सत्तापक्षबाटै बजेटको विरोध 

माधव ढुंगाना

भैरहवा — सत्तारुढ समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नयाँ आर्थिक वर्षका लागि सरकारले संसद्‌मा प्रस्तुत गरेको बजेटको आलोचना गरेका छन् । दुई तिहाइ बहुमतको सरकारले ल्याएको बजेट मुलुकको आर्थिक प्रगतीमा छलाङ लगाउने खालको हुनु पर्नेमा त्यसको कुनै लक्षण देखा नपरेको भन्दै भट्टराईले विरोध जनाएका हुन् । 

शुक्रबार भैरहवामा आयोजित पार्टीको प्रादेशिक अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आएका नेता भट्टराईले मुलुकको स्थायी शान्ति र दीर्घकालीन विकासका लागि कांग्रेस र कम्युनिष्ट दुवै बेकामे सावित भएको दाबी गर्दै त्यसको विकल्पमा आफ्नो पार्टीको उदय भएको बताए । भट्टराईले संविधान संशोधन गर्न छिट्टै अल्टिमेटम दिने र अल्टिमेटमको बेवास्ता गरिएमा संघर्षमा जाने चेतावनी दिए । संशोधनका लागि अल्टिमेटम दिने र संघर्षमा उत्रिने कुराको टुंगो कहिलेसम्म लाग्ने ? भन्ने बारेमा भने उनले प्रस्ट पारेनन् ।

समाजवादीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्ने, विभिन्न खालका विभेद र असमानता अन्त्य गर्ने सम्झौताअनुरुप आफ्नो पार्टी सरकारमा सहभागी भएको उल्लेख गरे । सम्झौताअनुरुप नभएमा सरकारबाट अलग्गिएर संघर्षमा जाने भनाइ उनले दोहोर्‍याए । समाजवादीका नेताहरुले बेला बेलामा सरकारबाट बाहिरिने चेतावनी दिँदै आए पनि पार्टीले आधिकारिक निर्णय गर्न सकेको छैन ।

प्रकाशित : जेष्ठ १७, २०७६ २०:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

जानकी मेडिकल कलेजका सञ्चालकविरुद्ध पक्राउ पुर्जी

कान्तिपुर संवाददाता

धनुषा — विभिन्न व्यक्ति, संस्था र कर्मचारीको तलब लगायतका लेनदेन फर्छ्यौट नगरेको र यसका लागि पटक–पटक पत्राचार गर्दा पनि अटेरी गरेको भन्दै जानकी मेडिकल कलेजका सञ्चालकविरुद्ध जिल्ला प्रशासनले पक्राउ पुर्जी जारी गरेको छ ।


कलेज सञ्चालक समिति अध्यक्ष ओमप्रकाश पाण्डे (ओपी पाण्डे) लाई धनुषा प्रशासनले जेठ बुधबार पक्राउ पुर्जी जारी गरेको हो।

कर्मचारीहरूको तलबबापतको लाखौं रुपैयाँ महिनौंदेखि नदिएका कारण पाण्डेको नाममा पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत दिनेश साहले बताए। उनका अनुसार पाण्डेलाई पटक–पटक कार्यालयमा उपस्थित हुन पत्राचार गरे पनि अटेरी गर्दै आएका छन्।

पटक–पटक छलफलमा भुक्तानीको समय निर्धारण गरे पनि पीडितले अझै रकम पाएका छैनन्। जिल्ला प्रशासनमा मेडिकल कलेज र कलेजका सञ्चालकविरुद्ध उजुरीको चाङ नै छ।

पूर्वस्टाफ नर्स गीतादेवी श्रीवास्तवले जागिर छाडेको दुई वर्ष भइसक्दा पनि आफूले पाउनुपर्ने ३ लाखभन्दा बढी रकम कलेजले उपलब्ध नगराएको भन्दै प्रशासनमा उजुरी हालेकी छन्। त्यस्तै, मेडिकल कलेजले तलब नदिएको भन्दै भारतका डाक्टरद्वय अरुण कुमार र साधना कुमारीले परराष्ट्र मन्त्रालय, भारतीय महावाणिज्य दूतावासको कार्यालय वीरगन्जमा दर्ता गराएको उजुरी जिल्ला प्रशासन कार्यालय धनुषामा आएको छ।

कलेजले पटक–पटक विज्ञ समूहलाई होटलमा राखेर भुक्तानी नगरेको भन्दै जनकपुरस्थित वेलकम होटलले पनि कलेजविरुद्ध प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको छ। कलेजबाट १२ लाख ६४ हजार ८ सय ८४ रुपैयाँ असुलउपरका लागि होटल सञ्चालकले जिल्ला प्रशासनमा उजुरी हालेको हो। यसैगरी कलेजका प्रिन्सिपल डा. हुकुमदेव साहले समेत तलबका लागि धनुषा प्रशासनमा उजुरी दिएका छन्।

प्रकाशित : जेष्ठ १७, २०७६ २०:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×