक्यापद्वारा गठित संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङ (अन्नपूर्ण गाउँपालिका ४, म्याग्दी) का अध्यक्ष तेजबहादुर गुरुङका अनुसार हिमाल आरोहणपछि हर्जोग ३० पटक नेपाल आएका थिए ।


पछिल्लो समय सन् २००५ मा नारच्याङ आएका उनले सरकारलाई अन्नपूर्ण प्रथमको विकासमा चासो नदिएको गुनासो गरेका थिए । ‘उहाँले मलाई सम्झनु पर्दैन, मैले चढेको हिमाल र यस क्षेत्रको विकास गरे पुग्छ भन्नुभएको थियो,’ गुरुङले भने, ‘राज्य र सरकारले उहाँलाई सम्झिएको छैन । हामीमात्रैले के गर्न सक्छौं र ?’ कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने अन्नपूर्ण बेसक्याम्पमा हर्जोगको सालिक बनाइएको छ । ‘अन्नपूर्ण हिमाल र अन्नपूर्ण बेसक्याम्प भनेपछि कास्कीतर्फ मात्रै सबैको ध्यान केन्द्रित भयो । हर्जोग हिँडेको बाटो र चढेको हिमालका लागि कसैको ध्यान गएन,’ धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले भने ।


अन्नपूर्ण प्रथमसम्म पदमार्ग

अन्नपूर्ण प्रथमसम्म जान बेसक्याम्पसम्म पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्द्रजित पहरे पुनले बताए । उनका अनुसार अघिल्लो वर्षदेखि पदमार्ग खुलेको र पर्यटक आउन थालेका छन् । नारच्याङका अगुवा सुवास विकका अनुसार बेनीदेखि नारच्याङसम्म २४ किलोमिटर सडक छ ।


नारच्याङबाट छोटे पासम्मको १६ किलोमिटरसम्म नीलगिरि जलविद्युत् आयोजनाले सडक निर्माण गरेको छ । छोटे पासदेखि हुमखोलासम्मको ९ किलोमिटर सडक आयोजनाले बनाउन लागेको छ । हुमखोलाबाट करिब ६ घण्टामा भुस्केट र भुस्केटबाट करिब ५ घण्टामा ४ हजार १ सयदेखि ४ हजार ४ सय मिटरसम्मको अन्नपूर्ण बेसक्याम्प पुग्न सकिन्छ । केन्द्रीय सरकार, प्रदेश सरकार, एक्याप, स्थानीय सरकारको सहयोगमा पदमार्ग निर्माण भइरहेको संरक्षण समितिका अध्यक्ष गुरुङले बताए ।


मुस्ताङको टुकुचे, ताक्लुङ हुँदै आउने पदमार्ग डरलाग्दो छ । यो बाटो भएर आउँदा भरियाहरू भीरबाट खसेर मृत्यु हुने गरेको स्थानीय बताउँछन् । नारच्याङबाट आधार शिविर जाने बाटो पनि महभीरमा डरलाग्दो छ । जलविद्युत् आयोजनाले उक्त ठाउँ कट्ने गरी सडक निर्माण गर्दै छ । अध्यक्ष गुरुङका अनुसार नारच्याङबाट अन्नपूर्ण प्रथमको आधार शिविर जाने पदमार्ग थिएन ।


‘मेरै नेतृत्वमा २०६७ मा अध्ययन गरिएको थियो । नचाहिने काम गरेको भन्दै मैले पागलको बिल्ला भोग्नुपर्‍यो,’ उनले भने, ‘हर्जोग चढेको हिमाल पुग्ने छोटो बाटो खोज्यौं । हामीले मिस्त्रीखोला तीरैतीर खोलाकै मुहानसम्म पदमार्गको ट्र्याक खोल्न सफल भयौं ।’ सुरुमा अनुसन्धान गर्दा उक्त खोलामा ४४ पटक फड्के बनाएर वारपार गरी अध्ययन गरिएको उनले बताए ।


२०६८ मा पदमार्ग निर्माणका लागि परियोजना प्रस्ताव लेखेर पर्यटन मन्त्रालयमा दिएको र त्यसपछि ०७२ सम्म हरेक वर्ष १० लाखका दरले सहयोग पाएको उनले बताए । ०७३ र ०७४ मा १५/१५ हजार र ७५ मा २० लाख विनियोजन भएको थियो । एक्यापले अघिल्लो वर्ष १५ लाख र अहिले १० लाख दिएको छ ।


गण्डकी प्रदेश सरकारले यस वर्ष १५ लाख स्वीकृत गरेको छ । वडाले ३ लाख सहयोग गरेको छ । ‘हामी पदमार्ग निर्माण गरिरहेका छौं । बास बस्ने ठाउँ बनाएका छौं । मिस्त्रीखोला २ ठाउँमा झोलुंगे पुल निर्माण गरेका छौं । अझै बनाउन बाँकी छ । धेरै ठाउँमा काठे फडके बनाएका छौं,’ उनले भने ।


उनले कास्कीबाट अन्नपूर्ण हिमालको काखमा जाने पदमार्ग र बेसक्याम्पले म्याग्दीको बेसक्याम्प छायामा परेको बताए । कास्कीबाट बेसक्याम्पसम्म जान मिल्ने भए पनि हिमाल चढ्न मिल्दैन । हिमाल चढ्न म्याग्दीमा पर्ने अन्नपूर्ण प्रथम बेसक्याम्प नै आउनुपर्छ । म्याग्दीतर्फको बेसक्याम्पमा गत वर्षदेखि पर्यटक जान थालेको उनले बताए ।


अन्नपूर्ण प्रथम जाने पदमार्ग नहुँदा र भएको पदमार्ग पनि उच्च जोखिममा रहँदा हिमाल चढ्ने र घुम्ने पर्यटक हेलिकप्टरमार्फत जाने गरेका छन् । पछिल्लो समय गत अप्रिल २३ मा अन्नपूर्ण प्रथम आरोहण गरेका बेलायती सैनिक म्याग्दीका निर्मल पुर्जा बेसक्याम्पसम्म हेलिकप्टरमै गएका थिए ।


उनी यस क्षेत्रकै ८ हजार माथिका हिमाल चढ्ने पहिलो स्थानीय हुन् । उनलाई बेलायती सैनिकमा हिउँचितुवा नामले चिनिन्छ । यस वर्षमात्रै करिब २० पटकभन्दा बढी हेलिकप्टर अन्नपूर्ण बेसक्याम्प पुगेको स्थानीयको भनाइ छ ।

प्रकाशित : जेष्ठ २०, २०७६ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?