कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

जानकी मेडिकल कलेजका सञ्चालकविरुद्ध पक्राउ पुर्जी

धनुषा — विभिन्न व्यक्ति, संस्था र कर्मचारीको तलब लगायतका लेनदेन फर्छ्यौट नगरेको र यसका लागि पटक–पटक पत्राचार गर्दा पनि अटेरी गरेको भन्दै जानकी मेडिकल कलेजका सञ्चालकविरुद्ध जिल्ला प्रशासनले पक्राउ पुर्जी जारी गरेको छ ।

जानकी मेडिकल कलेजका सञ्चालकविरुद्ध पक्राउ पुर्जी

कलेज सञ्चालक समिति अध्यक्ष ओमप्रकाश पाण्डे (ओपी पाण्डे) लाई धनुषा प्रशासनले जेठ बुधबार पक्राउ पुर्जी जारी गरेको हो ।

कर्मचारीहरूको तलबबापतको लाखौं रुपैयाँ महिनौंदेखि नदिएका कारण पाण्डेको नाममा पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत दिनेश साहले बताए । उनका अनुसार पाण्डेलाई पटक–पटक कार्यालयमा उपस्थित हुन पत्राचार गरे पनि अटेरी गर्दै आएका छन् ।

पटक–पटक छलफलमा भुक्तानीको समय निर्धारण गरे पनि पीडितले अझै रकम पाएका छैनन् । जिल्ला प्रशासनमा मेडिकल कलेज र कलेजका सञ्चालकविरुद्ध उजुरीको चाङ नै छ ।

पूर्वस्टाफ नर्स गीतादेवी श्रीवास्तवले जागिर छाडेको दुई वर्ष भइसक्दा पनि आफूले पाउनुपर्ने ३ लाखभन्दा बढी रकम कलेजले उपलब्ध नगराएको भन्दै प्रशासनमा उजुरी हालेकी छन् । त्यस्तै, मेडिकल कलेजले तलब नदिएको भन्दै भारतका डाक्टरद्वय अरुण कुमार र साधना कुमारीले परराष्ट्र मन्त्रालय, भारतीय महावाणिज्य दूतावासको कार्यालय वीरगन्जमा दर्ता गराएको उजुरी जिल्ला प्रशासन कार्यालय धनुषामा आएको छ ।

कलेजले पटक–पटक विज्ञ समूहलाई होटलमा राखेर भुक्तानी नगरेको भन्दै जनकपुरस्थित वेलकम होटलले पनि कलेजविरुद्ध प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको छ । कलेजबाट १२ लाख ६४ हजार ८ सय ८४ रुपैयाँ असुलउपरका लागि होटल सञ्चालकले जिल्ला प्रशासनमा उजुरी हालेको हो । यसैगरी कलेजका प्रिन्सिपल डा. हुकुमदेव साहले समेत तलबका लागि धनुषा प्रशासनमा उजुरी दिएका छन् ।


प्रकाशित : जेष्ठ १७, २०७६ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?