कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘ठेक्का बेच्नेलाई कारबाही गर्दा गणतन्त्र गुम्दैन’

ऋषिराम पौड्याल

काठमाडौँ — ‘नेता, कर्मचारी र ठेकेदारको मिलेमतो नभई बदमासी हुँदैन, दललाई चन्दा दिएपछि तैं चुप मैं चुप । यो परम्परा रहुन्जेल जति प्रयास गरे पनि केही हुँदैन,’ सत्तारुढ नेकपाका सांसद यज्ञराज सुनुवारले शुक्रबार संसदको विकास समितिमा भने, ‘बन्दै गरेको पुल हावाले उडाएको मुलुकमा नाफा लिँदै ठेक्का बेच्दै गर्ने ठेकेदारलाई कारबाही गर्दा गणतन्त्र गुम्दैन ।’

कांग्रेस सांसद रामबहादुर विष्टले व्यंग्य गरे, ‘ठेकेदारले गर्ने काममा जति पटक म्याद थप्यो, कर्मचारीको त्यति बार्गेनिङ पावर बढ्ने हो कि कसो ? होइन भने आयोजना पूरा भएपछि अनुगमन गर्ने परिपाटीको अन्त्य किन हुँदैन ? काम गर्दागर्दै अनुगमन गर्नुपर्ने विभागीय कार्यालय के गर्छन्, राजधानीको टेकु पुलमा गाडी गुडिसकेपछि अहिले गुणस्तर भएन भनियो, बन्दाबन्दै पुलको गुणस्तर किन जाँच गरिएन ?’


सुनुवार र विष्ट मात्र होइन, प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा शुक्रबार भएको छलफलमा अधिकांश सांसदहरू विभागीय मन्त्री र कर्मचारीमाथि खनिए । समितिकै सभापति कल्याणीकुमारी खडकाले समेत भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सचिव देवेन्द्र कार्की र विभागीय प्रमुखहरूलाई तपाईंको टेबुलमा आएको फाइलको काम कति दिनमा सकिन्छ जवाफ दिनुस् भन्दै पटक पटक प्रश्न गरिन् । आफू फिल्डमा जाँदा सरोकारवालाले यस्ता प्रश्न धेरै राख्ने गरेको अनुभव सुनाउँदै उनले मन्त्रीसँग जवाफ मागेकी हुन् ।


मध्यपहाडी (पुष्पलाल) लोकमार्ग र हुलाकी सडकका मोटरेबल पुलहरूको निर्माण वर्षौंदेखि पूरा हुन नसकेको सन्दर्भमा आयोजित बैठकमा सबैजसो सांसदले पुरानै परम्परा र शैलीमा भइरहेको कामको प्रकृतिलाई परिवर्तन नगरेसम्म उपलब्धि नहुने बताए । लोकमार्गमा १ सय ३३ मोटरेबल पुल निर्माण गर्नुपर्नेछ । तीमध्ये ७० वटा मात्र बनिसकेका छन् । २०६८ सालदेखि निर्माण भइरहेका पुल लथालिंग अवस्थामा छन् ।


२६ वटा निर्माणाधीन, १९ वटा सर्वेक्षणको चरणमा रहेका र १८ वटा ठेक्का लगाउने तयारीमा छन् । पूर्वको पाँचथर चियोभन्ज्याङबाट पश्चिमको बैतडीस्थित झुलाघाटसम्मको करिब १९ सय किमिको लोकमार्गमा पर्ने पुल तथा सडक निर्माणका लागि ८४ अर्ब लाग्ने अनुमान छ । तराईको पूर्वपश्चिम जोड्ने करिब १ हजार ७ सय ९२ किमि हुलाकी राजमार्गमा २ सय १९ वटा पुल निर्माण गर्नुपर्नेछ । तीमध्ये ८० वटा सम्पन्न भएका छन् ।


निर्माण चरणमा ८० वटा छन् भने ५९ वटाको सर्वेक्षण भइरहेको छ । सडक तथा पुलको लागत करिब ६७ अर्ब लाग्ने अनुमान छ । त्यसमध्ये भारतको सहयोग ८ अर्ब छ । सडक तथा पुल निर्माणको काम सुस्त भएपछि विकास समितिले लोकमार्ग र हुलाकी सडक निरीक्षण गरेको थियो ।


निरीक्षणपछि सरोकारवालासँग गरिएको छलफलमा समितिका सदस्यहरूले सरकारी ढिलासुस्ती र ठेकेदारको लापरबाहीले काममा ढिलाइ भएको बताए । सांसदहरूले खरिद ऐन परिवर्तन गरेर भए पनि ढिलासुस्ती हटाउन माग गरेका थिए । सांसद जिपछिरिङ लामाले सरकारले ल्याएको सार्वजनिक खरिद ऐनका कारण निर्माण व्यवसायीले काम गर्नै नसक्ने अवस्था सिर्जना भएको बताए ।


पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्माण व्यवसायीले आफूहरू मर्कामा परेको भन्दै राजनीतिक भेटघाट थालेको बताए । उनले व्यवसायीले प्रधानमन्त्रीलाई समेत भेटेको जानकारी पाएको बताए । मुलुकमा राजनीतिक स्थायित्व भएकाले राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने र निर्माणलाई व्यवस्थित गर्न दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने उनले सुझाव दिए । मन्त्री महासेठले कामलाई तीव्रता दिन सबैखालका संयन्त्र प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?