१७ वर्षपछि नेपालका प्रधानमन्त्रीले बेलायत भ्रमण गर्दै

नवीन पोखरेल

लन्डन — नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतको औपचारिक भ्रमणमा आउने तय भएको छ । १७ वर्षपछि नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण तय भएको हो । यसअघि सन् २००२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत आएका थिए । बेलायती प्रधानमन्त्री टेरेजा मेको निमन्त्रणामा ओली बेलायत आउन लागेका हुन् । 

१७ वर्षपछि नेपालका प्रधानमन्त्रीले बेलायत भ्रमण गर्दै

मेले रक्षा राज्यमन्त्री मार्क ल्यान्कास्टर गत मार्चमा नेपाल भ्रमण जाँदा समकक्षी ओलीलाई बेलायत भ्रमणको औपचारिक निमन्त्रणा पठाएकी थिइन् । बेलायती प्रधानमन्त्री मेले जुन ७ तारिख पदबाट राजीनामा दिने घोषणा गरेसँगै बेलायतमा राजनीतिक अस्थिरताबीच ओलीको भ्रमण हुन लागेको हो ।


प्रधानमन्त्री ओली र मेबीच ११ तारिख बिहान भेटवार्ता तय भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । 'बेलायत नेपाल द्विपक्षीय हित, सम्बन्ध र सहयोगबारे नै वार्ता हुनेछ', लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले कान्तिपुरसँग भने, 'यस भ्रमण दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन कोशेढुंगा हुने विश्वास गरिएको छ ।' ओलीले अन्य बेलायती पदाधिकारीहरुसँग समेत भेटवार्ता गर्नेबारे गृहकार्य भइरहेको आरणले जनाए ।


जेनेभामा आइएलओ सम्मेलन सकेर प्रधानमन्त्री ओली १० जुनमा लन्डन आइपुग्ने कार्यक्रम छ । त्यही साँझ ओलीले अक्सफोर्ड विश्वविद्यालयले साढे ८ बजे अक्सफोर्डमा गर्ने कार्यक्रमलाई सम्वोधन गर्ने छन् । प्रधानमन्त्री ओली १२ जुन बिहान ८.३० बजे दूतावासले गर्ने रिसेप्सनमा समेत सहभागी हुनेछन् भने आन्दोलनरत भूतपूर्व गोर्खाहरु र नेपाली समुदायसँग समेत अन्तरक्रिया गर्ने तयारी छ ।


बेलायत नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको २०३ वर्षे इतिहासमा बेलायती प्रधानमन्त्रीले भने अहिलेसम्म नेपाल भ्रमण गरेका छैनन् । हरेक बेलायती प्रधानमन्त्री छिमेकी भारत जाने गरे पनि नेपालचाहिँ नपुग्नु दुःखद भएको यहाँको नेपाली डायस्पोराको गुनासो छ । बेलायतपछि ओली १२ जुनमा फ्रान्स जाने जनाइएको छ ।






प्रकाशित : जेष्ठ १९, २०७६ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?